दाइ पुष्परञ्जन बडो चलाख थियो। प्राय: भाइको अभिभावकत्व ग्रहण गरेका दाइहरू सानै उमेरमा चलाख हुन्छन्। भाइ पार्थरञ्जनलाई न त चलाख बन्ने आवश्यकता थियो, न त अधिकार नै। दाइहरू ससाना ढुंगा तरासेर बनाएका पाता खेल्थे। दाइले चुरोटको बट्टाको खोललाई फोल्ड गरेर खेल्ने कुरा बनाउँथ्यो।
महङ्गो र सस्तो चुरोटको खोलको कल्पित मूल्यमा ठूलो अन्तर हुन्थ्यो। दाइहरू डण्डीबियो खेल्थे। पार्थको काम हुन्थ्यो हराएको बियो खोजिदिने, पाताहरू जतन गरेर राखिदिने र दाइहरूले माग्ने बित्तिकै खोजेर ल्याइदिने। संयोगले पाँच जना दाइको समूहमा भाइ ऊ एकजना मात्र थियो।
दाइहरू समूहमा खेल्थे, उसको आफ्नो समूह नभएको हुँदा एक्लै खेल्थ्यो। दाइहरूले पार्थलाई भाँचिएको डण्डी, चुच्चो मुडिएको बियो एवं खस्रा र फुटेका पाता मात्र 'लौ यो खेल्' भनेर दिन्थे।
पार्थरञ्जनले नौ वर्षकै उमेरमा पक्कासँग बुझिसकेको थियो, भाइ भएर जन्मेपछि सहनुपर्छ। हुन त दाइ पुष्परञ्जनको उमेर बाह्र वर्ष मात्र थियो, तर आफूभन्दा तीन वर्ष कान्छो भाइ पार्थको ज्यान र मानको सुरक्षा गर्ने जिम्मेवारी उसकै काँधमा थियो। बाबु दिव्यरञ्जनको आदेश थियो, 'सानोको सुरक्षा गर्ने जिम्मेवारी ठूलोले लिनुपर्छ।'
भाइको सुरक्षा र हेरचाहबारे जति गाली पुष्पले बाबुबाट खान्थ्यो, त्यसको सातगुना ब्याजसमेत असुल गरेर भाइको सातो टिप्थ्यो ऊ। चार पाइला यतउता पर्यो कि दाइको बुलन्द आवाज आइहाल्थ्यो, 'काँ गाथिस्?'
पार्थ चुप लागिरहन्थ्यो। दाइले उसलाई ठूलाठूला धक्कू लाएर प्रभाव पार्थ्यो। ऊ भन्ने गर्दथ्यो, 'दाइ हुन कति कठिन छ तँलाई के थाहा! छ कक्षा पढ्नु भनेको तीन कक्षा पढ्नुजस्तो सम्झेको छस्?'
पार्थलाई लाग्दथ्यो यो जगतमा सबैभन्दा जान्ने मान्छे उसको दाइ पुष्परञ्जन हो।
कहिलेकाहीँ पार्थ साह्रै दिक्क हुन्थ्यो। साँझ घर पुगेपछि उसलाई आशा लाग्थ्यो, आज त बा मसँग पनि बोल्नुहोला। मेरो पढाइबारे मैलाई सोध्नुहोला। किन्तु बा पार्थसँग कहिल्यै बोल्नुभएन।
बा सदैव दाइलाई भन्नुहुन्थ्यो, 'हेर् पुष्पे! भाइ बिग्रो भने तँलाई जानेको छु।' कतै जाने बेला भयो कि बा भन्नुहुन्थ्यो, 'यो तैंले खानू यो भाइलाई दिनू।'
पार्थ सोच्ने गर्थ्यो, 'मेरो बारे मलाई सोधे बाको के बिग्रन्छ? मेरो खानेकुरा मेरै हातमा दिए के नासिन्छ?'
