यो देशमा रगतमात्र बगाउन पाइन्छ
पसिना बगाउन त पहिला पासपोर्ट बनाउनुपर्छ
सरकार भन्दै छ, बेरोजगार युवालाई
मृत्युको भिसा लगाइदिएपछि त
लास लिन खाडीमा बाकस पठाउनुपर्छ
सत्तरी वर्षे वृद्धलाई भत्ता किन चाइयो
बरु हामी सत्तरी करोड पचाउनुपर्छ
सत्तामा हाम्रै मान्छे छन्, कोसँग डराउने?
सिधैँ बालुवाटारमा कब्जा जमाउनुपर्छ
अलिअलि विरोध त भैहाल्छ नि
हामी हात्ती हौँ जङ्गलको
जनतालाई कमिलासरी दबाउनुपर्छ
उबेला त सत्र हजार मारियो
अहिले पनि कतिको शव जलाउनुपर्छ
ज्यानको मूल्य तोक्ने पनि हामी नै हो
बस् शालिक बनाई शहीद घोषणा गराउनुपर्छ
सरकारमा को छ थाहा दिन मात्र भए पनि
प्रजाको झुपडीमा त डोजर चलाउनुपर्छ
अब त भट्टीमा मान्छे पोलेको बिर्सिए होलान्
फेरि अर्को भट्टी खोली अरु नि बली चढाउनुपर्छ
हत्या, हिंसा, बलात्कार बढेको रोक्ने हैन
बरु हाम्रो भत्ता, जनतालाई कर बढाउनुपर्छ
कलिला फूलहरू निमोठ्न छुट छ हामीलाई
विरोध त गर्ला कसैले तर
उसैको थाप्लोमा दोषको भारी चढाउनुपर्छ
नभए अदालत पनि त हाम्रै हो नि
न्यायाधीसको फैसला सांसदबाटै पठाउनुपर्छ
हामीबाट केही आस नगर्नू भन्देऊ प्रजालाई
जनताकै खुन चुसी जुनी कटाउनुपर्छ
क्याबिनेटमा कुर्सी ठटाउनुपर्छ
सर्वसाधारणलाई सिटामोल नदिएर सताउनुपर्छ
आफ्नालाई पखाला लागे पनि विदेश पठाउनुपर्छ
जे होस, भोट माग्न जाँदा चाहिँ लाज पचाउनुपर्छ
आखिर के नै फरक पर्छ र
मन्चमा गएर मनपरी गरे पनि
अग्ररपंक्तिमा त कर्यकर्ताकै ताली हुन्छ
गफको पछाडि दगुर्नेले के बुज्थे
हाम्रो भाषण मात्र ठूलो हो
दिमाग त पुरै खाली हुन्छ
दिमाग भएकाहरू बोल्न सक्दैनन्
विचराहरूको त पेट पनि खाली हुन्छ
हामी नेता भनिएकाहरूको त सर्टिफिकेट मात्र हो
यी दारुपानीमा बिक्नेहरूको त इमान पनि जाली हुन्छ
हो महोदय,
हामीबाट भोट दिएर जिताउने जनताको त
राष्ट्रियता नै जाली हुन्छ
खोक्रो नारा त लाउछन् सडकमा
तर वास्तवमा दहीचिउरे कार्यकर्ताको त
स्वाभिमान नै जाली हुन्छ।