म बाटोमा हिँड्दै गर्दा धेरै पटक ठेलामा एउटी बुढी आमा तरकारी बेचिरहको देख्थेँ। उमेरले आमालाई बुढी भने पनि मेहनत र संघर्षले उहाँ जवान नै हुनुहुन्थ्यो। आमाको मेहनतले युवाहरूलाई हौसला मिल्ने र मेहनत गर्न साहस चाहिन्छ भन्ने सन्देश दिइरहेको हुन्थ्यो। ती आमा आँटेको काम गर्न सकिन्छ भन्ने उदाहरणको पात्र हुन्।
मैले आमासँग भेटेर तरकारी पनि किन्ने र मेरो मनमा खेलेका प्रश्नहरू सोध्ने प्रयास गरेँ। आमा को नजिक पुगेर भनेँ, 'आमा, नमस्कार! सन्चै हुनुहुन्छ?'
आमाले भन्नुभयो, 'बाँचेको छु बाबु।'
मैले भनेँ, 'हजुरलाई धेरै चोटि ठेलामा तरकारी बेचिरहेको देखेँ नि!'
'गर्नुपर्यो नि बाबु। पति बिरामी छन्। नातिनातिना छन्, उनीहरूलाई पाल्नु पर्यो नि। छोराबुहारी छन् तर के गर्छन्, हाम्रो केही मतलब राख्दैनन्। आफ्ना छोराछोरी पनि होस्टेल छोडेर हिँडेका छन्,' भन्दै गुनासो पोख्नुभयो आमाले।
'छोराछोरीलाई बोर्डिङ स्कुलमा बोडस राखेका छन्, उनीहरूको केही मतलबै छैन। भेट्नलाई पनि जाओ न भन्नुपर्छ? पढ्न त छोराबुहारी दुवैले पढेलेखेका थिए तर छोराछोरीको बारेमा भन्दा आफ्नै काममा ध्यान छ। माया, ममता, स्नेह बिनाको शिक्षाले बच्चाबच्चीलाई कस्तो संस्कार दिन्छ होला?,' उहाँ आफ्नो वेदना सुनाउन थाल्नुभयो।
'कयौं पटक नातिनातिनालाई मैसँग राखेर पढाउँछु भनेँ तर छोराबुहारी मान्दैनन्। छोराछोरी पढाइ बिग्रन्छ भन्छन्? मैले केही भन्न सक्ने आँट आउँदैन। नातिनातिनाको माया लाग्छ र बेलाबेला परिकार बनाएर भेट्न होस्टेल जान्छु। मलाई देख्दा नातिनातिनाले आँखाबाट आँसु झार्छन्। मनले मान्दैन फेरि आउँछु भन्दै टिलपिल आँसु झार्दै म पनि मनिलो अनुहार बनाउँदै फर्कन्छु।
नातिले सधैँ भन्छ, 'आमा मलाई सधैँ भेट्न आउनु है, तपाईंको कति धेरै माया लाग्छ। म ठूलो भएपछि हजुरलाई पाल्ने हुँ, हजुरसँगै बस्ने हुँ। हजुरलाई नयाँ-नयाँ कपडा किन्दिने हो, नयाँ-नयाँ ठाउँ घुम्न जाने हो।' मलाई हौसला दिन्छ मेरो नाति। जिस्किँदै भन्छु, 'आफ्नो बाबुआमालाई किन्देलास् नि! म बुढी सबैको हेला त हो?'
