बिरामी शरीर हल्का-हल्का गर्दै ठिक हुँदै थियो। बिरामी यादले भने साथ छोडेको नै थिएन। यादको खालीपनसँग अस्तव्यस्त थिएँ म। रोकिएर रोकिजाने यादहरू भए पो जिन्दगी सलल बग्थ्यो त!
सीमारेखा नै नभएका याद अनि आफ्नो मनसँग नै हार्ने यादले जिन्दगी अस्तव्यस्त पार्यो भनेर के गुनासो गर्नु र खै? अब खासै असर गर्न छोडिसकेका थिए यादले पनि!
शून्यपन अनि खालीपन भर्ने कोही मान्छे भएपछि याद भन्ने चिज धेरै कम आउने रहेछ। जिन्दगी कहाँ यादमा आउने मान्छेले गर्दा मात्र चल्दो रहेछ र? जिन्दगी त खालीपन अनि खाली आभास भर्ने मान्छेको कारण पनि त चल्दो रहेछ। र त म सोच्दै थिएँ नि अब भने बिरामी याद अनि बिरामी मन दुवैबाट छुटकारा पाउने भएँ मैले।
जिन्दगीमा खालीपन भर्दै जाने क्रममा धेरै पात्रसँग ठोक्केन पर्ने रहेछ। कति मान्छे मनसँग गासिँदा रहेछन्, कति यस्सै जोडिँदा रहेछन् बिना कुनै अर्थ। बिना कुनै अर्थ गाँसिएका सम्बन्धहरू बिना कुनै अर्थ नासिएर जाँदा रहेछन्। याद नासिएकाको हैन, मन गाँसिएकाको आउँदो रहेछ।
याद गर्नु अनि यादमा बिरामी बन्नु ठूलो कुरा होइन। मलाई कुन कुरा ठूलो लाग्छ भनेर अहिले सोध्नु भयो भने म भन्छु होला, मृत्यु शब्दमा जीवन भर्ने काम ज्यादै गाह्रो, आफ्नो भावनालाई शब्दरुपी रेसामा जीवन्त बनाएर उन्न धेरै गाह्रो।
खुम्चिनु आफूलाई लुकाउनु हो। आफूमा भएको भावना अनि आफूमा आएको तरंगलाई रोक्नु हो। आफूलाई छताछुल्ल गरी नपोखिनु हो। आफूले आफैंलाई आफैंसँग हर्न/हार्न खोज्नु हो। याद गर्नु भनेको आफूले आफैं अगाडि कसैसँग बेजोड गाँसिएको सम्बन्ध फुकाउनु हो, सम्बन्ध र कुनै बन्धन नै नजेलिएकाको याद कहाँ आउँदो रहेछ र?
याद पनि किसिम किसिमको हुँदा रहेछन्। बच्चाको कुरा सम्झिँदा बच्चा बेलाको याद भनेसी घरमा आउने इस्टमित्रको याद आयो जसले मलाई मेरो घर आउँदा ५०/१०० रुपैयाँ हातमा थमाएर भन्थे, 'पसल यता छैन भन्ने थाहा भएन, उतैबाट ल्याउन तिमी छौँ भनेर बिर्सिएछौँ। केही मन परेको कुरा किनेर खाऊ ल।'
सम्झिँदा नै लाग्यो ओहो! कस्तो मिठो याद।
त्यसपछि स्कुलका दिनमा किताबको भारीले थिचोमिचो गरेर दुब्लाएको शरीरको याद आयो। स्कुलका दिनले बिट मार्यो, अहिले त स्कुल सम्झिँदा किताबको भारीभन्दा साथीहरूको यादको भारी बढी आउँछ।
सरमिसले गृहकार्य नगरेर हातमा लठ्ठीले पिटेको भन्दा अनि साथीले आफूलाई परीक्षामा जितेको भन्दा सानै भए नि स्कुलको पिकनिकमा जमेको याद आउँछ, स्कुले साथीभाइसँग सानै कुरामा पनि रमेको याद आउँछ।
अब याद गरौँ स्कुले जिन्दगी, पछि कलेज बेलाको। न त किताबको याद आउँछ न त साथीहरूको। त्यसबेलाको स्मरण गर्दा भर्खर-भर्खरै बसेको पिरतीको याद आउँदो रहेछ।