यदाकदा बा भन्नुहुन्थ्यो, 'भाइलाई माया गरेस् नि पुष्पे! सानो तलबितल पर्यो कि खान्छस्। भाइ लोदरो छ, यसलाई जतापाई दगुर्न नदिनू, रुख चढ्न नदिनू, ढिकरढाकरमा चढ्न-झर्न नदिनू, केटाहरूले गोद्लान, जोगाउनू।'
पार्थ सोच्ने गर्दथ्यो, धिक्कार छ यो जिन्दगी।
धन्न दाइले आफ्नो स्वार्थको लागि भएतापनि पार्थलाई रुख चढ्न, दगुर्न, ढिकरढाकर चढ्न र झर्न सिकाएको थियो। पार्थले आफ्नो भागको खानेकुरा यसरी पाउँथ्यो, मानौं त्यो दाइकै पसिनाको कमाइ हो। खानेकुरा दिने बेलामा दाइको हाउभाउ यस्तो देखिन्थ्यो, 'खा बच्चु खा! जबसम्म म छु तँ खाइराख्।'
एकदिन दाइहरूले कताबाट पैसा पाएछन्। उनीहरू पता र डण्डीबियो खेल्न छाडेर पैसा फालेर खेल्ने खोपी खेल्न थाले। पार्थसँग पैसा थिएन। पैसा भएतापनि उसलाई कसैले समूहमा मिसाउनेवाला थिएन। पाता र डण्डीबियो खेल्दासम्म ऊ खेल्न नपाए पनि हराएको खोज्न र बिग्रेको लिन पाउँथ्यो। परन्तु पैसा खेल्न थालेपछि हराउन छाड्यो र हाराइहाले पनि दाइहरूले आफै खोज्न थाले।
पार्थ अब झन एक्लो हुँदै गयो। दाइहरूको समूहमा उसको प्रयोजन समाप्त भएको थियो। किन्तु यो घटनाले उसलाई आत्मनिर्भर बनायो। पार्थले आफै पाता बनाउन सिक्यो, डण्डी काट्न र बियो तिखार्न सिक्यो। उसले एक हात लामो तीखो लट्ठीमा बाँसको सुपला घुसारेर फिरफिरे नचाउन सिक्यो।
एकदिन दैव संयोगले दाइहरू पैसा फालेर खोपी खेलिरहेको बाले देख्नुभयो। दाइहरू त कुलेलाम ठोकिहाले, बबुरो पार्थ बाको निर्मम कारबाहीमा पर्यो। बाले उसको गोलीगाँठामा चार लट्ठी हान्नुभयो। पार्थ अत्यन्तै मर्माहत भयो। उसलाई आफ्नो बाबु र दाइप्रति घृणा लाग्यो। साँझ ऊ खोच्याङ-खोच्याङ गर्दै घर पुग्यो। दाइ राति अबेर मात्र आइपुग्यो।
पार्थलाई आशा थियो, दाइमाथि पनि कारबाही हुनेछ। किन्तु आश्चर्य! बाले दाइलाई बोलाएर भन्नुभयो, 'अहिले मेरो रिस मरिसक्यो र मात्र हो, नत्र तँ पनि चार लट्ठी खाने थिइस्। मलाई अरु कुराको चिन्ता छैन, तेरो कारणले कान्छो बिग्रने भयो भन्ने चिन्ता छ।'
आज पार्थलाई थाहा भयो, जो सोझो र सत्यवादी छ, ऊ त्यसको मूल्य चुकाउन पनि तयार हुनुपर्छ। ऊ बा र दाइ दुवैसँग डराउँथ्यो। ऊ सोच्दथ्यो, सानो हुनेले सहन र डराउन पनि जान्नुपर्छ। 'नबिराउनू, नडराउनू' भन्ने लोकोक्ति थाहा पाउन उसले अझै धेरै वर्ष कुर्नुपर्यो।
बाले दाइलाई निकै सम्झाउनुभयो। पार्थलाई आशा थियो, उसको सज्जनता, सत्यमार्ग र स्वावलम्बनको पनि प्रशंसा र सम्मान हुनेछ। बाले उसलाई पनि प्रश्न सोध्नुहुनेछ। परन्तु बा त आज पनि उसको हकमा निरपेक्ष नै बस्नुभयो। उसले मनमनै आफैलाई सोध्यो, 'के बा मलाई माया गर्नुहुन्न? कि म बाको मायाको हकदार नै होइन? कि म बाको छोरो नै होइन?'
