'कुन? त्यो स्कुसको झ्याङले छोपेको घर? भो-भो-भो कुरै नगर्...'
खङ्-खङ् खोकी बीचमा लाग्नाले खुमबहादुरको वाक्य पूरा भएन। लसता पिलिक्क खुमबहादुरतिर हेर्छे।
झिँगटीले छापेको छानो मुनिको पुर्ख्यौली भान्सा। भान्सामा पुस्ता फेरिए, अरु जस्ताको त्यस्तै। खिर्रोको चोइटोबाट धुवाँ एकनासले पुत्याइरहेछ। त्यही धुवाँ छल्दै छोरी मानसाको बिहेको कुरा चल्छ।
गोलो चकटीमा खुमबहादुर बसेको छ। समय आठ बजेर ठ्याक्कै ४३ मिनेट गएको छ। झुन्डाइइएको मैलो खोल भित्रबाट पानासोनिक रेडियो निकाल्यो। तान्दै काखमा सुतायो। बिबिसी नेपाली रेडियोमा कार्यक्रम सुरु हुनु अगाडि नियमित धुन बज्यो। '...डम्फुले आज क्या भन्च्… जाम् कता जाम्… टुँट ..टुँट.. टुँट...' धुनपछि समाचार बज्यो। रेडियोको आवाज बढायो। प्रस्ट सुनियो।
पलेंटी कसेर निकैबेर बसेकोले खुमबहादुरको दाहिने गोडा निदायो। निदाएको आज पहिलो पटक भने हैन। बानी परेको थियो। झमझमाएको खुट्टा झटकार्यो। खुट्टा सट्टापट्टा गर्यो र रेडियो छेउमा राख्यो।
लसता चामल बसालेर त्यसैको पाक्ने पर्खाइमा छे। अँगेनामा दाउरा थप्छे। प्रेसर कुकरले सिट्ठी फुकेको र नफुकेको थाहा पाउन बेलाबेलामा गट्टो माथि सार्छे।
'बज्दैन त!'
बिर्को र बिँडको बीचमा खोया राखेर टनक्क कुकर र बिर्को कसी। फेरि अर्को कुनाबाट हावा फुसुसुसु फ्याँक्छ।
'यो खप्पर पनि के भ'र मरेको,' रिसाउँदै फेरि कुकरको बिर्को उघार्छे। वासर निकालेर पानीमा भिजाउँछे। बिर्को पखालेर लगाउँछे।
फेरि पनि बज्दैन। आगो ओझ्याउँछे र कोइलाको रापले कुकर तात्न थाल्छ।
श्रीमानसँग झर्किँदै, 'एउटा कुकर किनेर ल्याउनु भनेको सुन्ने है'न! म सक्दिनँ यसमा भात पकाउन।'
खुमबहादुरले प्रेसर कुकरले दिएको दु:ख सधैँ देख्छ। यसैगरी सधैं लसताको कुरा सुन्छ।
'भान्सामा टेबुल-कुर्सी, फ्रीज, राखौँ भनेको कानमा बतास परेको हैन। अंशमा परेको एउटा चार माना चामल पाक्ने खड्कौलो र जडौली थाङ्ना बाहेक सिन्को जोड्न सकेको छैन। एकजना पाहुना आउँदा गतिलो थाल छैन। खाली रक्सी धोकेको छ।'
गिलासभन्दा अगाडि घाँटी ठड्याउँदै आधा बित्ता अग्लो सिसाको गिलासबाट रक्सी स्वाट्टै रित्यायो। अघि खोपिल्टो परेको गाला रक्सी कुलुकुलु पार्दै टनक्क फुलायो। घुट्की अड्कलेर पुर्याउँदै रक्सी निल्यो। रोकेर राखेको श्वास बाहिर फ्याँक्यो। जिब्रोमा टाँसिएको रक्सी मुख भित्रको माथिल्लो भागतिर रगड्दै स्वाद लियो।
जिब्रोले स्वाद माने पनि जिब्रोमै खेलाई बस्न मिल्दैन। घुटुक्क निल्यो। घाँटीले खासै मन नपराएको खुम्चिएको कञ्चट र चाउरिएको अनुहारको बनावटले देखाइरहेको थियो। खैरो सिसीबाट रक्सी खन्यायो। उँधो घोप्ट्याएर हल्लायो। 'तप्प्-तप्प्' तीन थोपा चुहियो, गिलास भरिएन। बोतलबाट खन्याउने बित्तिकै आधा गिलास स्वाट्ट पिउने खुमबहादुर, यस पटक भने त्यसो गरेन। साँचेर राख्यो।
खोयाको बिर्को आफूअगाडि रहेको प्लेटमा चोप्यो, लिप्यो। जिब्रोले चाट्नुअगाडि हेर्यो। के-के न स्वाद आउला भन्दै चुस्यो। नुन, मसला, काँचो तेल र रक्सीको हस्को। ह्वास्स गन्धले मुखै सोहोरिएर आयो। फेरि चुस्की लगायो।
चुसेको खोया अँगेनामा फ्याँक्यो। फुत्रुक्क खस्न नपाउँदै बडबडाए, 'त्यो स्कुसको झ्याङ्गभित्र बस्नेलाई मेरो छोरी दिन्नँ। चार आँखाले त्यत्ति देखिन रे? कस्तोलाई मन परा'को?'
