शिरको मैलो
च्यातिन लागेको टोपी निकाली
निधारको पसिना पुछेर
पिँढीको खाँबोमा अडेस लगाइ
खुइयऽऽ गर्दै लामो सास फेरेर
बा एकछिन एकोहोरिए।
सायद,
बा हाम्रै बारेमा सोचेर
एकोरिएका होलान्
हुन त बाले आफ्नो बारेमा
कहिले सोचेका छन् र?
मलाई थाहा छ
बा तिमीले
पोहोर ब्याएको भैंसीको पाडी
बेचेर ल्याएको पैसा
जम्मा पारेर यसपालि
आमैलाई कानमा लगाउने
कुरा ल्याइदिएको!
आमैले त पर्दैन भन्दै थिइन्
नानीबाबुलाई स्कुल खर्च हुन्छ भन्दै।
बाले मुसुक्क हाँसेर भनेका थिए
'अहिलेसम्म के दिएको छु र?
दिएको कुरा खुरुक्क ला'
आमै बोलिनन्
आमैलाई लगाउन मन
नभएको त कहाँ हो र
आखिर
आमाको मन त हो
छोराछोरीलाई नै होस् भनि नै हाल्छन्!
बा तिमी आफू
बिहान खाली पेट मेला गई
हामीलाई पेटभरि खुवाइ स्कुल पठाउथ्यौ
तिमी आफू
च्यातिएको टाल्दै लगाउथ्यौ
हामीलाई नयाँ किनिदिन्थ्यौ।
मैले तिम्रो हात्तीछाप चप्पल
कति पटक चुँडिएको देखेँ
तर कहिल्यै चप्पल फेरेनौ
खै के जादु गर्थ्यौ
भोलिपल्ट त्यही चप्पल लगाएर
बाहिर निस्किन्थ्यौ!
तिमी र मैन उस्तै लाग्छ बा मलाई
आफू सकिँदै गएका छौ
तिमीलाई आफू सकिएरै भए पनि
हामीलाई बनाउनु छ
आफ्ना खुसीहरू मारेरै भए पनि
हाम्रो खुसीमा रमाउनु छ
बा तिमी कति महान छौ!
मलाई थाहा छ
बा तिमीले
तिम्रो त्यो
कालो जरिकोट
नफेरेको कति भयो
तिम्रो शरीरमा मैले
नयाँ लुगा कहिल्यै देखिनँ।
हा... चल्छ यतिभए भन्थ्यौ
दसैँको एकदिन
पाहुनाहरू आउँछन् भनेर
मधुसमा कति वर्ष पहिले
किनेको चेक सर्ट निकालेर लगाउन
दिन्थिन् आमैले
सायद,
त्यही एकदिन होला मैले
तिमीलाई उज्यालो देखेको।
बा, तिमी
आफूलाई चोट लाग्दा
वनमासा निचोरेर झुम्रो बाँदेपछि
ठिक हुन्छ भन्थ्यौ
मलाई सानो चोट लागे पनि
बोकेरै अस्पताल पुर्याउथ्यौ।
बा, तिमी
सधैं बिहान उठेर
पूजा गर्ने भगवानले
तिमीलाई के दिए था'छैन।
मैले आजसम्म
पूजा नगरेको भगवानले
सबै कुरा आफैं बुझेर दिएकै छौ!
म धन्य छु बा
तिमीजस्तो बा पाएर
तिमीलाई
मजस्तो छोरो पाएर
निराश हुन कहिल्यै दिनेछैन
तिम्रो मुहारमा
खुसीको लहर छाएको
देखेर मलाई मख्ख हुने
मौका दिन्छौ नि है बा!