सोच्यो, सम्झियो भने याद विभिन्न विभिन्न दृष्टिकोणले विभिन्न समयमा विभिन्न रूपमा छताछुल्ल पोखिँदो रहेछ तर सुटुक्क मनैमा कसैले भानसम्म नपाउने गरेर। सुनेका छौँ त तिमीले 'ए याद पोखियो पोखियो' भनेको? त्यसैले त यादमा डुब्न, हराउन अनि रमाउन कसैसँग अनुमति लिनु नै पर्दैन नि हैन त? यो त मनैमा हुन्छ मिठो बनेर बस्छ।
मान्छेको याद किन आउँछ होला? आउन त याद कि त लायक हुनेहरूको आउँछ या त हृदयमा घायल हुने गरी क्षतिपूर्ति समेत माग्न नपाइ आफ्नो जिन्दगीबाट विलीन भएकाहरूको। सोची सम्झी ल्याउँदा गहिरो अनि भारी शब्द हो याद तर यादको झोक्काले जब हान्छ नि तब हलुङ्गो हुन्छौँ हामी।
कहिलेकाहीँ हाँसीमजाकमै मानसपटलमा कैद भएका यादले नै आलोकाचो घाउमा मलम लगाउने काम गरिदिन्छ त कहिलेकाहीँ मूल्यवान ठानिएका मूल्यहीन मान्छेको यादले हलुङ्गो मन भारी बनाइदिन्छ।
अब त स्नातकका दिनहरू पनि सक्किए, अब चाहिँ यादमा भविष्यका चिन्ताहरू आउन थाल्छन्। भनेकै हो नि, नयाँ कुराको मात्रै याद आउँछ भनेर।
स्कुल हुने बेला साथीहरू नयाँ, कलेजमा पीरती गाँसिएको मान्छे नयाँ अनि अब स्नातकमा भने भविष्यको चिन्ता नयाँ। अहिले यो शब्द खेलाइराख्दा भविष्यमा आफू लेखक हुन्छु भन्ने याद आयो। स्कुलमा जानीनजानी कोरिएर च्यात्तिएका कागजहरू याद आए, अलमल र मुटुका खाली कुनामा आफूलाई भर्नको लागि च्यात्तिएका मनोभावना टालटुल पार्नका लागि सपनाहरू च्यातचुत पारेको कुरा याद आए।
मान्छेहरू नसोची प्याच्च बोल्छन्, आफूले भनेको पनि बिर्सिन्छन्। तर कहिलेकाहीँ बिर्सनु पर्ने कुरा याद गर्छन्। अहिले मैले आफूलाई याद आएसम्मका हरेक घत लागेका शब्दहरू बुनेर मिठो स्वेटर उन्दै छु, आफूलाई कागजमा तैराउँदै छु। आशा छ स्वेटर नउध्रियोस्, कागज नडुबोस्। म मेरो यादहरूमा बुट्टा भर्दैछु।
हरेक कुरा नयाँ मन पराउँछन् मान्छेहरू, पुराना मिठा अनि राम्रा लाग्ने त याद मात्रै रहेछ। उपहार त खुसी हुनको लागि हुन्छ हैन र? याद मात्रै त्यस्तो उपहार हो जसले आँखामा आँसु र ओठमा मुस्कान एकसाथ ल्याउँछ। कति याद जिन्दगीमा कोरिए, कति याद कोरिँदै छन्, कति याद कोरिन बाँकी नै छन्।
ए साँच्चै! याद पनि फरक-फरक हुँदो रहेछ। त्यसै भनेको हैन रहेछ, आफूसँग हुन्जेल सस्तो भएका सामान अनि सम्बन्ध आफूले गुमाएसी बल्ल यादगार हुँदा रहेछन्। मनमा समेट्न पर्ने मिठो याद पेनड्राइभमा सेभ र फेसबुकका भित्तामा पोस्ट गर्छन् तर मनमा तितो यादहरू समेटछन्।
यादहरूले आफूलाई यत्रतत्र छर्न हैन, एकसाथ आफ्नो जिन्दगीमा रहेर खुसी भर्न मद्दत गरोस्। शुभकामना।