अहिलेको हावा
श्वास फेर्न नसक्ने भयो
पानी पिउन नसक्ने भयो
मान्छेले मान्छेलाई देख्न नसक्ने भयो।
भोकले पेट पोल्न थालेको छ
आँसुले आँखा छाडेका छन्
हाँस्ने दाँतहरू पनि लुकेका छन्
कलेटी परेका छन् ओठहरू
चिसोले टोक्छ, तातोले पिल्साउँछ
तर पनि म जाने छैन
यो माटो छोडेर
यो बाटो छोडेर।
यहाँ
सिद्धान्त छ, व्यवहार छैन
काम छ, कर्तव्य छैन
हेराइ छ, दृष्टि छैन
चाहना छ, रहर छैन
माया छ, प्रेम छैन
धर्म छ, धार्मिकता छैन
महल छ, घर छैन
फूल छ, सुगन्ध छैन
खोला छ, पानी छैन
तन छ, मन छैन
हात छ, साथ छैन
टुप्पो छ, फेद छैन
अन्त्य छ, थालनी छैन
छ र छैनको द्वन्द छ, शान्ति छैन
र पनि
म जाने छैन
यो माटो छोडेर
यो बाटो छोडेर।
कोही मान्छेहरू
दिएर खान्छन्
कोही खाएर दिन्छन्
कोही केबल खान्छन्
माटो खान्छन्
अस्पताल खान्छन्
आफ्नै इमान खान्छन्
खान्छन्, सबै खान्छन्
कुन दिन मान्छे खान्छन्
र पनि
म जाने छैन
यो माटो छाडेर
यो बाटो छोडेर।
चिलजस्तै मान्छेहरू
छेपाराजस्तै मान्छेहरू
सर्पजस्तै मान्छेहरू
ब्वाँसाजस्ता मान्छेहरू
सबैले सबैलाई उल्लु बनाउँछन्।
कोट फुकालेर दिनेहरू पनि छन् यहाँ
चोट दिनेहरू पनि छन्
दिनरात तिनीहरूलाई
हेरेरे, सहेर पनि
म जाने छैन
यो माटो छोडेर
यो बाटो छोडेर
म कदापि जाने छैन।