कोरोनाले तिनैलाई रुवायो
जसको छैन उसैलाई सतायो
गाउँमा खाली खुट्टा खेतबारी गर्ने
धेरै बाहरुलाई ऋणले रुवायो
झिसमिसेमै पटुकी कस्दै साँझसम्म सुस्केरा हाल्दै
मरिमेट्ने धेरै आमाहरुलाई सातु-सामलले रुवायो।
वर्षौंदेखि मेहनत गरेर अन्तिम घडीमा पुगेका
विद्यार्थीलाई हुन नसकेका परीक्षाले रुवायो
फेरि भनौँ त पढाइकै बहानामा एउटै तहमा मात्रै
अल्झिनु परेकालाई फीका ठूला-ठूला नोटले रुवायो।
होटलका मालिकलाई
गाडीका साहुलाई
धेरै पसलेलाई...
बैंक र सहकारीका ब्याजले रुवायो।
भारी बोकेर जीवन चलाउने त्यो छिमेकी दाइलाई
घरका खाली भाँडाकुँडाले रुवायो
गिट्टी कुटेर गुजारा चलाउने ती छिमेकी दिदीलाई
भोका लालाबालाका टिलपिल आँसुले रुवायो।
उचाइमा पुग्न भर्खर पखेँटा फिजाएका धेरैलाई
पूरा हुन नसकेका सपनाले रुवायो
पिँजडाजस्तै जीवनमा सीमित हुनुपरेका धेरैलाई
निर्दोष भावनाले रुवायो।
शिक्षकलाई
कर्मचारीलाई
कामदारलाई..
तलबले रुवायो।
मूल्य बढेका
तरकारी तेल, मरमसला
हरेक चिजका भाउले रुवायो।
धेरैलाई काम खोसिएर तिर्न नसकेका
घरबेटीका बहालले रुवायो
महिनौँदेखि बाँकी रहेका उधारोले
सबलाई पिरोल्यो।
रात-दिन नभनी बिरामीकै सेवामा
खटिएका धेरैलाई थकानले रुवायो
घाम-पानी केही नहेरी हरबखत दौडिने
धेरैलाई पीडादायी सुस्केराले रुवायो।
कसैलाई औषधिको अभावले रुवायो
कसैलाई शरीरका पीडाले रुवायो
कसैलाई बटुल्न नसकेका खुसीले रुवायो
कसैलाई जोखिमले रुवायो।
अन्ततः भोकले
रोगले
सोकले
अनि अझै भनौँ त नोटले
बस् सबैलाई रुवायो।
रुवाएन त केवल
ठूलाबडालाई
ठूला घरका, चिल्ला गाडीका मालिकलाई
जोसँग सब चिज छ
पेट भर्ने सातुसामल
वर्षौँदेखि भरिएका ढुकुटी
नीति-नियम तोड्ने शक्ति, निर्दोष मार्ने बल
मुट्ठी र हत्केलामा राखेका दम्भ
अन्ततः सारालाई निल्नै पनि सक्ने साहस।
नत्र बाँकी त सबलाई रुवायो
अभावले, जरुरतले, चाहनाले।