पार्क खुल्ला छ
सडक खुल्ला छ
बजार खुल्ला छ
मान्छैको भीडभाड
खचाखच।
सुनसान छ स्कुल
पुस्तक धन्क्याएर
झोला, पेन्सिल थन्क्याएर
विद्यार्थी फ्री-फायर खेल्दै छ
पब-जी खेल्दै छ
टिकटक बनाउँदै छ
पढ्न बिर्सिएर
तर पनि
सरकार गम्भीर भएको छैन
कोरोना गएको छैन।
अँध्यारो कोठामा एक्लै
शिक्षक भट्याइरहेछ
विद्यार्थीको उज्वल भविष्य
हर कुराको हिसाब बढिरहेछ
अभिभावकहरूले हारेको छ
शिक्षकले हारेको छ
विद्यार्थीले अप्ठ्यारो पारेको छ
गलत पाइला चालेको छ
घरघरमा समस्या छ
देशको खेल र विद्यार्थीको खेलले
आजित छ एउटा समय
यति हुँदा-हुँदै पनि
सरकार गम्भीर भएको छैन
कोरोना गएको छैन।
वातावरणले उसलाई
जब्बर बनाएको छ
अटेर बनाएको छ
एक्लो बनाएको छ
थुनिएर घरमा
हराएर मार्ग
अन्योलमा छ ऊ
उसले आफ्नै हातको
अनलाइनको भित्तोमा टाँसिएर
समय ठेलिरहेछ
बिर्सिएर भविष्य
तर पनि
सरकार गम्भीर भएको छैन
कोरोना गएको छैन।