माफ गर्नुहोला, तपाईंले खोजिरहनु भएको व्यक्ति अहिले व्यस्त छु
म यस आधुनिक कालको, सर्वगुणी, सर्वज्ञानी प्राणी हुँ र म यसैमा मस्त छु
किनकि मैले आफूले गर्नुपर्ने कार्यबाहेक बाँकी सबै जानेको छु
म आफू जे हुँ, त्यो बाहेक बाँकी सबै आफू हुँ भन्ने ठानेको छु।
म तपाईंको गाउँठाउँ या सहर, सबैतिर भेटिन्छु
मेरो नाम, ठेगाना, विचार अनि विशेष परिचय छैन
तर यसो भन्दै गर्दा सर्वत्र छरिएर बसेको म र
मजस्ता अन्य बन्धुको अस्तित्व नभएको भने हैन
किनकि मैले आफूले गर्नुपर्ने कार्य बाहेक बाँकी सबै जानेको छु
म आफू जे हुँ, त्यो बाहेक बाँकी सबै आफू हुँ भन्ने ठानेको छु।
आश्चर्य नमान्नुहोला म यो समाजको उमेर हद नलाग्ने एक सदाबहार युवा हुँ
म एकै ठाउँमा, सधैँ एउटै धारणामा अटल नभई सदा चलायमान हुने वायु हुँ
किनकि मैले आफूले गर्नुपर्ने कार्य बाहेक बाँकी सबै जानेको छु
म आफू जे हुँ, त्यो बाहेक बाँकी सबै आफू हुँ भन्ने ठानेको छु।
म सबै ज्ञान हासिल गरिसके झैं गरी गुरुलाई नै पढाएर
फर्किन्छु भन्ने दम्भ देखाउने, वर्तमान समयको महान चेला हुँ
नितान्त शैक्षिक क्षेत्र नै विद्रोह र आन्दोलनको निशाना बनाउने
म क्रान्तिकारी विद्यार्थी हूँ
किनकि मैले आफूले गर्नुपर्ने कार्य बाहेक बाँकी सबै जानेको छु
म आफू जे हुँ, त्यो बाहेक बाँकी सबै आफू हुँ भन्ने ठानेको छु।
म नवीन समाज निर्माणमा लागेको व्यक्ति, नयाँ विचार,
नयाँ सोच र नयाँ जागरण हैन, 'नयाँ' त केवल शब्द मात्र राखेको छु
जो जे छन् दा र बा को कृपाले भएका हुन् भन्ने म तिनै कुराले
सिँचित भएकाले होला विस्तारै आफू पनि उही लयमा लागेको छु
किनकि मैले आफूले गर्नुपर्ने कार्य बाहेक बाँकी सबै जानेको छु
म आफू जे हुँ, त्यो बाहेक बाँकी सबै आफू हुँ भन्ने ठानेको छु।
इमान्दारी र कर्तव्यनिष्ठ भन्ने शब्द मेरा सामुन्ने उच्चारण नगर्दिनू
मेरो रक्तचाप बढ्न सक्छ
अकस्मात् बिरामी परेको खबर मेरो कार्यस्थलमा अनि
मेरो शरीर कुनै संस्था विशेषको जमघटमा पुग्न सक्छ
किनकि मैले आफूले गर्नुपर्ने कार्य बाहेक बाँकी सबै जानेको छु
म आफू जे हुँ, त्यो बाहेक बाँकी सबै आफू हुँ भन्ने ठानेको छु।
मातृभूमि बारे सगर्व चर्चा गर्ने म, खेतीका कुरा हैन
कुराको खेती ज्यादा गर्छु
वीरबलको खिचडी झैं गरी राजधानीमा आगो बालेर
गाउँको घरमा कसौडी तातिन्छ कि झैं गर्छु
किनकि मैले आफूले गर्नुपर्ने कार्य बाहेक बाँकी सबै जानेको छु
म आफू जे हुँ त्यो बाहेक बाँकी सबै आफू हुँ भन्ने ठानेको छु।
धम्क्याएर, बाटो बन्द गरेर मैले शैक्षिक प्रमाणपत्र हासिल गर्छु
प्रतिस्पर्धा हैन राजनीतिक दलको टीका लगाई चाहेको ओहोदामा बस्छु
आफूलाई स्वतन्त्र बताउँदै हिजोको भन्दा अलिकति थप न्यानो पाउने
झिनो आशमा आज अर्को झण्डाको खोलमुनि पस्छु
किनकि मैले आफूले गर्नुपर्ने कार्य बाहेक बाँकी सबै जानेको छु
म आफू जे हुँ त्यो बाहेक बाँकी सबै आफू हुँ भन्ने ठानेको छु।
म अवसरवादी हुँ, मेरा वास्तविक मित्र अनि
आफन्तको हुन् भन्ने कुरा म जान्दिनँ
हजुर मेरो हितको काम र मेरो स्तुति गर्न सक्नुहुन्छ भने
हजुर जत्तिको आफन्ती म अरूलाई मान्दिनँ
किनकि मैले आफूले गर्नुपर्ने कार्य बाहेक बाँकी सबै जानेको छु
म आफू जे हुँ त्यो बाहेक बाँकी सबै आफू हुँ भन्ने ठानेको छु।
आजको मितिसम्म आफूले के-कस्ता कार्य गरें
भन्ने लेखाजोखा त राख्दैन
नाम एक काम र रूप अनेक भएको यो समयले जन्माएको व्यक्ति हुँ
व्यस्तताका बीच आफूलाई केलाउन र गल्ती सच्याउन भ्याउँदैन