अँगेनामा खसेको खोयाले 'झ्वारर्' आगो टिप्यो। सल्कियो।
'जुठो किन अँगेनामा हाल्या? अलच्छिना लाग्छ। यो मान्छे कै'ले बुढो हुन्छ। अब न आ'को बुद्धि कहीले आउने हो?' पिर्कामा घुँडा खुम्च्याएर दिक्क मान्दै लसता श्रीमानलाई यसो हेर्छे। फेरि श्रीमानलाई बेवास्ता गरी। सुनेको नसुनै गरी।
अम्खोराको पानी कुकरको सिट्ठी मुनिपट्टि छ्याप्दै 'एउटा कुकर नल्याई भएन बुढा। जहिल्यै भात कट्मेरो हुन्छ। चामल पनि बेसी लाग्ने। कुट्न आउलाजस्तो भात खानु परेको छ,' लसताले दोहोर्याई।
'मानसालाई भोलि साइकल पसलमा पठाइदे। पासाले ठोक-ठाक पार्दिन्छ। यो किटको भाँडो उस्तै हो। नयाँ भएनि, पूरानो भएनि!'
प्लेटमा फेरि चोर औंलाको टुप्पो चोप्यो। मिठो नमिठो केही चाहिएन, जिब्रोले नुन नै कुरेर बसेझैँ एक फन्को मुखाभरि चक्कर मार्यो भुटुनले। यही मौकामा अर्को चुस्की लायो।
'अब छोरीलाई मन परे'सी किच-किच गर्ने जमाना छैन बुढा! काठमाडौँमा पिल्लर हालेको पक्की घर छ। घर त त्यही चार आना जतिमा बनेको होला। धनिया-लसुन रोप्ने जग्गा पनि छ। त्यत्तिको भएपछि तिउन किन्नु परेन। बाउ तामिल्दार हो भन्ने सुन्थेँ। हँ! (थुक निल्दै, मधुरो स्वरमा) छोरो चाहिँ के जाति हो शेरमा लाग्या छ रे,' रक्सीले रम-रम पारेको मौका छोपेर राजी गराउन हर तवरले सधा झैँ कोसिस गरी।
'२९ की भई। मेरी छोरीले भनेजस्तो एक से एक केटा पाउँछे। लाइन लागेर बसेका छन्। डिग्री पास गरिसकी,' एकोहोरो लट्टो लिएर बसेको १६ वर्ष टेकेकी दिनदेखि नै हो। खुमबहादुरले छोरीको प्रेम सम्बन्धलाई स्वीकार्न चाहेन। सकेन।
आमाको इच्छा भने छोरीको उमेर छँदै बिहे होस्। यता छोरी जस्तो केटाको कुरा आए पनि आनाकानी गर्ने।
खुमबहादुर छोरी मानसाले सोचेकै जस्तो ज्वाइँ पाउने कुरामा ढुक्क थियो। केटाको कुरा लिएर केही आइहालेमा आफ्नी छोरीप्रति गर्व गर्थ्यो।
'लाइन लगाएर लु छान, कुन मनपर्छ? भन्नेगरी पाइन्छ। भन्सारमा जागिर खाने चाहिन्छ कि? एयरपोर्टको सचिव चाहिन्छ कि? मालपोतको टाइपिस्ट चाहियो कि? पाटन, बालकोट, कीर्तिपुर कि त धापासी तिरकै रैथाने पाइन्छ नि! एई!'
