चर्खामा मसिना रौंहरू जेलिए सरि जेलिइरहेको छ जीवन। बिहानको मिर्मिरेमा जागा भएको चेष्टा रातमा किराहरूको आवाज सुनेरमात्र घरको प्रवेशद्वारबाट भित्र छिर्छ। यो हरेका दिनको दैनिकी हो। यति नगरे उसको चुलोमा आगो बल्दैन। भाँडो बस्दैन। यो रितको अन्त्य हुँदैन। निरन्तर निरन्तर चलिरहेको छ।
खेल्नका लागि धेरै साथीहरू छन्। पढ्नका लागि किताबका ठेलीहरूको कमि छैन। तर गोधूलिदेखि झम्के साँझसम्म उसले कहिल्यै किताब समाउन पाएन। र त जहानले फ्लिम हेरेर राखेको टिकटलाई पनि महत्वपूर्ण कागज सम्झेर जतनले सिरानीमा राख्छ। कुनै बेला काम लाग्ला भन्ने सोचेर।
निष्पट्ट अँध्यारोमा रातजस्तै निदाउँछ। यतिबेला सिधैँ बिर्सने गर्छ म परिवारसँग छु। मेरो घरमा जहान र साना नानीहरू छन्। यति नगरोस् त बिहानको सूर्योदय पूर्व ऊ कसरी काममा जान सक्छ र? यसै कमजोरीको फाइदा उठाउँदै आफ्नै धन्दामा व्यस्त छे उसकी जहान।
जहान के गर्छे, कहाँ जान्छे, ऊ केही सोध्न चाहँदैन। घर फर्केपछि मिठो बोलेर पस्किदिएको भार खानु जीवनको जित हो उसका लागि। ऊ अतीतमा जान चाहँदैन। वर्तमानमा जे छ त्यसमै रमाउनुमा आफूलाई श्रेयस्कर ठान्छ।
फाटेको भोटोको गोजीमा अडिन्न रुपैयाँ पैसा। हुन त गोजीमा राख्नका लागि पैसा पनि हुनु पर्यो। पैसा नभए राख्नु पर्ने झन्झटै साफ, सायद यस्तै सोच्दो हो। र त दिनमा जति जम्मा भए पनि भोलि कमाउँला भन्ने भानमा जहानको हातमा हालिदिन्छ।
कहिल्यै भन्दैन नमिठो छ, जे छ कपाकप खान्छ। भन्दैन मेरो बिस्तरा मैलो भो, नयाँ फेरिदेऊ। सम्झन्छ म यहाँ बसेपछि त बिस्तरै नभए पनि निदाइहाल्छु। सायद गोजी फाटेकै कारण हुनुपर्छ सानो डोरीमा अड्याएर बाँधेको छ सोते। यो यसको साथी हो, दिनको एकान्ततामा। अनि न जतनले राख्छ आफ्नो मुटुको छेउमा राति पनि।
घरीघरी छामिरहन्छ भुइँमा झर्यो कि भनेर। तर सानो डोरीमा बाँधिएको त्यो सोते जीवनको अभिन्न अंग हो। अझ भनौँ त्यो नै जीवन हिँडाउने सारथी हो। यस्तो चिज वा वस्तुले उसलाई यति सजिलै कहाँ छोड्न सक्छ र? छाम्नु नपर्ने हो उसले पनि। विचराको योभन्दा नजिकको अर्को कोही छैन। सायद यसैले त प्रियाको झल्को मेटाउँदो हो।
यो सोते सल्केको समय आनन्दले तान्छ। त्यो बेला यति जोड लगाउँछ, सायद बम्ह्राण्डको सारा शक्ति खिचेर आफूभित्र लिन चाहन्छ। जीर्ण शरीरले त्यसको भार थाम्न सक्दैन भन्ने जानेर नै होला। ऊ विस्तारै आफूमा लिन हुन लागेको त्यो धुवाँलाई बाहिर छोडिदिन्छ।
जसले मेटाउँछ, मनको तलतल। छोप्न खोज्छ त्यो धुवाँमा सारा समस्याहरूलाई। तर ती किटिएर बसेका वर्षौं पुराना अवशेषलाई फाल्न सक्दैन। छोप्न सक्दैन। एकैछिन अलप हुन्छन् फेरि उसको शरीरमा आइहाल्छन्। जे गरे पनि नजाने भनेको उसको हातको ठेला मात्र हो। जुन झन्-झन् गाडिन्छ। अहिले त ठेला पनि उठ्दैन। उसलाई थाहा छ ढुंगोमा ढुंगो टाँसिन्न भन्ने कुरा।
कहिलेकाहीँ सोते बल्दैन। पानीमा भिजेको सोते बलोस पनि कसरी? हरेक कोसिस गर्छ, जहानलाई फकाएको जसरी तर आफ्नो अनुहार कहिल्यै हेर्न नमानेकी जहानलाई के गाली गर्नु भन्ने ठान्छ र सोतेलाई अँगेनको छेउमा सेकाउन थाल्छ। पक्कै सेकेपछि बल्छ भन्ने उसको आशा अझैँ जीवित छ। मनको अन्तर कुनामा जहानको मायाजस्तै।
