भर्खरै जीवन पन्नाहरू पल्टाउँदै
त्यो चिसो काया सुल्टाउँदै उल्टाउँदै
नचाइरहेछन् सूर्यका किरणले
मलाई चुम्बकका बल रेखाहरूले झैँ।
धवलागिरि हिमालमा उडेको त्यो हिउँको बाफ
सँगै मेरो जीवनमा मडारिएको ताप
हेर्दाहेर्दै उडिरहेछ
म मस्तसँग घाममा निदाइरहेछु।
पहेँला अनि रसिला सुन्तलाका डोकाहरू
सन्तुष्ट पारिरहेछन् ती किसानका भोका पेटहरू
म परिदृष्यको कब्जामा छु
प्रकृति मज्जामा छ।
पढ्ने निहुँमा क्यापस पुगेका तरुण तन्नेरीहरू
राजी खुसी रोजिरहेछन् ती सुन्दर चउरहरू
'ए कक्षामा आऊ' भन्दै मास्टर कराइरहेछन्
तरुण तन्नेरीहरू जवानीमा हराइरहेछन्।
बाका ती थाप्लाका पसिनाहरू
अनि फुलेको त्यो सेतो कपाल
सँगैको खाली तालु
तरुण तन्नेरीका घमाइला दिनमा बाँझो चउर झैँ बनिरहेछन् आलु।
कविहरू घमाइलामा मस्त छन्
रमाइलामा व्यस्त छन्
जवानीको जोशसँगै
अपहरित छन् त केवल उन्मत्त काम अनि बेहोसीको।
चउरमा बाच्छाहरू उफ्रेझैं
मञ्चमा वादविवाद उफ्रिँदा उफ्रिँदै
मेरो मन मस्तिष्कसम्म बाटो बिराइरहेछ
घमाइला दिनहरूमा मेरो जवानी यसलाई चिहाइरहेछ।
हिउँदे बजेट झैँ
बर्खे शैलीमा
मस्तसँग
म घमाइला दिनहरूमा भरिरहेछु जीवनरत्नका थैलाहरू।
मेरा जीवनका अनुभूतिका भकारीहरू
यत्रतत्र छरिरहेछन्
जीवनको खडेरीमा
नुतन पालुवाहरूको छाया बनेर।
सेकेन्ड, मिनेट, घण्टा हुँदै
हिँड्ने ती घडीका सुईहरू
एकअर्काको बुई चढिरहेछन्
घमाइला दिनहरूसँगै रोकिने आशमा मेरो जवानीसँग लडिरहेछन्।
वसन्तको पर्खाइ गर्दागर्दै
मस्तसँग बिताएको मेरो जीवन पखेरो
सँगैका ती समयका पाङग्राहरू झैं
मेरो घमाइलो जवानी अहिले जीवनऋतुहरूको अखेटोमा छ।
जे होस्, जस्तो होस्
मेरा घमाइला अनि रमाइला दिनहरू देखेर
रमाइरहेछ, मेरो प्रिय जोश।