एकदिन म आकाशमा उडान भर्नेछु
कन्चनजङ्गा जनकचुलीदेखि
अपि सैपाल पुग्नेछु
अनि हेर्नेछु तिनको प्रकाश
र तिनले दिएका जीवनहरू
तर आज सुन्दैछु
सगरमाथा पनि नाङ्गो हुँदैछ रे
मुकुट बिनाको
त्यो शीरको के अर्थ?
कोशी, गण्डकी र कर्णाली पनि रितिन्छन् रे
बिरक्तिन्छु
पहाड र तराईको शोभा कहाँ हो
एकदिन म आकाशमै उडान भर्नेछु
कन्काई फाँटदेखि महाकाली चहार्नेछु
अनि किसानको रहरमा चुर्लुम्म डुब्नेछु
र बटुल्नेछु फसलहरू
तर आज सुन्दैछु
मधेस कंकृटले कुरुप भयो रे
मुरी त कता हो कता
मानो नै भर्न गाह्रो छ रे
अन्तुको बगान र खप्तडको पाटन
मेरो उडानको लक्ष्य
तर त्यहाँ त घाँसले पनि कृतिम सास लिँदैछ रे
त्यसैले
मेरो ओठ र तालु सुक्दैछ
मेरो भय
कि यो उडान टुक्रा-टुक्रा हुनेछ
र निर्जीव वायुमण्डलमा विलीन हुनेछु।