खुलाचौरमा क्रमश: बसेका थिए ध्यानीहरू, चौरको छेउमा गुरु र गुरुआमा हुनुहुन्थ्यो। त्यो दिन कल्पना गर्न नसकिने एक घटना घट्यो। जसका कारण किशोरले आज अर्को जन्म लिएको छ।
हिमालय पर्वतको तलपट्टि, एउटै चौरमा बसेर ७/८ जोडी योगी महात्माहरू ध्यान तपस्या गरिरहेका थिए। अचानक माथिको डाँडा फुटेर पहिरो आयो। गुरु र गुरुआमा बाहेक सबै मनुष्यहरू शरीर छोडेर भागे। किशोर ट्वाल्ल परेर हेरिरहेको थियो।
उसका आँखाबाट बरबरी आँसु बगिरहेको थियो। उसले कोही प्रिय व्यक्तिलाई गुमाइसकेको थिए। ऊ हेरेको हेर्यै भयो। एकछिनपछि गुरु र गुरुआमा पनि शरीर छोडेर भागे। यो देखेर किशोर छाती पिटी-पिटी रुन थाले।
किशोर जोर-जोरले चिच्याउन थाले। उनले चिच्याएको आवाजमा केवल 'देवी… यशोधरा… देवी.. यशोधरा.. देवी यशोधरा' मात्र सुनिन थाल्यो। किशोरको चिच्याहट देखेर लोकमा देवर्षी नारद समेत विलाप गर्दै थिए। किशोरको चिच्याहटले त्रिदेव ब्रह्मा, विष्णु र महेश्वर समेत चिन्तित भए।
यत्ति कुरा के भएको थियो। किशोर झल्यास्स ब्युझिए। यो त सबै सपना पो हो तर...। कहिलेकाहीँ सपनाहरू वास्तविकता अर्थात् भोगाइसँग पनि मिल्दा रहेछन्।
यस्तो सपना देखेपछि किशोरले फेरि सुत्न सकेन। र राति नै उठेर आफ्ना सबै कामहरू गर्न थाले। साँझ समयमै सुते। तर दोस्रो रात जुन घटना घट्यो त्यो घटनाले किशोर र यशोधराको जुनि फेरिएर पनि मिलन भयो।
त्यो साँझ किशोर सदाझैं आफ्नो नियमित कार्यहरू गरेर समयमै निदाए। बिहानको समय थियो। ब्रह्म मुहुर्तको। तिखो नाक भएकी, गोला-गोला आँखा भएकी, अत्यन्त सुन्दर चेहरा परेकी, मुसुक्क मुस्कुराएकी, अनारका दानाजस्तै बराबरी मिलेका चम्किला दाँत भएकी, मेनकाजस्तै भनौँ कि उर्वशीजस्तै भनूँ? एक स्त्री आएर किशोरलाई निन्द्राबाट उठ्न भन्दै थिइन्। ऊ झल्यास्स भयो र वरपर हेर्यो, कोहीलाई देखेन तर उसका आँखामा ती सुन्दरीको तस्वीर बसिसकेको थियो।
यसरी दुई रातका भिन्नभिन्नै घटनापछि किशोर झन् कठोर साधनामा लिप्त हुँदै थिए। संयोगवश अनुहार पुस्तिकामा तिनै सुन्दरीसँग किशोरको भेट भयो। किशोरले ती सुन्दरीलाई खबर सन्देश पठाइहालेछन्। 'प्रणाम देवी!'
यसरी यशोधरा र किशोरको यस जन्ममा भेट भयो। किशोरलाई पूर्ण रुपमा थाहा थियो आफूले पुनर्जन्म लिएको कुरा। तर यशोधरालाई भने आफ्नो जन्मबारे केही थाहा थिएन।
अघिल्लो जन्ममा एकले अर्कालाई पाउन कठोर साधना गरिरहेका बेला किशोर र यशोधरा एक हुन नपाउँदै शरीर छोडेर भागेका थिए। अब यो जन्मको अवस्था हेरौँ है त?
यशोधरा र किशोरको बीचमा नियमित कुराकानी हुँदै गयो। केही समयपछि उनीहरूको भेटघाट समेत भयो। किशोरले आफ्नो र यशोधराको पूर्वजन्मको बारेमा सबै वृतान्त यशोधरालाई बताए। यो जन्ममा पनि यशोधरा र किशोर दुवैको आध्यात्मिकतासँग निकै गहिरो सम्बन्ध रहेको छ।
पूर्वजन्ममा हामी एकअर्काको हुन नसकेका कारण यो जन्म लिएको भन्ने कुरा किशोरले यशोधरालाई बताए। यशोधराले पनि हुनसक्छ भन्ने मनसाय व्यक्त गरिन्। यति कुराहरू हुँदा एक भेटमा यशोधरा र किशोर बीचमा रमाइलो गफगाफ समेत चल्यो।
नभन्दै एकदिन किशोरले यशोधरासामु प्रेम प्रस्ताव राखे। यशोधराले भनिन्, 'प्रेम स्वीकार्य छ तर... '
किशोरले सोधे, 'तर के?'
यशोधराले भनिन्, 'तपाईंले ढिला गर्नुभयो। मैले कसै अरूलाई वचन दिइसकेकी छु कि यो जन्ममा म केबल उसकी हुनेछु। यो कुरा सुनि नसक्दै किशोरले प्रश्न तेर्स्याइहाले कि, 'यो जन्म ठिक छ तिमी उसैलाई देऊ, तर हाम्रो त पूर्वजन्म देखिको सम्बन्ध छ। हाम्रो सम्बन्धलाई के गर्छ्यौ?'
यशोधराले जवाफ दिइन्, 'जे हुन्छ स्वीकार गर्न सक्छु तर यो जन्म उसैका लागि हो, मैले उसलाई वचन दिइसकेकी छु।'
यो सबै सुनेर किशोरले भने, 'हेर देवी, पूर्वजन्ममा मिलन हुन नसक्दा यो जन्म लिनुपर्यो। यो जन्ममा पनि मिलन हुन सकेन भने मैले के फेरि अर्को जन्म लिनु त?'