पानी धमिल्याएर
माछा मार्न पल्केकाहरूसँगै
ढुंगा फ्याँकेर
तलाउको शान्ति बिथोल्न खोज्नेहरू
फेरि सक्रिय हुँदैछन्, सलबलाउँदैछन्
हेक्का रहोस्।
केही अघिसम्म चर्का-चर्का स्वरमा
विधि र पद्धतिको दुहाई दिनेहरूले नै
स्वार्थ सिद्धीको लागि
तर्कको नाममा कुतर्क गर्दै
व्याख्याको नाममा अपव्याख्या गर्दै
सुविचारित ढंगले व्यवस्थित चलायमान प्रणालीमा
भ्वाङ पार्ने दुष्प्रयास गर्दैछन्।
अविरल बगिरहनु पर्ने नदीलाई
अनावश्यक छेकबार लगाएर
रोक्न खोज्नेहरूलाई
हेक्का रहोस्
आफ्ना खेतमा पानी लाउन
बाँध्न खोजेको बाँधले
कदाचित्
नदीको वेग थाम्न नसकेमा
भोलि खेतको अस्तित्व नै नामेट हुन के बेर!
बगरमा रुपान्तरित खेतमा थुप्रिने
बालुवाका थुप्रोले
कदापि पोषिला उब्जनीहरू दिने छैनन्
स्वदेशी शकुनीका
कुटिल चालमा साथ दिने
काँधहरूका हविगत
अन्ततोगत्वा
त्यस्तै नहोला भन्न सकिन्न
जस्तो महाभारत युद्धमा
कौरव पक्षका महारथीहरूको भएथ्यो।
क्षणिक लाभ-हानीको लेखाजोखा
र, भोग विलासको लालसा त्यागेर
व्यवस्थित प्रणालीको रक्षार्थ
विधि र पद्धतिको समुचित पालना गर्दै
श्रीकृष्ण झैं दूरदृष्टि राख्ने
धर्म रक्षक, विवेकी सारथी हुने
सदबुद्धि पलाओस्
यहाँ
देशको रथ हाँक्न खोज्ने
स्वनामधन्य हस्तीहरूलाई।
अर्काका लागि बिछ्याइएका काँडाहरू
प्रकारान्तरले
आफ्नै गोडामा बिझ्न पुगेका दृष्टान्त
ताजै छन् हाम्रा सामु
अर्काका लागि खनिएको खाल्डोमा
अन्ततः
खुर्मुरिएर आफैं खस्न पुगेको ज्वलन्त दृष्य
आलै छन् हाम्रा सामु
हेक्का रहोस्।