उसले दयालाग्दो नजरले बालाई हेर्यो। उसका याचक आँखाहरू बासँग करुणाको भिक्षा मागिरहेका थिए। बाले पार्थलाई पुलुक्क हेर्नुभयो। पार्थ थर्र काँप्यो। बाले भन्नुभयो, 'यता आ त कान्छा!'
ऊ सुस्तरी बाको नजिक गएर उभियो। बाले उसको गोलीगाँठो सुमसुम्याउनु भयो। पार्थले बालाई कृतज्ञ नजरले हेर्दै भन्यो, 'दुखेको सबै निको भयो बा!'
बाले पुष्परञ्जनलाई भन्नुभयो, 'पैसा फालेर खोपी खेल्न छाड्ने कि नछाड्ने?'
पुष्प जिद्दी र जिराहा स्वभावको थियो। उसले भनेको थियो, तीन सुकाको चंगा उडाउन पाए छाडिदिन्छु। बाले पुष्पको गालामा एक झापड दिनुभयो। उनीहरू सुत्न गए।
आज पुष्पको सान र रवाफमाथि ठूलो बज्रपात भयो। उसले भाइलाई भनेको थियो, 'आज मैले थप्पड खाएको देखेर तँलाई खुसी लाग्यो होला है?' पार्थले जवाफ दिएको थियो, 'दाइ! मलाई तिम्रो धेरै माया लागिरहेको छ। मलाई पिटे पनि बाले जेठो छोरालाई नपिट्नु पर्ने।'
भोलिपल्ट बाले तीन सुका हालेर लट्टाई समेतको चंगा किनेर ल्याइदिनु भयो। पुष्पको हर्षको सीमा रहेन। बाले भन्नुभयो,' कान्छालाई पनि चंगा उडाउन दिनू।'
तर पार्थलाई न हर्ष भयो, न त विष्मात नै। उसलाई थाहा थियो, उसले चंगा उडाउन पाउनेवाला छैन। परन्तु पार्थलाई कुनै चिन्ता थिएन। पार्थसँग आफैले निर्माण गरेका पाता थिए, डण्डीबियो थियो र फिरिरिरी नाच्ने फिरफिरे थियो।
चंगा पाएपछि साथीहरूको बीचमा पुष्पको रवाफ झन् बढेर गयो। पुष्प सोच्दथ्यो, ऊ एक सानदार केटा हो। तीन सुकाको चंगा उडाउने हैसियत राख्नु भनेको धनी बाबुको छोरो हुनुको प्रमाण हो। केटाहरू हुरुरु गर्दै पुष्परञ्जनको पछि लागेर दगुर्थे।
उता पार्थ भने आफैमा मस्त थियो। उसले पाता र डण्डीबियो बनाउन छाड्यो। एक्लै खेल्नको लागि बाँसको सुपलाको फिरफिरे नै सबैभन्दा उपयुक्त साधन थियो। उसले बनाएका फिरफिरेहरू प्रसिद्ध हुँदै गए। उसले साथीहरूलाई फ्रीमा फिरफिरे बाँड्न थाल्यो। पार्थको नाम स्कुलभरि रोशन भयो।
घर जान अबेला हुने दिन दाइले भाइलाई चंगा बोकाएर जान्थ्यो। चंगा बोकेर आएको कान्छोलाई देखेर बा भन्नुहुन्थ्यो, 'तैंले पनि चंगा उडाइस् कान्छा?'
पार्थले दाइतिर हेर्थ्यो। दाइ भन्ने गर्दथ्यो, 'सिक्दै छ।'
एकदिनको कुरा हो। पुष्परञ्जनको लट्टाई समेतको चंगा हरायो। पुष्पलाई चोर को हो भन्ने थाहा थियो। पुष्प फसादमा पर्यो। अब बालाई कसरी भन्ने? तीन सुका परेको चंगा आफ्नै विश्वासिलो साथीले खुदो पकाउने रसेटामा हालेर डढाइदियो।
दाइको हालत देखेर भाइको हृदय करुणाले अभिभूत भयो। कत्रो रहरले बल्लबल्ल पाएको चंगा। दाइले साथीहरूलाई पालैपालो उडाउन दिएकै थियो। तर उनीहरूलाई ठूलो ईर्ष्या भएछ। दाइको निन्याउरो र हारेको अनुहार देखेर पार्थले आफूलाई पनि अभूतपूर्व रुपमा कमजोर महसुस गर्यो। दाइको रवाफ थियो र न भाइको पनि इज्जत थियो।
दाइले चेपारे माया नगरेर के भयो? सारा केटाहरूको समाजमा उसले 'पुष्परञ्जनको भाइ' को परिचय पाएको थियो। दाइले देखाउने माया नगरे के भयो? मनको माया त गरेकै थियो। पार्थ दाइलाई अंगालो हालेर धेरै बेरसम्म रोइराह्यो। दाइले भनेको थियो, 'भाइ! मलाई बाको असाध्यै डर लागिरहेको छ। म चंगा हराएको कुरा बालाई भन्न सक्दिनँ। तैंले मिलाएर भनिदे है!'