लसतालाई पटक्कै कुरा चित्त बुझेन। 'छिट्टो सक्नु त्यो कुकुरको मुत। बाह्र सत्तरी पुङ न पुच्छरको कुरा गरेको छ। जसको छैन फाँको, उसकै ठूलो डाँको,' भन्दै सिलाबरको थाल भुइँमा टङ्ग बजारिन्।
प्रेसर कुकर उघार्दा बिर्कोमा झुन्डिएको बाफ बररर भुइमा झर्यो, झर्न नपाउँदै बिलायो। बिर्कोलाई अम्खोराको पानीले अचाएर अँगेनामाथि झुन्डाइन्। अँगेनाको आगो छल्न धोतीको फेरो माथि सार्छिन्।
'मान्से! सोफा दुलो पर्ने गरी कति थेच्चारिन सकेको। भात पाक्यो। कि त्यही ल्याइदिउँ कजिनीलाई!'
झुन्डाइएको र्याकबाट आर्को थाल निकाल्न श्रीमानलाई अह्राउँछिन्।
'के एक-एक वटा गरेर माग्छे, एकैचोटि भन्न सक्दिनस्?' र्याकमा भएको तीन-चार वटा थाल, त्यसमाथि कचौरा खप्टिन थाल्यो। यो देखेर लसता मुर्मुरिँदै, 'कस्तोसँग परिएछ! अर्को लेऊ न तिम्रो पिण्ड हाल्न। 'यो ठाँडोमा के हाल्नु!' भन्दै हातबाट थालमात्रै तान्छिन्।
'त्यही मोबेल' भित्रै पस तँ पनि। तेरो पनि कर्म कस्तो छ कुन्नी? वरको सिन्को पर सार्ने हैन। कसरी घरगरी खान्छे? बाउ गोता ग'की छेस्। दुई पैसा कमाइ नहुने कस्तो पढाइ हो? ट्युसन् पढा'र पनि गरी खाछन् पढेकाले! उ, भाडामा बस्नेले ब्युटी पार्लरमा आँखामाथिको भुत्ला उखेलेर छोराछोरी बोर्डिङ पढा'की छे। हाम्रीको त कस्तो हो पढाइ?
ए मान्से! भात हसुर्न मुन्टी भनेको।'
पन्युँमा भएको भात थालमा खन्याइन्। भातको चोइलोलाई पन्युँले आधा पारिन्। पन्युँ थालमा ठोक्केर 'ठङरङ्ग' आवाज आयो। भात दुईतिर छुट्टियो।
'अलच्छिन न'ला न, अलच्छिन! थाल ठटाएर साँझामा बास बस्न आका भगवान रिसाउँछन,' जिब्रो बाहिर निकाल्दै गिलास उँधो पारेर घोप्ट्यायो। रहेल-पहेल मुखमा जम्मा पारेर अन्तिम घुट्की निल्यो। त्यही गिलासमा मुखको हावा फ्याँक्यो 'आSSS।'
गिलासको गन्ध रक्सीको भन्दा नमिठो भएको अनुमान खुमबहादुरले गर्यो। लगत्तै भुइँमा गिलास बजार्यो।
अनुहारको निचर्दै 'खै भात ले!' अन्खोट्याई गर्ने बानी। आँखा ढोकातिर बटार्यो।
'तान्नु त! त्यही अगाडि भएको थाल पनि मुखमै लगेर टाँस्दिनु पर्ने। हेप्न पनि कति सकेको यो मान्छेले!
