पारि क्षितिजमा
कालो बादल मडारिएको छ
ग्रहणको चपेटामा नपरी
शशि ध्वाँसिएकी छिन्
अनर्थले पाइला चालेको छ
अपसगुन संकेत गरेको छ लाटोकोसेरोले
बेसीमा स्याल हुइँयाले गगनभेदेको छ
अत्यासलाग्दो क्रन्दनले
निस्सासिएकी छिन् प्रकृति
उसको महाप्रस्थानपछि
फनफनी घुमेको छ मगज
दिशाशून्य भएको छ मन
थरथराएका ओठ
भावविह्वल भएको मुटु
विवेक गुमाएको छ आत्माले
उषाको उज्यालो छिनेको छ
औँसी नआउँदै निशा भयंकर अँध्यारिएकी छन्
सरिता आवाजशून्य भएको बेला
हुण्डेरी अगाडिको सन्नाटाले झैँ
डेरा जमाएको छ मनमा
महाप्रस्थान यात्राले
बाललहडको छानो छिनिएको छ
स्यामश्वेत भएको छ यौवन
बुडापाको लठ्ठी भाच्चिएको छ
बेसाहारा भएका छन् आश्रितजनहरू
हे विधाता
तेरो अचम्मको विधानमा
के समवेदनाको स्थान छैन र?
दु:खले भरिएको मात्र हो त सृष्टि
के सुखको कुनै आवश्यकता छैन र यहाँ?
यदि छैन भने सुख शब्दको अर्थ के?
मुत्यु जीवनको सुरुआत हो रे
हरेक सृजना नाश हुनकै लागि हुन् रे
सृष्टिकै लागि नश्वर प्रकृति भए पनि
मृत्यू यति भयावह किन?
किन चुँडिन्छन् कोपिलाका सहाराहरू?
किन निमोठिन्छ्न रहरहरू?
बयली खेल्न नपाएका यौवन
सेता कपडामा बेरिँदा
बाललहडहरू
सहाराविहीन भैरहँदा
के महाप्रस्थान भन्नजस्तै
सहज छ र?
आज झैँ
भोलि नि आउनेछ
तर भोलि ऊ हुनेछैन
उसका याद हुनेछन्
जीवितै हुनेछन् ऊसँगका अपेक्षा
समयक्रमले बिर्साउला पनि उसलाई
तर खरानी भएका सपना
रित्तो काख
गुमेको आधारको क्षतिपूर्ति
छ त प्रकृतिसँग?