रामकृष्ण पेसाले शिक्षक हो। ऊ गाउँमा बस्छ। गाउँकै एउटा विद्यालयमा पढाउँछ। सामान्य जीवन जिउन मन पराउँछ। ऊ आदर्शको पूजा गर्छ। आफ्नो पेसाप्रति इमान्दार छ। गाउँले उसलाई विश्वास र सम्मान गर्छन्।
उसको इमानदारीताको तारिफ गर्छन्। ऊ गाउँमा कसैलाई अप्ठ्यारो पर्यो भने सबैभन्दा पहिले सहयोगको हात अगि बढाइहाल्छ। आफूसँग भएका बेला गाउँलेलाई थोरबहुत ऋण दिएर पनि गर्जो टारिदिन्छ। आवश्यकताअनुसार सर-सल्लाह दिन पनि पछि पर्दैन।
आफू मैनबत्ती झैँ जलेर अरुलाई प्रकाश दिन्छ। बाटो अलमलिएका हजारौं यात्रुको यात्रापथ सुनिश्चित गरिदिन्छ। अन्याय र अत्याचारको विरुद्ध धावा बोल्छ। आफू सत्य बोल्छ र अरुलाई पनि सत्य बोल्न प्रेरित गर्छ। अभावमा बाँच्दछ तर आफ्नो स्वाभिमानलाई कहिल्यै गिर्न दिँदैन।
तर आज ऊ लाचार छ। हिजो अरुको अन्यायको विरुद्ध आवाज उठाउथ्यो। आज ऊ आफै अन्यायमा परेको छ। उसको पक्षमा बोलिदिने कोही छैन। उसको स्वाभिमानमाथि औंला ठड्याउनेहरूको कमी छैन। उसले जसलाई औंला समातेर डोर्यायो, उसैले उसको स्वाभिमानमाथि प्रश्न गर्छ। घृणा गर्छ, होच्याउँछ।
आफ्नो कुनै शिष्य ठूलो पदमा आसीन भएको थाहा पाउँदा गौरव महसुस गर्छ। उसलाई आफ्नो शिष्य भेट्न रहर जागेर आउँछ। ऊ शिष्य भेट्न जान्छ तर उसको शिष्य उनलाई भेट दिन पनि गाह्रो मान्छ।
बल्लतल्ल भेट त दिन्छ तर बसेर गफ गरौं पनि भन्दैन। ढोका बाहिरै उभ्याएर कुरा गर्छ। मानौँ, गुरु उसको कोठामा पस्दा उसको सम्मान घट्छ, उसको इज्जत जान्छ। लाखौंको मोटो गद्दीवाला सोफामा बस्दा धुलो टाँसिन्छ। भरसक फुर्सद नभएको अभिनय गर्छ। खुलेर बोल्न पनि हिचकिचाउँछ। आफ्नै शिष्यले ढोकाबाटै बिदा गर्छ।
उसको शरीरबाट धन र शक्तिको उन्मादको बास्ना आइरहेको हुन्छ। उसले मान्छे चिन्न छोडिसकेको हुन्छ। आफ्नो गुरुले सिकाएको संस्कार भुलिसकेको हुन्छ।
विचरा रामकृष्ण! त्यही शिष्यप्रति गौरव गर्छ। आफूले वर्षौं शिक्षा दिएको शिष्यले यति धेरै ठूलो सफलता पाएकोमा ऊ भित्रभित्रै खुसी हुन्छ। उसको छाती गर्वले फुल्छ। शिष्यले आफूलाई गरेको व्यवहारप्रति उसलाई कुनै गुनासो छैन्। कहिल्यै अपमानित भएको महसुस गर्दैन। अरुलाई अपमान गर्न पनि जान्दैन।
आफू भित्रभित्रै जलेर पनि बाहिर सधैं हाँसिरहन्छ। कैयौं चोटहरू सहन्छ तर कहिले विचलित हुँदैन। आफूले दिक्षित बनाएका शिष्यहरू कहाँ पुगे? उनीहरूले कति प्रगति गरिसके? ऊ बेखबर छ। तर, अविराम आफ्नो यात्रामा अगाडि बढिरहन्छ। उसले आफ्नो धर्म छोडेको छैन्। बाटो विराएको छैन। आफ्नो कर्तव्यबाट भाग्न जानेको छैन।
भोको छ तर अरुसँग हात पसारेर भिख माग्दैन। आफ्नो शिष्य उसैको तलब बाड्ने कुर्सीमा बस्छ। उसको शिष्य आफू महिनैपिच्छे तलब थाप्छ। ऊ आफ्नो गुरुप्रति बेखबर छ। मास्टरलाई तलब दिने काम आफ्नै बाको अंश भाग लगाएर दिएकोजस्तो ठान्छ। तर, उसको गुरु चार/चार महिनासम्म पाकेको तलब पनि माग्दैन। चुपचाप बस्छ। उसलाई दिए पनि ठिकै छ, नदिए पनि ठिकै छ।
