म खासै प्रेममा मन लगाउने मान्छे त हैन, तर पनि उनको फोटा देख्दा मन खै कता बहकियो पत्तै भएन। आँखाले मात्र हैन मनले पनि उसलाई मनमनै चाहन थाल्यो। उसको फोटो मैले गाउँकै दिदी पर्नेको मोबाइलमा हेरेको थिएँ।
ऊ मभन्दा दुई ब्याच अगाडि, म ११ मा पढ्थेँ त्यो समय। ऊ भने १२ सकिसकेकी तर विषय बाँकी रहेछ ११ को। फोटोमा त देख्दा बित्तिकै मन परेको, कुरा गर्ने रहर पनि उस्तै जागेर आयो। कहिले कसरी बोल्न पाइन्छ? कहाँबाट उसको सम्पर्कमा आउने? चासोको विषय बनिसकेको थियो।
त्यो दिदीलाई नाम त सोधेँ तर भन्न नचाहेकोले मैले नाम पत्ता लगाउन केही संर्घष गर्नु पर्यो। बल्लतल्ल उसको नाम पत्ता लगाउन सफल भएँ। उसको नाम समृद्धि रहेछ।
मन धेरै खुसी थियो। उनलाई फेसबुकमा खोज्न थाले। फेसबुक चलाउन थालेको मैले धेरै भएको थिएन। कहाँ, के त्यति ज्ञान थिएन।
मोबाइल पनि त्यो समय टुकटुके (किबोर्ड वाला) फेसबुक पनि डाटा नलिइकन रमाई-रमाई चलाइन्थ्यो। मोबाइल सानो भएर फोटो पनि साह्रो सानो देखाउथ्यो। उसको फोटो ठम्याउन निकै गाह्रो भयो। बल्लतल्ल अनुहार चिन्न सकेँ र साथी बन्नको लागि रिक्वेस्ट पठाएँ।
म दिदीसँग उसको बारेमा कुराहरु गरिरहन्थेँ। जिस्काइ रहन्थेँ। उहाँ पनि कहिलेकाहीँ भन्नुहुन्थ्यो, 'तेरो फोटो कलेजमा आज हेरिरहेकी थिई मेरो मोबाइलमा।'
यो सुन्दा मन फुरुङ्ग भएर आउथ्यो। मनमनै सोच्थेँ बोल्दै नबोली, प्रत्यक्ष देख्दै नदेखी पनि माया बस्दो रहेछ। यो अनुभव मेरो पहिलो थियो। मन एकदमै खुसी पनि।
एकदिन दिदीलाई खबर पठाएँ, फेसबुकमा रिक्वेस्ट गरेको छु। केही दिनपछि एसेप्ट भयो। खुसीको सीमा रहेन। मनभित्रै खुसीले मन नाच्यो। आफूले चाहेको मान्छे आफैंले पाएजस्तै भयो।
म पढ्ने कलेज र ऊ पढ्ने कलेज पूर्व-पश्चिम। म उनको कलेज नजिकै दिउँसो ट्युसन क्लास थियो।
साथी बन्नासाथ हतारमै मैले म्यासेज गरेँ। हामी विस्तारै फेसबुकमा कुरा गर्न थाल्यौं। पहिलो दिन सामान्य कुरा भयो।
मेरो कक्षा ११ को परीक्षा सुरु हुन मात्र दुई दिन बाँकी थियो। परीक्षा जेठ ५ बाट सुरु भएर जेठ ११ मा सकिने थियो। उसको पनि ११ को विषय बाँकी भएकाले उसको पनि परीक्षा नजिकिँदै थियो। परीक्षामा पनि हामी ठिक उल्टो हुन्थ्यो। मेरो कलेजमा उसको अनि उसकोमा मेरो।
हामीबीच कुरा हुँदै थिए। कुराकुरैमा हामी दुवै एकअर्काको एकदमै नजिक भैसकेका थियौँ। दिनमा निकैबेर एकअर्कासँग कुरा गर्ने भइसकेका थियौं। सानो मोबाइल फेसबुक चलाउन गाह्रो हुन्थ्यो। त्यसपछि मैले नै उसको नम्बर मागेँ। हामी फेसबुकभन्दा पनि मोबाइलकै म्यासेजमा व्यस्त हुन थाल्यौँ।
परीक्षा पनि सुरु भयो। तर हामी अत्याधिक बोल्ने भइसकेका थियौं। राती, बिहान र दिउँसो हामीलाई कुनै मतलब हुने थिएन। हामी राती पनि अबेरसम्म कुरा गर्ने त कहिले कुरा गर्दागर्दै बिहानै हुन्थ्यो। ऊसँग बोल्न थालेपछि के रात? के दिन? के भोक यो सबको पत्तै नहुँने। ऊ भए मलाई पुग्ने भइसकेको थियो।
हामीबीच माया पिरतीका हुँदै बिहे र बच्चा समेतको कुरा हुन थालिसकेको थियो। यति मात्र कहाँ हो र? हामीले त ख्याल-ख्यालमै बच्चाका नाम समेत सोचिसकेका थियौं। छोराछारी भनेर केही समय त मनमुटाव पनि हुन्थ्यो। उसलाई छोरा एकदमै मनपर्ने र मलाई छोरी। हाँसीमजाकको केही क्षणपश्चात फेरि कुरा अगाडि बढ्थ्यो।
