पहाडको हरियाली खेतीपाती हुन् या
लटरम्मै फुलेका तराईका पहेलै धानका बालाहरू
अन्नहरू उब्जिएकै छन् यहाँ
अनि जीवनयापन चलेकै छ यहाँ
आफ्नो जीवन मुस्किलले धान्नेहरू
अझ कैँयनको घर चलाउन योगदान दिएकै छन् यहाँ।
एकटक अनि रफ्तारमा अघि बढिरहेछ समय
कसै न कसैले केही न केही त गरेकै छन् नि
तर किन?
समयले मलाई कुरेन!
अघि बढिरह्यो दुनियाँ
अघि बढ्यो मसँगै गुच्चा खेल्ने साथीको जीवन पनि
तर म आफै भने
अझै अघि छु भन्ने भ्रमित अल्झनमा
सबैको वाह वाहै कमाउँछ ऊ
म छु यहाँ गद्गदिँदै आफैमा
समयले मलाई कुरेन
हिमाल, पहाड, तराई, देश अनि विदेश
सिर्जनाले जन्म लिँदैछ यहाँ
एकले अर्कोलाई उछिन्दै
आविष्कारले फड्को मार्दैछ दुनियाँमा
प्रगति, विकास, समृद्धि
यस्तै-यस्तै कुराहरूले तरक्खी भैरहेछन् यहाँ
अनि
अनगिन्ती योगदान दिनेहरू छन्
मेरो सेरोफेरोमा
तर समयले मलाई कुरेन।
कहालीलाग्दो मेरो घर भए पनि
एक छाक टार्न यहाँ मरिमेट्नु परे पनि
रुँदै हुन्छन् मेरा घरका ती लालाबालाहरू
अभाव अनि यो छैन, त्यो छैन भनि
अनि
वृद्ध अवस्थामा रहेको मेरा बाबा-आमा
केही अपेक्षा मप्रति भए पनि
म अघि बढे झैँ नै लाग्छ मलाई
मैले धेरै गरे झैँ नै लाग्छ मलाई
तर
चल्दैनन् मेरा हातहरू
अनि
मस्तिष्कको एउटा अडिक घमण्ड
कहिल्यै डेरा सार्दैना उसले पनि
त्यसैले म धेरै पछि छु
किनकि
समयले मलाई कुरेन।