लेख्न खोज्छु बाको बारेमा
गजल, कविता खै
किन फुरेनन्?
आमाको बारेमा फुरे
मायाको बारेमा धेरै फुरे
आँसुमा, हाँसोमा,
धोकामा, मिलनमा बिछोडमा
हर चिज, हर समय रातदिन
सपनी, बिपनी, आफ्नो बारेमा
पनि धेरै फुरे तर
किन फुरेनन् बाको बारेमा?
खै फुराउन नचाहेर हो कि
या शब्दै नभेटेर हो
या मेरा बा नै उस्तै भएर हो कि
मैले कोसिस नगरेर हो थाहै भएन
समयले कोल्टे फेर्दा
हर समय सोच्दा
मन दिक्क भैसक्यो
दिमाग आफैलाई भारी भैसके यो
तर किन फुरेन बाको बारेमा केही?
हर पल सन्तानको खुसी चाहने मान्छे
हर समय आफू मरेर
पनि सन्तानलाई खुसी दिने मान्छे उनी
न घाम भने न पानी
त्यो ठन्डा दिनमा
त्यो प्रचण्ड गर्मीमा पनि
गाउँघर, खेत खर्यान
भिरपाखा, गल्ली-गल्ली
सहर त कहिले मरभूमि
हर कोही हर समय आफैमा जलि
भित्र-भित्र कति मरेर
आफन्त र सन्तानको लागि केबल
सुख र अन्नको खोजिमा भौतारिए
हो उहीँ मेरै बा हुन्
तर बाको बारेमा
कहिले, कहीँकतै, किन केही फुरेन?
जब साँझ पर्छ, हजारौँ पीडाहरू भुली
आफ्नो बालबच्चाको ओठमा
खुसी ल्याउन सयौं कथाहरू भनी
आफ्नै सन्तानको मुखमा
खुसी देख्न चाहने महान व्यक्ति
हो, उनै बा हुन्
दिनभरिको थकान अनि त्यो भोको पेट लिई
जब खान बस्छन्
अनि छोराछोरीको याद आइ
तब आफू एक गाँस खाइ दुई गाँस
गोजीमा च्यापी लागिदिने
हो, उनै अन्नदाता बा हुन्
यति महान मान्छे भगवानभन्दा पनि ठूलो
उनी, खै! उहीँ बा बारेमा
कहिले किन नफुरेको गजल कविता?
बा आफैमा एउटा यस्तो शब्द छ
जो हर कोही मनन गर्दछ
र भोलिको बारेमा सोच्दछ हजारौँ
सपना देख्छ, मेरो बाले मलाई
यस्तो किन्दे हुन्थ्यो
उ ल्याइदिए हुन्थ्यो
आशहरू ताजै मनमा राखी
एक बालक त्यो जो आफ्नो बारेमा
सोच्दा सोच्दै अलि पछि
भविष्यको चिन्ता लिइ ठूलो बन्दै
परिवारको भार काधमा लिई
दुई/चार पैसा कमाउने आश बोकी
दुःख र मेहनत गर्दागर्दै
जीवनसाथीको चाहना राखी
सुखदुख सँगै काट्ने वाचासँगै
आउने सन्तानको भविष्यदेखि
हर समय मेहनत गरी
दुई/चार पैसाले जेब भरी
हजारौँ आश मनभित्र राखी
हो, निस्वार्थ माया मनमै राखी
आमा जत्तिकै माया गर्ने उनी नै बा हुन्
तर बाको लागि कहिले केही फुरेन किन?