बाले चंगा हराएको कुरा थाहा पाउनुभयो। 'एउटो चंगा जोगाउन नसक्नेले केको फुर्ती गर्नु? चंगा जोगाउन नसक्नेले भाइ कसरी जोगाउन सक्लास्? झोलाको चंगा चोरेको थाहा नपाउने लाछीले कसरी पढ्लास्? कसरी नाम कमाउलास्?'
दाइले गाली खाएको देखेर पार्थ धेरै रोएको थियो। पार्थलाई एउटा तेज हराएको प्रतिष्ठाहीन दाइ होइन, घर, समाज र स्कुल जताततै इज्जतदार र सानदार दाइको चाहना थियो। पार्थले दाइलाई भनेको थियो, 'गल्ती तिम्रै हो दाइ!'
पुष्पले आश्चर्य मान्दै भाइलाई हेरिरह्यो। यो बालक आज के भन्दैछ? दाइले सोधेको थियो, 'कसरी मेरै गल्ती कान्छा?'
पार्थले भनेको थियो 'तिमीले चंगा ल्याउने बित्तिकै तिम्रो मिल्ने साथी आमोदले भनेको थियो, 'पुष्पेले मेरो बा धनी छ भनेर देखाउन तीन सुकाको चंगा किनेर ल्याएको हो।' हेर दाइ! हामीले आफ्ना साथीहरूसँग नभएको चिज ल्याएर सान देखाउने काम गर्नु हुँदैन। तिमीले पनि मैलेजस्तै आफै बनाउन सक्ने र हाम्रो खेतबारीमा पाइने कुराबाट खेल्ने सामान बनाएको भए कसैले चोर्ने पनि थिएन र चोरे पनि अर्को बनाउन सकिन्थ्यो।'
आमाको मन त हो। छोराको निन्याउरो मुख देखेर भन्नुभयो, 'पीर नमान् पुष्प, म अर्को चंगा किनिदिन्छु।'
पुष्पले भनेको थियो, 'आमा, अब म चंगा लिन्नँ।'
बाले उसलाई व्यङ्ग्य गर्दै भन्नुभयो, 'आमोदेबाट जोगाउन सके पो।'
फेरि पुष्पले भनेको थियो, 'हो बा, पैसा पर्ने सामान साथीहरूलाई देखाएर सान राख्न खोज्नु गलत रहेछ। जो उनीहरूसँग छैन त्यो कुरा देखाएर फुर्ती गर्नु भनेको साथी कमाउनु होइन, गुमाउनु रहेछ। मेरो चंगा चोरी हुनुमा वास्तवमा मेरै दोष छ बा। अब म पनि भाइको फिरफिरेजस्तै आफ्नै खेत बारीमा पाइने कुराबाट खेल्ने सामान बनाउने छु। हामी दुवै भाइ साथीहरूसँग मिलनसार र सहयोगी हुनेछौं। साथी-साथी सबै समान छन्, कोही ठूलो र सानो हुँदैन। हामी असल बन्नेछौं बा, हामी राम्रोसँग पढ्नेछौं।'
आमाले भन्नुभयो, 'छोरो बुद्धिमान भएछ, स्याबास् पुष्प!'
पुष्पले भनेको थियो, 'स्याबासी मलाई होइन आमा, भाइ पार्थलाई दिनुहोस्।'
आज बालक पार्थको हर्षको सीमा थिएन।