साँझमा चम्सुर पालुङ्गो बेच्न लग्ने पनि मै! घर चलाउने जिम्मा पनि मेरै! भात पकाएर घिचाउनु पनि मैले,' थाल जुरुक्क उचालेर खुमबहादुरपट्टि थ्याच्च राख्दा भातको डल्लो उफ्रिन्छ।
'के गर्छे? ढङ्ग एक थोपो छैन। झण्डै भुइँमा खस्यो,' लसतातिर आँखा तेर्साउँछ।
भातमाथि टाटेसिमीको चोक्टा थियो। झोल थालको एउटा कुनामा जमेको थियो। भातको सितालाई डुबाएर सिमीको दाना मिच्यो। ग्वाम्म गाँस हाल्यो।
'खुर्सानी ले'न। केही स्वाद छैन, खललल… पानी खन्यायो। तुर्लुङ्ग झोल हाल्यो, आहाल जस्तो,' घाँटीको नसा फुलाउँदै गाँस निल्यो। जर्रो। बोली अघिको भन्दा अझै लर्बाराएको थियो।
'जाँगर न साँगर, खानी बेला आँ' गर्।'
'कति कराको, कुकुरबिरालो जस्तो! एकदिन त आरामले भात खान पाए कस्तो हुँदो हो,' मानसा पस्छे। बोलिसकेर खास्टो भित्रको हातले थाल समाउन निहुरिन्छे। खाना लिएर उभिन्छे।
'सुन्, त्यो चार आनेको छोरोसँग लप खेल्ने हैन। टुनामुना, बन्द गर्। भन्देको छु। क्याप्टेन आ'को छ माग्न। मैले घर सल्लाह गरेर खबर गरौँला भन्या छु। भाउजूले मिलमा भेट हुँदा भनेकिन्,' लर्बराउँदै बोल्यो।
खुमबहादुरको थालमा भात बाँकी थियो। निस्तो भात भिजाउने तिहुनतिर आँखा डुलाउँछ। अँगेनो छेउ सधैँ कराई राख्ने ठाउँमा आँखा लग्यो। कराईमा लसताले खाना खाँदै थिइन। थप्ने झोल नभएको पक्का भयो। सिमीको बोक्रासँग लटपट्याउँदै खायो।
'तिम्रा भाउजूले! नचिन्या हो र मैले? उडाको, तिमी बुझ्दैनौ,' लसताले पटक्कै चित्त नबुझेर कुरा भुइँमा खस्न नपाउँदै ओठे जवाफ फर्काइन्।
खुमबहादुरले ठाडो घाँटी लगाएर पानी खायो। मुखको भात भिजायो। गाँस निल्यो। बोल्न हतार भएकोले छड्क्याएर आँखा तयार राख्यो। मुन्टो अलिकति मात्रै सार्दा मानसासँग देखादेख भयो। तर कुरा बिर्सियो। मुन्टो तत्क्षण लसता तिर फर्कायो।
'के भन्छे यो! हामी काठमाडौंमा जन्मेको, हुर्केको। हामी त रैथाने। हामीसँग बराबरी गर्न, काँ' सक्छन्। सलाईका डब्बा जत्रो घर हुनेले हाम्री छोरी पाल्छन्! यति थै-थैसँग पालेको, काँ सक्छन्?
भातको माड पिउँछन्। तीन आना जग्गामा स्कुसको लहराले छानो ढाकिसक्यो। स्कुस खा, मुन्टा खा! माइत आउँदा स्कुस, मुन्टा र घिरौला कोसेली बोकेर आउनु! तिमीलाई त घिरौँलाको जाली पनि खाँचै भा'को होला नि, ढाड माढन्,' निस्तो भातले बाडुली लाग्न थाल्यो। त्यसपछि खुमबहादुर बोल्न छाड्यो।
बाबुको कुरो सुनेर मानसा भन्छे, 'धेरै अरुलाई खसालेर बोल्ने हैन। घाँटी हेरेर भात निल्नुस्। भातले सिङ-जुरो हाली सक्यो।'
यति भनेर मानसा थाल बोकेर आफ्नै कोठातिर लागी।
'आजकलको भुरालाई सप्पै थाहा छ। खुरुक्क गएर कहिलेको साइत छ देखाउने। फागुनमा कुरो टुङ्याउनु पर्छ,' लसताले मानसाको कुरामा सही थापिन्।
तर वाक्य पूरा नहुँदै बीचैमा बोल्यो, ''नकरा! जान्नी हुने। मलाई थाहा छ के गर्ने भनेर। पढायो, लेखायो लास्टाँ आफैँलाई जाइलाग्छ भन्या हो र'छ।'
खाएको थालमा उसले हात चुठ्यो। मुख कुल्ला गरेर घुटुक्क निल्यो। बर्बराउँदै, लर्बराउँदै उठ्यो। श्रीमतीको खास्टोमा हात पुछ्यो। रेडियो थाममा झुन्डाइयो। 'यी दुइटीले मलाई समचार सुन्न नि देनन्' भन्दै रेडियो पिटिक्क बन्द गर्यो।