मसँग आफू सफल वा असफल छु भन्ने प्रश्नको उत्तर छैन। हालसम्म प्राप्त गरेका शैक्षिक योग्यता, अनुभव, पेसा, धनसम्पत्ति, परिवार, सामाजिक सम्बन्ध, सम्मान आदिले मलाई कुन स्थान दिन्छन्? यसको उत्तर पाउन भौतारिइरहेछु।
मेरा अंग्रेजी शिक्षकले भन्ने गर्नुहुन्थ्यो, 'हेर विद्यार्थीहरू हो, जिन्दगी यात्रा हो। जसरी तसरी यात्रा अगाडि बढिरहन्छ। तथापि कहाँसम्म भन्ने निश्चित छैन? त्यसैगरी सफलता र असफलताका मापक के? के प्राप्त हुनु सफलता हो? सुख, शान्ति, धन, दौलत, प्रेम, प्रतिष्ठा, सम्मानलाई मापन गर्ने आधार के? एउटा चिजले कसैलाई सन्तुष्टि दिएको पाइन्छ। अर्कोलाई दिँदैन।
कुनै उपलब्धिले कसैलाई सफल भएको ठानिन्छ। अर्कोलाई ठानिँदैन। वास्तवमा जीवन जीउने क्रममा आउने यस्ता उपलब्धिहरूको सीमा नहुँदो रहेछ। सफलता, सन्तुष्टि र उचाइको लागि आवश्यक तत्व यही हो भन्ने नहुँदो रहेछ। सन्तुष्टिको अन्तिम बिन्दु यहाँसम्म भनेर उत्तर पाउन सम्भव रहेनछ।'
उहाँले पुनः थप्नुहुन्थ्यो, 'जीवनको उचाइ एलोन मस्क, विल गेट्स, ज्याक मा, रोमियो-जुलियट, महात्मा गान्धी, विलियम शेक्सपियरले त भेटाउन सकेनन्। हामीले त कसरी सकौँला र? तर पनि सकारात्मक सोचका साथ दत्तचित्त भएर लाग्नुको विकल्प छैन। मानिसको इच्छा, चाहनाको क्षितिज कस्तो हुन्छ भन्ने बुझ्न साधारण उदाहरण हेरौँ न।
लेकमा घर हुने हामी तल बेसी झर्न खोज्छौँ। बेसीमा रहनेहरू नजिकको सहरमा सर्न खाज्छौँ। सहरका अलि परको ठूलो सहरमा सर्ने चाहना राख्छौँ। ठूलो सहरका मानिसहरू राजधानी वा अन्य सुविधासम्पन्न सहरतर्फ सर्न इच्छा राख्छन्। राजधानीबासी र सुविधासम्पन्नहरू विकसित देशमा गएर जीवन जीउन खोज्छन्। विकसित देशका मानिसहरू अरु ग्रह, अन्तरिक्ष र समुद्रमुनि गएर जीवन जीउन खोज्छन्।'
जीवन भोगाइप्रति उहाँले भनेका कुरामा मेरो बिमति रहेन। मलाई थप के लाग्यो भने हामी आम नेपालीको सफलताको मापक एउटै रहेको पाइन्छ। हामीमा एउटा सोचले बास गरेको छ। त्यो हो पहिला पैसा कमाउने। सकि-नसकी घडेरी किन्ने। खानै नखाएर भए पनि घर बनाउने।
जन्मेको पुष्टि गर्ने न्यूनतम मापदण्ड सहरमा घर बनाउने भन्ने रहेको छ। अनि सम्भव भए राम्रो कार किन्ने। सुविधा सम्पन्न स्कुलमा सन्तती पढाउने। घरमा सुसारे राख्ने। स्वीच थिचेर सबै सेवा प्राप्त गर्ने। त्यति भए मात्र आफू जन्मेको सार्थक सावित हुने देखिन्छ। म बबुरो पनि यही चक्रव्यूहमा फसेको छु। समाजको तालमा हिँड्न नसके पनि प्रयास जारी राखेको छु।
बिहे हुनुभन्दा पहिला आमाको सदावहार प्रसंग मेरो विवाह हुन्थ्यो। गाउँ पुग्यो त आमाका पनि उही गन्थन-मन्थन सुरु भइहाल्थे। बिहे नहुँदासम्म आमाका दिनमा पचास फोन आउथे। 'ए कान्छा, अब कहिले हो?'