आँखाबाट आँसु झार्छ मेरो नाति। सम्झाउनै पर्यो। 'तैँले जो पाल्लास्' भन्दै फकाउँदा खुसीले हाँस्छ।
नातिले हात समाउँदै भन्छ, 'बाबा-ममी किन भेट्न हजुरजस्तै चाँडै-चाँडै आउनु हुन्न आमा? भन्दिनु न भेट्न जाऊ भनेर।'
मसँग कुनै जवाफ थिएन, 'खै बाबु! तिम्रा बा-आमालाई पैसै प्यारो छ। किन आउँदैनन्! छोराछोरीको माया त लाग्नु पर्ने।'
बिदामा कहिलेकाहीँ घर आउँदा नातिनतिना मैसँग रमाउँछन्। हजुरआमा हजुरसँगै हामीलाई बजार लानुस् भन्दै पछि लाग्छन्। तपाईंले हामीलाई कति माया गर्नुहुन्छ भन्छन्। यस्तैगरी दिन कटाउँछन् रमाइलो गर्दै।
नातिनातिना भन्छन्, 'हामी अरुजस्तै स्कुलबाट घर आउने जाने गर्छौं नि। वृद्धाश्रमजस्तो गराएर हामीलाई किन होस्टेल राख्नु भएको बाबा-ममीले? हामीलाई हजुरसँगै बस्ने, खाने, सुत्ने मन छ। सजिलो छैन आमा होस्टेल बस्न, धेरै मानसिक तनाव पनि छ। सम्झाइदिनु न हजुरआमा।' म केही भन्न सक्दिनँ।
'ठूलो भएपछि मलाई हेला गर्ने होला। म बुढी हुँदै जान्छु, मलाई भेट्न आउँदैनौ होला,' भन्दै के जिस्किएको थिएँ नाति रिसले चुर भयो र भन्यो, 'तपाईंलाई कसैले केही गर्न सक्दैन। तपाईंलाई मेरो घरमा राख्ने हो। बाबा-ममीलाई वृद्धाश्रम लगेर राख्ने हो जसरी हामीलाई होस्टेल लगेर राख्नु भएको छ।'
मैले 'किन बाबु? बाबा-आमाले तिम्रै लागि त हो यो मेहनत गरेको, तिम्रै भविष्यको चिन्ता छ, बाबाआमालाई त माया गरेर राख्नुपर्छ वृद्धाश्रम होइन' भनेँ।
'हो आमा, मैले वृद्धाश्रम राख्ने हो किनकि मैले पनि वृद्धाश्रमजस्तै होस्टेल जीवन बिताउन परिरहेको छ। बाबाममीले पनि मैले पाएको पीडा पाउनु पर्छ,' भन्छ।
'कति मूर्ख! त्यस्तो पनि सोच्ने हो? बाबाआमा भगवानरुपि हुन्छन्,' भन्दै सम्झाउँदै थिएँ नातिले 'भगवान त हजुर हो आमा' भन्छ?
'तपाईंले हाम्रो समस्या बुझिदिने, माया, ममताको कमी हुन दिनुहुन्न। हाम्रो लागि समय छुट्टाउनु हुन्छ, भेट्न आउनु हुन्छ,' भन्दै उल्टो मलाई सम्झाउँछ नाति।
आजकालका बच्चाबच्ची मूर्ख हुन् कि बुद्धिमानी हुन् छुट्टाउनै गाह्रो' भन्दै आमाले तरकारी मेरो हातमा दिनुभयो।
'धन्यवाद! आमा' भन्दै म तरकारी लिएर हिँडेँ।
बाटोमा हिँड्दै गर्दा आमाको कुराले धेरै नै मन छोयो। साँच्चीकै वृद्धाश्रममा बुढा बा-आमा हुने धेरै कारणको रहस्य यसैमा लुकेको छ जस्तो लाग्यो।
बालबालिकालाई देखावटी पढाइको लागि होस्टेल लगेर छोड्नु पनि वृद्धाश्रम लगेर छोडेजस्तै हो। त्यसैले विश्वमा वृद्धाश्रममा बाबा-आमाहरू धेरै हुनु नै युवाको बदलाको भाव त होइन?
त्यसैले शिक्षाको नाममा बालबालिकालाई गलत बाटोमा लगेर शिक्षा दिने काम नगरौँ। यस्तो देखावटी शिक्षाले छोराछोरी र बाबुआमाको सम्बन्धमा आँच आउन सक्छ। त्यसैले बेलैमा सजक रहौँ।