आमा,
मलाई यो सहर मन परेन
यो बजार मन परेन
अझ यी बेमतलबी मान्छे त झन मनै परेन।
यता मान्छे मरिरहेको हुन्छ
मान्छे छटपटाइरहेको हुन्छ
मान्छे वेदना पोखिरहेको हुन्छ
भौतारिरहेको हुन्छ
र गुहारिरहेको हुन्छ
तर यी मान्छेले लासको व्यवहार गर्छन्
हेरिरहन्छन् र झन् रमाइरहेका हुन्छन्
सेल्फी लिरहेका हुन्छन्
अनि टिकटक बनाइरहेका हुन्छन्
अनि तत्पर हुँदैनन् कि सहयोग गर्न
यति नि सोध्दैनन् के भो?
भने यी भौतिकतावादी मान्छेलाई
कसरी मन पराउँ?
त्यसैले यो सहर मनै परेन!
गाउँघर
त्यो गाउँ अनि घरको याद आउँछ
जो टाढा हुन्थे
जो पुराना हुन्थे
तर मान्छेका मनहरू जोडेका हुन्थे
त्यही घर सम्झेर यताका घर हेर्छु
जो नजिक हुन्छन्
जो जोडिएका हुन्छन्
तर मान्छेका मनहरू कति टाढा?
त्यस्तै
त्यो व्यवहार
त्यो माया
अनि त्यो सद्भावको याद आउँछ
जो चोट लाग्दा मलम
दुःखमा साथ अनि आँसुमा हाँसो
तर व्यवहारसँग यताको मान्छेहरूको
व्यवहार तुलना गर्छु
र सोच्छु मान्छे-मान्छेबीच किन फरक?
कहाँका ती घाउमा मलम बन्ने व्यवहार
अनि कहाँको यो चोटमा झन् चोट थप्ने व्यवहार
भने तिमी आफै भन त कसरी मन पराउँ यो सहर?
मलाई मनै परेन
अहँ! मनै परेन।
यही भौतिकतावादी मान्छेहरू
आत्मीयता नभएका मान्छेहरू
जुन सहरका खुसीमा झुमेकाहरूले
गाउँ र लेकका वस्तीहरूमा रहेका
भन्ज्याङ अनि चौतारोहरू
उकाली अनि ओराली बिर्सेका छन्
त्यो व्यवहार र सद्भाव बिर्सेका छन्
बुढा बा-आमाहरू बिर्सेका छन्
बुढा बा-आमाहरूका आँखामा बलिनधारा
आँसु बनाइदिएका छन्
मलामीको अभाव टड्कारो खड्काइदिएका छन्
भने म कसरी यस्ता मान्छेको बीचमा बसुँ?
मलाई त्यो गाउँ नै प्यारो छ
मलाई त्यही डाँडापाखा प्यारो छ
मलाई त्यही साग र सिस्नु प्यारो छ
र मलाई त्यही माया अनि सद्भाव प्यारो छ
भने मलाई कसरी यो बेमतलबीहरूको जमघट मन परोस्?
मलाई यो सहर मनै परेन, अहँ! मनै परेन।