म भन्थेँ, 'के आमा?'
आमाका उही कुरा, 'बिहे गर्न परेन। तेरा उमेरका सबैले बालबच्चा जन्माइसके। तँ चाहिँ बिहे गर्न पनि आनाकानी। किन हो हामीले भनेको नसुन्ने? अब त अत्ति भो!'
मैले सम्झाउने प्रयास गर्दै भन्थेँ, 'आमा, बिहे पनि अरुले गरे गर्ने र नगरे नगर्ने हो र? साथीभाइलाई समय मिले होला, साइत जुरे होला, भनेजस्तो जोडी मिले होला। परिस्थिति अनुकूल भए होला। उनीहरूले बिहे गरे। अनि म मेरो आफ्नो अनुकूल नभई कसरी बिहे गरिहालौँ त आमा? बिहे पनि गर्छु भनेर भइहाल्ने विषय हो र? हजुर यत्रो पाको मान्छेले पनि किन हो केटाकेटी जस्तो कुरा गर्ने?'
मेरा उत्तरले उहाँको चित्त बुझ्ने कुरै भएन। आमाको रोइलो उही छ, 'म अरु जान्दिनँ केटा, अरु कुरामा म सहमती जनाउँला। तर बिहेको मामिलामा मैले भनेपछि तँ अब तयार हुनैपर्छ। बिहे तेरो मात्र सवाल हैन कान्छा। बिहे भनेको हामी बाआमा, परिवार र समाजसँग गासिएको विषय हो। यसलाई हामीले घरायसी सन्दर्भ मात्र भन्न सक्दैनौँ।
धेरै वर्ष भयो तिमीहरू सहरमा नै छौँ। पढ्छौँ। उतै कमाएर खान्छौ। त्यहाँ यस्ता कुराको मतलब छैन। तर तिमीहरू एक वर्ष गाउँमा आएर बस त। कस्तो छ यहाँको समाज? कस्तो छ समाजको सोच? यहाँ आएर अनुभव लियौँ भने बल्ल मैले र बाले भनेको कुराहरू सहजै स्वीकार गर्छौ तिमीहरूले। सबै कुरामा जिद्धी चल्दैन बाबु। तँ पन्ध्र/सोह्रको त होइनस्, लगभग पच्चिस वर्षको भइस्। अब के कुर्ने? कस्का लागि बिहे रोकेर राख्ने? अब सिङ, जुरो पलाउँदैन। त्यसैले आमाको कुरालाई गम्भीर रुपमा लिई बाबु। यदि मैले भनेको सही ठानीनस भने पछि त नै पछुताउनु पर्छ। यो पक्का हो।'
अब चिनुवा अचिवीको 'म्यारिज इज अ प्राइभेट अफियर' भन्ने कहानी आमालाई सुनाएर बिहे टर्दैन भन्ने लाग्यो। अनि भने 'हस् आमा, म बिहे गर्छु।'
यसरी आमाको करकाप र मेरो पनि उमेर भएकोले बिहे पनि गरियो। त्यसपछि आमाका फोनकलहरू घटन थाले। सन्चो बिसन्चोमा सीमित रह्यो।
मेरो घर स्याङ्जाको एउटा गाउँमा पर्छ। मलाई स्मरण छ। केही वर्ष पहिले जब म गाउँ पुग्थेँ, बाले सातो लिइहाल्ने। गाउँ जानै नहुने। गाउँ भेड्कियो कि उही गन्थन सुरु। बाका गुनासाहरूले गाउँ फर्कनै गाह्रो थियो मलाई।
बा भन्नुहुन्थ्यो, 'ए कान्छा! यत्रा वर्ष भयो तँ सहर पसेको। पढाइ पनि धेरै नै पुराइस्। जागिर पनि खाएकै छस्। बिहे पनि भयो। अब बालबच्चा पनि जन्मेलान्। अब त अलिक पाको हुनुपर्ने हैन र? खै घर घडेरी केही चाँजो मिलाइनस्? यहाँ गाउँमा त मुख देखाउनै लाज भइसक्यो। के बन्दैछ योजना?'
