तिमी लाखौँ पटक चिच्याएर रोए पनि
आँसुले सिरानी धोए पनि
सन्ताप सम्झेर टाउको फुटाले पनि
अत्याचारको विरुद्ध जतिसुकै उजुरी हाले पनि
तिम्रो सुनुवाई हुनेवाला छैन
तिम्रो विपत्तिमा कोही रुनेवाला छैन
औकात नापेर बसेका निशाचरहरूसँग
प्रलयकालका भूतहरूसँग
न्यायको आशा नगरे कान्छी
लासहरूको सहरसँग।
तिमी तेलको कराईमा डामिने छौ
दुर्जनहरूले चीरहरण गर्दा समेत
मौन बस्नेछन् आलीशान महलहरू
लुटको आयतन भित्र तिमी कैद हुनेछौ
तिम्रा नायकहरूबाटै इज्जत लिलाम हुनेछ
गुहार माग्दा छिमेकीका कान बन्द हुनेछन्
मानौँ, सब ठिकठाक चलिरहेछ।
तिमी भोकले चिच्याउँदा
यो सहरले अनिकाल बर्साउनेछ
तिमी रोगी, अशक्त हुँदा
सफेदहरूको जञ्जीरले तर्साउनेछ
मान्छेजस्तै देखिने
माउसुली र सर्पहरूले डस्नेछन्
हैवानहरूले दिनहुँ हुर्मत लिनेछन्
तिम्रो पैतालामा नेल हुनेछ
च्यातिएका सपना कसरी सिउछौ कान्छी?
सक्छौ भने-
बेचिदेऊ सपनाहरू
जलाइदेऊ सम्पूर्ण रहरहरू
हिँड्न सिक ब्वासाहरूसँग
पिउन सिक जहरहरू।
तिमीलाई न्याय खोज्नु थियो
जल्लादहरूको वस्ती धायौ
असुरहरूको सभा भेट्ठायौ
चारैतिर त्रासदी र विलाप थियो
आफन्त झैँ देखिने दुर्जनहरूको मिलाप थियो
आतंक थियो, अभाव थियो
दानवहरूको प्रभाव थियो
हजारौँ सपना थिए, रहर थियो
तर पनि कसैले सुन्दैन तिमीलाई
यहाँ मान्छेको आवरणमा मुर्दाहरूको सहर थियो।