बा झ्यालमा बसेर
झ्यार-झ्यार गरिरहेको रेडियो
झ्याउ मान्दै मिलाउनु हुन्छ
र खोजिरहनु हुन्छ जिन्दगीको एउटा मिठो धुन।
आमा झ्यालमा बसेर
हिजो झिसमिसेमै हिँडेको
परदेशी छोराको बाटो हेरिरहनु हुन्छ
घर मुनिको झ्याङमा झ्याउकिरी बासिन्जेल
र बगाउन खोज्नुहुन्छ आँसुसँगै अत्यास।
बहिनी झ्यालमा बसेर
झोलाभित्र किताबको पत्रामा
लुकाइराखेको कसैको फोटो
लुकी-लुकी हेर्छे र झस्किँदै सम्झन्छे
आफ्नो घर अनि झागिँदै गएको ऊसँगको प्रेम।
भाइ झ्यालमा बसेर
आमाले आफ्नो झुम्का बेचेर किनिदिएको
मोबाइल चलाउँदै आमासँग झगडा गरेको सम्झन्छ
र घर मुनिको झ्याम्म परेको रुख हेर्दै
झण्डै रुँला रुँला गरेर टोलाइरहन्छ निकैबेर।
म त झ्याल छोडेर हिँडेको मान्छे
दिनरात झ-झल्कोको भूमरीमा झुल्दै
त्यही झ्याल सम्झिरहन्छु।