सेतो, चिसो हिउँ
तापको उपस्थिति
पग्लेको रंगहीन चिसो पानी
रंग परिवर्तनको दृश्य
प्रकृति आकर्षक
म दर्शक
कसैको याद बोकेको
रातो रगत
पीडाको उपस्थिति
आँखाबाट झरेका रंगहीन
आँसुका थोपाहरू
पुनः रंग परिवर्तनको दृश्य
कसैको याद आकर्षक
तर म नै हुँ दर्शक
गरिब भनि समाजमा
तिरस्कृत
उसको परिश्रमबाट सफलता
आफन्त भन्नेहरूको
बढ्ने आफ्नोपन
नहेरे पनि देखिने समाजको दृश्य
समाजकै 'म'हरू आकर्षक
समाजकै 'म'हरू दर्शक
युद्ध स्वीकारेको
सेतो कागज
निर्दोषको हत्या
युद्ध अन्त्यको स्वेत झण्डा पनि
रंग एउटै तर
दुई क्षणको भिन्न सोच
रगतको रंग आकर्षक
धेरै 'म'हरू दर्शक
आफ्नै स्वाभिमान बोकेको
प्यारो भूमि
छिमेकीको खुसी
खै! किन अहिले अझ प्रगाढ
बनेको राष्ट्रप्रेम
धेरै सुतेका बाघहरू
अल्छी गरेर उठेको दृश्य
नेपाल आमाको आँसु आकर्षक
धेरै नेपाली 'म'हरू मात्र दर्शक
मात्र दर्शक।