नतिजा आउनुभन्दा पहिल्यै
थाहा थियो मलाई
यसपटक
मिल्दैन मान्छेको जोड-घटाउ
किनकि
गलत छ आफैमा देशको गणित!
गाउँमा अलि हल्ला छ
सायद फेरि यतिका वर्षपछि
कोही आउँदै छ
मूल्य नभएका अंकहरू बटुल्न!
यसबीच
धेरै फेर बदल भयो अंकमा!
पल्लाघरे आमालाई
बाको साथ छाड्नु मन थिएन
एक्लै बाँच्न गाह्रो हुन्छ अरे
त्यही भएर होला
लिएको सापटी चुक्ता गर्न नसकेको निहुँमा
पोहोरको पहिरोले
सँगै सुतेका बा-आमाको दुई शरीरलाई एकै बनाएर सँगै बगायो!
विदेशीएको छ जेठो
घरमा एक्लै छ कान्छो
कति लेखे होलान् त गणकले उसको परिवार!
जमेकी छे अहिले सरिता
सुधा पहिले जसरी बसाउदिन अरे!
खै किन हो
मान्छेलाई घिन लाग्छ उनीहरूको अस्मिता!
बन्द झ्यालमा खुल्ला छन् खुसी खोज्ने नजरहरू
खुल्ला ढोकामा कैद छन् राम खोज्ने पैतालाहरू
मन पर्दैन अरे उनीहरूलाई उज्यालो!
कसरी फकाएर बटुले होलान् त गणकले उनीहरूबाट अंक!
एक वर्ष पहिला रित्तो शरीर बोकेर विदेश गएको छोरो
अहिले बाकसको खालीपन भरेर फर्केको छ
ऊ अहिले त्यही बाकसमाथि बसेको छ
तर नदेखेको झैं गर्दिन्छ
थाहा नपाएको झै गर्दिन्छ!
छोरी अहिले घर मुन्तिरको गोठको
चिसो ओछ्यानमा चिसै भिजेर
तीतो निन्द्रामा
बेकारको कोल्टी फेर्दै सुतेकी छे!
तर मैले भन्न नपाउँदै
ऊ
उठ्छ
धुलो टकटकाउँछ
र
फर्किन्छ!
गन्नेले त मेरो टाउको मात्र गन्छ
हेर्दैन मेरो अनुहार
जुध्दैनन् हाम्रा आँखाहरू!
आफै निर्जीव भएर जीवित मान्छेहरूको
सरासर रजिस्टरमा बटुल्छ अंकहरू!
त्यसैले
म कराउदिनँ
चिच्चाउदिनँ
बरु लुक्दिन्छु!
हो
गडक आएको बेलामा
घरको मूल ढोकामा चाबी लगाएर
कोठाको पर्दा पछाडिबाट
लुकी-लुकी हेरिरहेँ मात्र
मलाई बोलाइरहेको।
पल्ला घरे काकीलाई
'यो घरमा कोही छैन भन्दिनु है'
भन्न लगाएँ
देशमा मेरो अस्तित्व त अंकमा मात्रै सीमित रैछ
कसले बुझ्दिन्छ होला
मेरो टाउकोको मूल्य!
सानैदेखि
सधैँ हेपिरह्यौँ योगफलमा हामीले
आखिर
सबैभन्दा धेरै मूल्य त शून्यकै रहेछ!