हामी दुवैको १२ सकिएपछि पारिवारिक सल्लाह गरेर बिहेको प्रस्ताव पनि मञ्जुर भयो। तर भेटेका भने थिएनौँ। लाग्थ्यो जुरेको छ भने आफूले चाहेको मान्छे नभेटी, प्रत्यक्ष नदेखी पनि आफ्नो मान्छे आफ्नै हुने रहेछ। साँच्चै माया त यो पो रहेछ।
मेरो ११ को परीक्षा सकिने अन्तिम दिन यानिकी जेठ ११ गते भेट्ने कुरा भयो। ऊ म पढ्ने कलेज तिरै बसेरै परीक्षा दिइरहेकी थिई। ऊ उताबाट उसको कलेज तिर आउने र भेट्ने कुरा भएको थियो।
परीक्षा सकेर हतारमा बाहिर आएर बसपार्कमा उसलाई कुरेर बसेँ। परीक्षा १० बजे सकिन्थ्यो। म बसपार्कमा करिब १२ बजेसम्म घरको बस छोडेर बसिरहेँ तर उनको आगमन भएन।
त्यतिन्जेल मैले उनलाई म्यासेस-फोन गरे पनि दुवैमा सम्पर्क भएको थिएन। १२ बजेपछि एक्कासी उनको एउटा म्यासेज आयो। त्यो म्यासेज हेरेपछि रिसाउन बाध्य भएँ, गाडी चडेँ र घर फर्किएँ।
म्यासेजमा लेखिएको थियो- 'म आज आउदिनँ तपाईं घर जानू, भोलि तपाईं ट्युसन क्लास जाँदा मिलाएर भेटौँला।'
मैले म्यासेजको कुनै रिप्लाई गरिनँ। म चुपचाप गाडी चडेँ र घर फर्किएँ। दिनभर म्यासेको ओइरो लागिरहेको थियो। मैले कुनै प्रतिक्रिया नदिएपछि साँझ फोन आयो।
फोन उठाएँ तर केही बोलिनँ। फोन उठाउना साथ उनले भनिन्- 'सरी! मैले तपाईंलाई दुःख दिएँ। अब दिदिनँ, हामी भोलि भेट्नुपर्छ। म भोलि पक्का आउँछु। प्लिज मसँग म्यासेजमा कुरा गर्नु। म तपाईंसँग कुरा नगरी बस्न सक्दिनँ।'
उनका यी कुराले मायाप्रति विश्वास अझ बलियो र जगाएर आयो। म उनीसँग साँझमा बोलौंला भनेर फोन राखेँ। साँझमा उनीसँग कुरा गरेँ।
हाम्रो भोलिपल्ट १२ गते म ट्युसन क्लास गएको बेला दिउँसो उतै भेट्ने कुरा भयो। मैले त्यो दिनको क्लास छोडेँ र ऊसँग भेट्न बसेँ। ऊ आइ पनि तर मसँग मजाले बसेर समय दिएर बोल्न चाहिन। हामीबीच उभिएर ठाडै दुई/चार शब्द कुरा भए। ऊ अलि डराएजस्तो देखिन्थी। मैले कारण सोधेँ पनि तर उसले भन्न चाहिन। उसको मेरो पहिलो भेट पाँच मिनेट पनि नबसी सकियो, उ घरतिर लागी।
म अक्क न बक्क भएँ। उसलाई पहिलो पटक भेटेको, म पनि केही नर्भस भए कि क्या हो! त्यति बोल्ने आँट पनि आएन।
म त्यो दिन क्लास नगई घर फर्किएँ। ऊसँग मेरो म्यासेजमा त्यो दिन अलि कम कुरा भयो। म म्यासेज गरिरहेँ तर उनका म्यासेज पहिलेभन्दा धेरै कम आइरहेका थिए। मैले केही भएको महसुस गरेँ। सोधेँ तर जवाफ पाइनँ। हामीबीच सो विषय छोडेर अरु नै थोरै-थोरै कुरा भए। त्यो दिन उसै गयो। राती पनि धेरै कुरा भएन।
सधैं मलाई उठाउने त्यो म्यासेजको घण्टी १३ गते बजेन। उठेपछि मैले नै केही म्यासेज उनलाई छोडेँ, रिप्ले आएन। म उनीसँग कुरा नभएर चिन्तित भएको थिएँ। के भनौँ, कसलाई भनौँ, के गरौँ अलमलमा परिरहेको थिएँ। म क्लास जान तयार हुँदै थिएँ। मोबाइलमा नयाँ नम्बरबाट फोन आयो।
मैले उसैको होला भनि हतपत्त फोन उठाएँ र हेलो भनेँ। उताबाट पुरुषको आवाजमा 'सुसनजी बोल्नु भएको हैन?' भनेर प्रश्न आयो।
मैले भनेँ, 'हो, हजुर को हो र? मैले त चिन्न सकिनँ!'
