म समय
म जनयुद्ध कालको समय
जहाँ हजारौँको संख्यामा मानिसहरू मारिए
जहाँ सयौंको संख्यामा मानिसहरू बेपत्ता भए
मैले पूरा १० वर्ष रगत र आँसुको होली खेलेको थिएँ
हाडका थुप्रा र मासका डल्लाहरूसँग मितेरी गाँसेको थिएँ
मैले अपरिपक्व योनीमा जबर्जस्ती आफ्ना
परिपक्व यौन चाहनाहरू छिराएको थिएँ
मैले 'तिम्रा आँगनमा क्रान्तिको बीउ छर्छु' भनेर
कात्रोको रास छरेको थिएँ
हो, त्यही समय हुँ म
यति हुँदासम्म पनि मैले आफूलाई दोषी मानेको थिइनँ
मेरो दोष नै के थियो र?
क्रान्तिले बलिदान माग्छ
र यस क्रान्तिकारी आन्दोलन पछिको गणतन्त्र पनि
सबैको बलिदानको देन न हो
तर
मेरो दोष म आज देख्दैछु
बन्दुकको नालमा सपनाको गोली राखेर
मुटु छिया-छिया पारेकाहरू र
त्यही सपनामा टेकेर अहिले सिंहदरबार पुगेकाहरूलाई
म आज आफूसँगै दोषी देख्दैछु।
आफ्ना कमरेडका लागि
गोलीले आफ्नो छाती चिरेकाहरूको
चित्कारले मलाई
आज दोषी ठहराउँदै छ।
किनभने
उनीहरूले आफ्नो सास बेचेर किनेका
सपनाहरूको मूल्य आज शून्य छ
जनयुद्धकालमा चहलपहल भइरहने वस्तीहरू
आज खाली छन्
आमनागरिकका आँखामा बलेका
आशाका दीपहरू आज झ्याप्पै निभेका छन्
नयाँ नेपाल निर्माण गर्ने कसम खाएका
कयौँ युवाहरू हताश र निराश भएर
झोला बोकी विदेश भासिएका छन्।
यदि यस्तै चल्ने हो भने
एकदिन चिहानबाटै मुर्दा उठेर
सुनाउने छ आफूले लडेका युद्धका कथाहरू
ऊ सुनाउने छ लडाइँमा उसकै आँखाअगाडि
वीरगति प्राप्त गरेका आफ्ना साथीका चित्कारहरू
र स्मरण गराउने छ भोकभोकै
युद्ध मैदानमा होमिएका दिनहरू
त्यस बखत पनि म नै साक्षी हुनेछु
जसरी जनयुद्धको साक्षी थिएँ।