रुखको डालीलाई थाहा छ उसले अन्दाजेर हानेपछि छिन्नुपर्छ। ढुङ्गालाई थाहा छ, उसले उचालेर राखेपछि मिल्नुपर्छ। पानीले नापिसकेको छ उसको आँकडा। र त ऊ हेलिएपछि शान्त बनिदिन्छ। भारी सजिलो भएर पिठ्यूँमा थपक्क बस्छ। उसले भनेको कुरा आजसम्म कसैले नमानेको छैन। तर घरकी त्यही एउटी आइमाईले हो उसको कुरामा ध्यान नदिएको।
कला नै नभएको हो भनौँ भने बहर गोरु मेलोमा सरासर जोतिन्छ। बाँसको घनाले डोको दिन्छ। फलामका औँजारहरूले जे भन्यो, जहाँ ताक्यो र जुन आकारमा भन्यो त्यही काम गर्छन्। तर घरको हाल उस्तै छ। ऊ यही कुराको तारतम्य बुझ्न खोजेको समय एक बीसबाट माथि भइसककेको छ।
ससुरालीमा साला-जेठान थिएनन्। सासूससुरा पहिल्यै बितेका थिए। परिवारकी कान्छी छोरी थिई उसकी जहान। ऊ कहिल्यै झगडा गर्न चाहँदैन थियो। एकदमै कम बोल्थ्यो। एकदिन अँध्यारोमा ओछ्यानमुनि भएको खुकुरीले खुट्टा काट्दा पनि अरुको निन्द्रा बिच्कन्छ भनेर 'हैट! खुट्टाले आँखा देखेन काट्यो कि क्या हो' मात्र भनेको थियो। उता जहानले थाहा पाइ कि क्या हो, मण्डीले छोपेको टाउको देखाएजस्तो ठानेको थियो। जूनको टहकमा त्यति राम्रोसँग त ठम्याउन सकेन।
सानो घरमा मालताल मिलाएर राख्नु पर्ने। त्यो गर्न नसक्दा चोट लागेको मनले ठान्यो। भोलि मिलाउँछु भन्यो र खुट्टा छाम्यो। चिसो पाएन। ओभानो भएकोमा खुसी भयो। धन्न काटेनछ। काँडा त बिझ्न छोडेको थियो। खुट्टा बलियो नै रहेछ। यस्तै सम्झियो।
मेरो हातले पहरालाई फोर्न सक्छ। खुट्टाले काँडा टेक्न सक्छ। हुँदाहुँदा आज खुट्टाले खुकुरी टेक्यो। मेरो त अहो! सबै कुरा बलियो छ। तर यो सम्बन्ध किन कमजोर भयो? एकछिन सोचमा डुब्यो। सोतेको आगोले कालो पारेजस्तै थियो खुट्टा पनि। सानत्वनाभन्दा ठूलो औषधि छैन। मनमा आफूमाथि कसैको कृपा छ भन्ने ठान्यो।
बाहिर हावा चलेको त थिएन। तर शरीरमा सिरेटोले हानेजस्तो काँडा उम्रिएको ठान्यो। दोलाइलाई अलि बेरर ओड्यो। सकेको च्याप्यो सायद चलमलाएको कारण चिसो भएको होला भन्ने ठान्यो। बिस्तारै निदाउने चेष्टा गर्दै थियो भालेले बिहानको संकेत गर्यो। परेवाका बचेराहरू पनि जुरमुराए। बाहिर कुकुर भुकेको आवाजले होला डोकोले छोपेको कुखुरा चल्मलायो। कुखुराको फटफटाहटले कुकुरको छाउरो तर्सेर आँगन तिर दौडियो।
जहान चेतना भएर पनि निर्जीवजस्तै थिई। उसले त्यसको कारण जान्न चाहेको भए पनि सकेको थिएन। एकपटक डाक्टरकोमा जाऊ भनेको थियो। जहानले पर्दैन भनेको सम्झियो। बाँकी कुरा ऊ केही जान्दैन।
कुन सालमा विवाह भएको हो, त्यो साल भुल्यो उसले तर याद छ त्यही वर्ष हो खोलो खेतको बाटो भएर बगेको। र, त्यही खोलो खेत बनाउँदादेखि हो उसको जहानसँग सम्बन्ध बिग्रेको पनि। मानजित काकाले कहिलेकाहीँ भन्थेँ, 'तिमी विवाह गर्दा उन्नाइस वर्षका थियौ। अहिले तिम्री छोरी बाइस वर्षकी भई।'
एउटी छोरी बाहेक उसका अरु सन्तान थिएनन्। त्यही भएर डाक्टरकोमा जान भनेको थियो।
छोरीको नाम सुनेर कतै टोलाएजस्तो गर्छ।
'अहिलेसम्म एक रात म जहानसँग सुतेको छैन, छोरी बाइस वर्षकी भइसकिछ। म कस्तो हुस्सु छु। सुत्केरी हुँदा घरको भाले सानो हुन्छ भनेर मानजित काकाले नै त एउटा छरिउम्रेको भाले दिएका थिए। पछि मैले बेँसीमा दुई मेलो काम गरेर छिनेको थिएँ। यो कुरा झण्डै भुलेछु।'
वर्षौंदेखि अल्झिएर बसेको मनको पर्दा यतिबेला खुल्ला भएको छ।