प्रिय छोरा
अञ्जुलीभरिको माया
अनि मीठो सम्झना
यो बुढी आमाले किन चिठी लेखी भनेर दिक्क नमान है। छोरा म तँलाई सजिलो होस् भनेरै यो पत्र लेख्दै छु।
म सक्दिनँ तैंले चिसोमा एक छाकमात्र त्यो नि नुन बारेर खाएर नांगै चिसो परालमा सुतेको हेर्न। त्यसैले बाध्य भएर लेख्दै छु छोरा, दु:ख नमानेस् है?
छोरा आज करिब तीन दिनको दिन म आइपुगें यो स्वर्गमा तैंले गरेर। धेरै धन्यवाद छ छोरा। तैंले म मरेपछि गरेका काजकिरियाले आज छिट्टै आएँ म स्वर्गमा। भलै म मर्नुको कारण नि तँ नै होस् तर यति कुराले चित्त बुझाएँ कि मरेपछि भएनि धन्न माया मानिस् आमाको, नत्र त यहाँ कतिका छोराहरूले त मरेपछि नि सुख दिएका रैनछन् नि त्यसैले धन्यवाद छोरा तँलाई।
ती तेरा तालुमा चिसोले भेट्ला नि! सानोमा त तेल अनि मेथी फुराएर लाइदिँदा बल्ल-बल्ल सन्चो हुन्थ्यो छोरा। अब त्यो पण्डितलाई केही दान दिनु पर्दैन है! अनि तँ नि धेरै बस्न पर्दैन किरिया।
म यहाँबाट तैंले त्यो कष्ट गरेको अहँ हेरेर बस्न सक्दिनँ छोरा। त्यसैले बिन्ती छ। अब नबस है! न्यानो लुगा लगाउनू। त्यसै त तँलाई निमोनिया छ। छोरा अब त ठूलो भइस् आफ्नो ख्याल राखेस् है!
म आउन सक्दिनँ तँलाई फेरि त्यो तालुमा तेल लगाइदिन। अब सक्दिनँ तँलाई यसो गर, यसो नगर भन्दै सम्झाउन आउन। त्यसैले अब अल्लि गह्रुंगो भएर निर्णय लिनू।
छोरा खै तँलाई कसरी भनूँ! म तीन दिनअघि हैन म तीन चार वर्षअघि नै मरिसकेको मान्छे हुँ। यी तीन चार वर्ष त शरीरमात्र जिउँदो देखिएको थियो अनि अर्को कुरा मै आफैं नै भगवानलाई प्राथना गरेर छिटो लानुस् मलाई भन्दै जिद्दी गर्या हो किनकि तँलाई देख्ने यत्ति एउटा उपाय थियो मसँग अनि पूरा नि भयो।
आज बल्ल लेख्न पाएँ छोरा तँसँगका ती गुनासा पनि छन् अब त झर्को नमानी सुन्लास् नि भनेर बल्ल लेख्दै छु।
सरलाई फुर्सद छ भने मात्र पढ्नू है! माफ गर्दे म सर भन्नै जान्दिनँ छोरै भन्छु नरिसाउनू है! बिन्ती छ।
तँलाई थाहा छ छोरा तेरा ती पाइलाले हाम्रो घरतिर लम्किने दिन, यस्तो लाग्दैथ्यो मेरो ज्यान चुँडिन लाग्यो। बज्रपात भयो। मेरो शरीर टुक्राटुक्रा हुँदैछ। आकाश खस्दैछ, त्यो वेदना, त्यो चिच्याहट, त्यो प्रसव वेदना। लाग्दैथ्यो म मर्छु अब। तर जब त्यो रून्छे बोली सुनें नि छोरा मलाई त च्याट्टै भयो। लाग्यो केही नि भाछैन। लाग्दैथ्यो भगवानले खुसी पठाइदिए। ती दिन सम्झँदैमा मनै हर्षित भएर आउँछ।
तँलाई त के थाहा होला र मैले तँलाई सन्चो हुन्न भनेर कस्तो मनपर्ने, मनपर्ने खानेकुरा सबै खानै छाड्देको।
ती तेरा कलिला हात अनि खुट्टा ताते ताते गर्दै हिँड्न सिकाको। अनि त्यो दूध खान छुटाउनका लागि गोबर लगाको ती दिन पहिलोपल्ट तैंले मामु भनेको दिन मैले त खाना नि खाथिनँ नि।
तँलाई तेरो बाले पिटेर मुर्छा हुँदा मैले तेरो बालाई कति सरापेको पनि थिएँ नि।
तिनै यादकै सहाराले त म हिजोसम्म बाँचेको थिए छोरा। आखिरमा त्यही बच्चा बेलाकै याद त रैछन् सँगै हुनि छोरा। ठूलो भएसी त आफ्ना हुन्नन भन्थे मलाई हाँसो लाग्थ्यो आफ्नो ज्यानको आधी गरेर पाएको छोराले के बिर्सन्थ्यो होला मलाई?