म शब्द विहीन बन्थे। सोचमग्न हुन्थे। बल्ल पढाइ सकेर जागिर गर्दैछु। बिहे भएको पनि दुई वर्ष मात्रै भएको छ। श्रीमतीलाई पनि कतै जागिरमा टेकाउन सकिन्छ कि भनेर लागिरहेको छु। बालाई घरजग्गा चाहिसक्यो। तर पनि आफै सानो बन्नुको विकल्प थिएन।
मलिन मुद्रामा बालाई भन्ने गर्थेँ, 'बा, नआत्तिनुस् न। समय आउँछ। समयलाई कसैले छेक्न सक्ने छैन। अहिले म संघर्षकै दौरानमा छु। अझै अगाडि पढ्ने योजना पनि छ। हेरौँ सकेसम्म छिटै हजुरको चाहना पूरा हुनेछ। तर निश्चित यही मिति भनेर योजना पेश गर्न सम्भव छैन बुबा।'
बालाई मैले दिएको उत्तरले चित्त नै बुझ्ने थिएन। अनि प्रतिप्रश्नहरूको ओइरो लाग्थ्यो। उही कुरा सम्झाइरहनु हुन्थ्यो।
'उता एसएलसी पनि नपढेको पल्लाघरेको जेठोले अस्ति अरबबाट पैसा पठाएर सहरमा घडेरी किन्यो। तल्लाघरकी कान्छीले पनि जसोतसो सहरमा घर बनाइसकी। कान्छीका बाआमा बेलाबेलामा आएर धक्कु दिन्छन्। अनि तँ चाहिँ सधैँ उही पढाइ भन्दै बहानाबाजी मात्र गर्छस्। अब ढिला भइसक्यो। कहिलेसम्म हो हाम्रो छोराले आफू जन्मेको सही सावित गर्ने? कहिले हो हामीले छाती पिटेर हाम्रो पनि सहरमा घर जग्गा छ भन्न पाउने? कहिले हो तेरो बाआमा भएकोमा गर्व गर्ने? कि बाँचुन्जेल देख्न नपाइने हो?'
उमेर बढ्दै जाँदा साथीभाइका गन्थन उस्तै। 'ए यार, त किन हो यस्तो सोझो? आजको जमानामा पनि यसो वाइन, हुक्का, चुरोट पनि नतान्ने? यी कुराहरू अब सामान्य भइसके साथी। किन हो जति भने पनि सुरसार नगर्ने? कति नै आफू बच्चैजस्तो नगर न यार। अत्ति भयो। हैन भने अब त कोच्चाउनै पर्ने हो कि कसो? हाम्रो अनुरोधको सीमा नै नाघ्यो यार। अब तँ बच्चा छैनस्। साथीहरूसँग घुलमिल हुने बेला भयो।'
मैले थप बोल्न नपाउँदै अर्को साथी जंगिन्थ्यो 'आजको जमानामा व्यापार व्यावसाय हात हाल्नै पर्छ। व्यापार व्यावसाय गर्दा वाइन, ह्विस्की, चुरोट त सामान्य हुन्। यो नलिनेलाई त व्यापारमा साझेदारीमा राख्न पनि सकिँदैन। किनकि अन्य साथीहरूले तेरो बानीलाई साह्रै अनौठो ठान्नेछन्। व्यापारमा सँगै जान आनाकानी गर्ने छन्। त्यसैले हिजो बाउबाजेले जे गरे त्यही मात्र गर्ने हो भने हामी उही अवस्थामा रहन्छौँ। हाम्रो आर्थिक उन्नती सम्भव छैन।