उसले अलि ठूलो स्वरमा भन्यो- 'तपाई चिन्नु हुन्न, म चाहिँ राम्रोसँग चिन्छु। म समृद्धिको बुढा बोलेको।'
म झस्किएँ, छाँगोबाट खसेजस्तै भएँ, र तुरुन्तै हडबडमा 'को समृद्धि? म त चिन्दिनँ' भनेर फोन राखिदिएँ।
मलाई तत्काल समृद्धिलाई फोन-म्यासेज केही गर्ने आँट आएन। मन एकदमै बेचैन बन्यो। क्लास जान मन लागेन, बजार नजिकैको चौरमा गएर बसेँ।
केटाको फोन आएको आयै थियो। मैले रिसिभ नै गरिनँ। त्यो दिनभर म धेरै भौतारिएँ। पीडामा पिरोलिएँ। रातभर उसैलाई सम्झिएर सुत्न सकिनँ। केटाको त्यो बोलीले दिमाखमा जरा गाडिरह्यो। मैले त्यो दिन उसलाई म्यासेज फोन केही गर्नै सकिनँ।
भोलिपल्ट १४ गते एकाबिहानै उनको म्यासेज आयो।
बिहानमात्र अलि केही झकाएको थिएँ। म्यासेज हेरेँ। त्यो म्यासेजले मेरो निन्द्रा, चैन सबै उडायो।
उनको म्यासेज थियो- 'सरी सुसन, मैले हजुरलाई साह्रै दुःख दिएँ। हिजो जुन फोन हजुरलाई आयो, त्यो सत्य हो। त्यो फोन गर्ने मान्छेको नाम प्रिन्स हो। हामी रिलेसनशीपमा बसेको करिब पाँच वर्षभन्दा बढी भयो। यो बीचको समय यानिकी तपाईंसँग नजिकै भएको समय हामीबीच सम्बन्ध राम्रो थिएन। हामीबिच मनमुटाव थियो। मलाई एनजाइटी डिसअर्डर छ। मलाई बोलिरहने मान्छे चाहिन्छ। नभए मलाई डर लाग्ने र बेचैन हुने हुन्छ। त्यसैले मैले हजुरको सहायता लिएँ। अहिले हाम्रो सम्बन्ध सुधार भएको छ। हामी एकअर्कालाई एकदमै चाहन्छौं। त्यसैले अब हामीबीच कुरा नभएकै राम्रो, कुनै फोन म्यासेज नगर्नुहोला।'
उनको यो मेरो लागि अन्तिम म्यासेज थियो।
यो पढिरहँदा मैले सोचिरहेको थिएँ, कहिले काहीँ धेरै रात भयो सुतौं भन्दा पनि ऊ अझैं बोल्न बाहना खोजिरहेकी हुन्थी। जसको कारण आज आएर मात्र थाहाँ भयो।
उसले भने पनि मन त मनै न हो, किन मान्थ्यो र? उसलाई हजारौं म्यासेज गरेँ, रिप्लाई आएन। धेरै म्यासेजपश्चात फोन गरेँ, नम्बर ब्लकमा रहेको थाहा पाएँ। हतपत्त फेसबुक खोलेर म्यासेज गर्न खोजेँ, त्यहाँ पनि ब्लक भइसकेको रहेछु।
ऊ र म बोल्न थालेको १३ दिनमा हाम्रो सम्बन्धको समापन उसले गरी। ऊ फर्किने आश त धेरै थिएन तर पनि मन कता-कता मानिरहेको थिएन। ऊ फर्कने आश मनमा जीवितै थियो।
केही समय ऊसँग भेट्ने ठूलो संघर्ष गरेँ तर भेट्न सकिनँ र अब भेट्नुको पनि अर्थ रहेन...।