तर छोरा त्यो दिन म मरेको जुन दिन तैंले मलाई गलत साबित गरिस्। त्यो दिन फेरि एकपटक बज्रपात भयो ममा। त्यो प्रसव वेदनाभन्दा पनि चर्को पीडा भयो मलाई दिउँसै अँध्यारो देखें जुन दिन त्यो भनाइलाई तैंले सत्य सावित गरिस् अनि मलाई गलत।
तेरो त्यो दस कक्षाको परीक्षा आउँदा मलाई नै रातभरि निन्द्रा लाग्दैन्थ्यो अनि? थाहा छ तँलाई तेरो रिजल्टको दिन मत ब्रत नि बसेको थिएँ तिमीहरूलाई भनेकै थिइनँ भोक लाछैन भन्थें तर म ब्रत बस्थें।
छोरो काखमा हुँदामात्र आफ्नो हुन्छ भन्थे हो रैछ भन्ने लाग्यो। तेरा परिवर्तित व्यवहारले तैंले त तिमी पनि भन्न थालेको थिइस् मलाई। त्यो बेला भित्रभित्र ज्वालामुखी बिस्फोट भाथ्यो तर केही भनिनँ।
छोरो सहरिया भएर होलाजस्तो लाग्यो अनि म आफैंमा गुम्सिन लागें। तेरा बालाई त पहिल्यै लग्यो रोगले। सबैले भने होलान् तेरो आमालाई रोगले लग्यो ती सब बुद्धू छन् मलाई तेरै यादले लगेको हो छोरा जे होस मरेर भए पनि तँलाई देख्न पाए धन्य छु।
छोरा अब भन्नु केही छैन तँलाई मात्र सम्झाउन सक्छु। तर बिन्ती छ तेरा छोराछोरीलाई टाढा नपठाउनु जसरी मैले जग्गा बेचेर जापान पठाएँ र आज फलस्वरूप दस वर्षअघि नै मर्न आतुर भएँ।
छोरा भेट्ने हतारमा भोलि तेरी बुढीले नि दु:ख पाउँछे। त्यही भएर छोराछोरीलाई संस्कार सिकाउनु, आमाको मायाको महत्त्व सिकाउनु, बेलैबाट पछि ढिलो हुन्छ।
ल छोरा न्यानो माया सदैव छ। तेरी आमाको लेख्दा लेख्दै धेरै भयो कि क्या हो मरेसी नि के के भनी यो बुढीले नभनेस्। विचार गरेस्। जिन्दगीमा धेरै प्रगति गरेस्। अब त अरूका अगाडि तैंले मेरी आमा भन्दै लाज मान्नुपर्दैन।
अनि छोरा म जिउँदै हुँदा केही खाइनँ। खान पाइनँ ती चौरासी व्यन्जन अब मेरो नाममा व्यर्थ नफाल्नू। मैले खान पाउन्न अनि अनायसमै दान नदिनू अनि धेरै किरिया भनेर नबस्नू यो चिसोमा बाहिर नांगै।
तँलाई निमोनिया छ भन्नी कसैलाई थाहा छैन होला त्यहाँ पर्दैन अब तेह्र दिन बस्न म स्वर्ग आइसकें अब छिटो गरेर सहर जानू। यहाँको जग्गा जमिन सबै बेचेर हाँसी खुसी बाँच्नु है छोरा!
उहीँ तेरी असहाय दुखी बुढी आमा
-