हामीले त जे जसरी जीवन चलाउँला। हाम्रा सन्ततीहरू हाम्रो बाउबाजेको जस्तो जीवनशैली मान्न तयार हुँदैनन्। जेनेरेशन ग्याप अति धेरै हुन गयो भने भोलि हामी हाम्रै बच्चाहरूसँग रहन सक्दैनौँ। त्यसैले तैँले सोच बदल यार। अब धेरै रुढीवादी नबन। यस्तो चिज सेवन गरेर मरिहाल्ने भए ठूलो उद्योग घरानाका मानिसहरू सकिइसक्थे। त्यसैले देश अनुसारको भेष गर्न कत्ति पनि आनाकानी गर्नु हुँदैन।'
'हस् त' भनेर उनीहरूलाई साथ दिन थाले।
इष्टमित्र, नातागोता सबैको चाहना लगभग उस्तै देखिन्छ। राम्रै होस् भनेर सबैले सल्लाह दिएका होलान्। कतिले राम्रै सोचेर कुरा गरे होलान्। कतिले खिसीटिउरी गरे होलान्। जे होस् मलाई दबाब परिरहन्थ्यो। मलाई सबैको कुरा मनमा थेग्नै गाह्रो भएको आभाष हुन्थ्यो। जब यसो समाजको बनावट नियाल्थेँ। अनि आमाबा, साथीभाइ, इष्टमित्र सबैले भनेका कुराहरू नाजायज होइनन् भन्ने लाग्थ्यो।
समस्या थियो त मभित्रै थियो। आफू सक्षम नभएपछि सबैका कुराहरू नकारात्मकजस्ता लाग्दा रहेछन्। आफू सक्षम भए उनीहरूले गुनासो गर्नै पर्ने थिएन। बाले सहरमा घरघडेरी किन्न किन भन्नु भयो? उहाँ आफू बस्न हैन। समाजमा आफ्ना छोराछोरीले गरेको प्रगतिबारे वर्णन गर्न।
आमाले बेलैमा बिहे गर्न किन भन्नु भयो? उहाँलाई बुहारीले खुट्टामा तेल घस्ली। चार माना दूध दिने भैँसी पाल्ली। साठी मुरीको खेतमा धान रोप्ली भनेर हैन। केवल आफूलाई नातिनातिना खेलाएर समाजमा देखाउन। बाआमाका इच्छा नितान्त सन्ततीले प्रगति गरुन। समाजमा देख्न लायक बनून भन्ने नै हो। तर अपसोच! सबै सोच सम्भव नहुँदा रहेछन्।
मलाई आज थाहा छैन। सफल छु या असफल? तर यत्ति थाहा छ कि म हिँडिरहेछु सदा सदा। निरन्तर उही गतिमा। अथाह सपनाहरू बोकेर म हिँडिरहेछु। थाक्ने छैन। तथापि जीवन कहाँनिर विश्राम लिन्छ त्यो भने थाहा छैन। सायद अझै घेरै हण्डर बाँकी छन् होला? हालसम्मको सफलताको कहानी पूर्ण छैन। ग्रीक मिथमा सिसिफसको जस्तै-जस्तै छ।
सिसिफसले आफ्नो जीवनभर प्रयास गर्दा पनि एउटा ढुङ्गा पहाडको टुप्पोमा पर्याउन सकेन। किनकि पहाडको टुप्पो तिखो थियो। जहाँ ढुंगा लगेर अडाउन सम्भव थिएन। तर पनि उसले असफल प्रयास जारी राख्यो। उपलब्धि हैन कि प्रयास मिलोस् सिसिफससँग। सकारात्मक सोचका साथ अगाडि बढेको छु। एकदिन भगवान नचाहेर पनि दाहिना हुनेछन्।
आमाको मेरो बिहे होस् भन्ने सपना, बाको सहरमा घर होस् भन्ने, साथीभाइ, इष्टमित्र सबैको जीवन सफल बनोस् भन्ने सपनाहरू थिए र छन्। सपनाहरू कति पूरा भए, कति तुहिए, कति बाँकी छन् मलाई थाहा छैन। तथापि अथाह सपनाहरू बोकेर जीवनयात्रा चलिरहेको छ निरन्तर।