तलब चाँडो आओस् वा ढिलो आओस् उसलाई कुनै प्रवाह छैन्। कुनै गुनासो छैन। परिवारका आवश्यकतालाई जसोतसो धानेको छ। वर्षौ एकजोर लुगाले जिन्दगी चलाएको छ। नयाँ लुगा उसको प्राथमिकताभित्र पर्दैन। सरकारले दिएको पोसाक भत्तामा मितव्ययिता अपनाउछ। अलिकति उभारेर भएपनि स्वास्नीलाई गुन्यु, छोराछोरीलाई दौरा र जामाको जोह गर्छ।
न उसलाई घुस खाने कुराको पिरलो छ न ठाउँ ठाउँमा घडेरी जोड्नुको चिन्ता। वर्षौंदेखि सानो छाप्रोको बास छ। उसले अनैतिक कमाइको पैसाले भव्य महल बनाउने सपना देखेको छैन। छाप्रोमै रमाएको छ। आफ्नो मात्र होइन स्वास्नी, छोराछोरीको इच्छा आकांक्षालाई दबाएर राख्न जानेको छ। मानौँ उसका कुनै चाहनाहरू छैनन्।
पसल-पसल उधारोको लागि अनुरोध गर्दै हिँड्छ। धेरैजसो पसलेले उधारो दिँदैनन्। केहीले 'मास्टर हो, इमान्दार छ' ढिलोचाँडो उधारो तिरिहाल्छ भनेर दया देखाउँछन्। बल्लतल्ल चार महिनामा तलब आउँछ। उसलाई तलब आएकोमा कुनै हर्ष र विस्मात छैन। उधारो लिएको बिल तिर्दातिर्दै दुई दिनमै उसले बुझेको तलब सकिन्छ। फेरि उसको उधारो जिन्दगी सुरु हुन्छ।
आफू, स्वास्नी, छोराछोरी बिमारी भए कस्तो हालत हुने हो? छोराछोरीको व्रर्तबन्ध, विवाह गर्नुपरेमा कसरी गर्ने हो? यी विषयहरूले उसलाई सधैँ पिरोलिरहन्छ। तर बाहिर अभिव्यक्त गर्न उसको स्वाभिमानले रोक्छ।
यसरी नै उसको जिन्दगी गुज्रिरहेको छ, उमेरले बुढ्यौलिको सिँढी चढिरहेको छ।
उसले अभावमा जिउन सिकिसकेको छ। अभावमै बाँच्न बानी परिसकेको छ। उसले रिसाउन जानेको छैन। क्रोध के हो उसलाई थाहा छैन। चोटैचोट भए पनि हाँस्न जानेको छ। आफू मरेर भए पनि अरुलाई जीवन दिनुपर्छ भन्ने ठानेको छ।
हिजोआज ऊ चेपुवामा परेको छ। नेपाल आमामाथि दलाली गर्नेहरू कहिले उसलाई यताको कित्तामा उभ्याउन खोज्छन् त कहिले उताको कित्तामा। ऊ निर्दोष छ। अन्जान छ। उसलाई ती कुराहरू कत्ति पनि मन पर्दैन। उ कसैको कित्तामा उभिन चाहँदैन। खासमा उसलाई कसैको कित्ता मनै पर्दैन।
'बकुल्लाहरूको देश हुँदैन' भन्ने सरुभक्तको कवितालाई उदृत गर्दै भन्छ, 'बकुल्लाहरूको कुनै देश नभएजस्तै शिक्षकहरूको पनि कुनै कित्ता हुँदैन। कसैको कित्तामा उभिनु शिक्षकको धर्म होइन।'
तर, धर पाउँदैन। कुनै एउटा कित्तामा उभिन उसलाई दबाब दिइन्छ, तर्साइन्छ, धम्काइन्छ, बाध्य बनाइन्छ। एउटा कित्तामा नउभिएसम्म बाच्नै नसक्ने परिस्थितिको सिर्जना गरिन्छ।
सदैव, समाज र राष्ट्रको विषयमा सोच्ने एउटा स्वाभिमानी शिक्षकलाई स्वतन्त्र शिक्षक भएर बाँच्न किन दिइन्न? एउटा इमान्दार, आदर्शवान शिक्षकको स्वाभिमान कुरुप समयसँग प्रश्न गर्छ।
के मेरा यी महान् शिष्यहरूले युगलाई यसको जवाफ दिन सक्छन्?