ऊ भोकाएको थियो
एउटा आकाश ऊतिर अघि सार्दै
मैले खानको लागि आग्रह गरेँ
त्यस मध्येको
चन्द्रमा मतिर मिल्काउँदै
'अलिकति तिमी पनि खाऊ'
उसले भन्यो
'डिनर मैले गरिसकेँ
भोलि बिहानको घाम
अब ब्रेकफास्टमा खानेछु'
वर्षिरहेको वर्षातमा घाँटी भिजाएर
अलिकति चुँडेको आकाश घुटुक्क निलेपछि
ऊ फेरि बोल्यो
'कहिलेकाहीँ सम्झिँदा दिक्क लाग्छ
दिनरात यति ठूलो आकाश खाँदा पनि
सधैँ भोकै छौँ जस्तो लाग्छ हामीलाई
विचरा! ती देश खानेहरू कसरी बाँचिरहेका होलान्?'