नदीको किनारमा
सुनसान बसेको
त्यो घाटलाई
नियाल्दा
लाग्छ
मौनताभित्र
घाट चिच्यारहेछ
लाखौँ मानिसका
अन्त्यका कथा।
होलान् कसैका
कथा
अत्यासलाग्दा
कसैका होलान कहालीलाग्दा
र
कसैका होलान्
खुसीका पनि।
घाट भन्दो हो
सबैको अन्तिम गन्तव्य
मसम्म न हो
आखिर केलाई गर्छौ?
घमण्ड
तिम्रो जीवनको
अन्तिम विश्रामस्थल
म न हुँ
आखिर कति गर्छौ
भागदौड?
जलिरहेको लास
रोइरहेका आफन्त
जलाइरहेका मलामी
हेर्दै
घाट पनि सोच्दो हो
आखिर
मानिसको जीवन
यही त रहेछ
दुई भारी दाउरा
एक तिली सलाई
अनि खरानी।