कविता
तिमीले माया भनी पुकार्दा,
'हजुर' भन्ने मेरा यी ओठ,
खै कसरी तिम्रा ती ओठमा कसरी सल्बलाए,
तिमीलाई पहिलो पटक भेट्दा उत्पन्न भएका डर,
प्रेमील भावमा परिवर्तन भयो!
मलाई थाहा छ, ती डर, मात्र डर थिएन,
नितान्त एक प्रेम थियो,
एक भग्नावशेषको भाग, जहाँ सोच थियो,
यस्तै भेट सदा सदा भइरहने छ त?
तिमीले झ्याप्प ब्रेक लगाउँदा, च्याप्प तिम्रा पाखुरामा,
म औंलाका कोषहरू सल्बलाउथे,
हरेक ठाउँको त्यो भीड जाम छिचोल्दा,
मेरो दाइने कानमा, तिम्राे ओठको तापले, माया भनी बोलाउँदा,
मैले मस्तिष्कमा तिम्रो लागि मायाका विभिन्न भावनाहरू खलबलाउथे!
मलाई थाहा छ, तिम्रो ओठको त्यो ताप,
मात्र ताप थिएन, नितान्त एक साथ थियो,
जुन साथको हात म सदा आफ्नो गन्तव्यमा चाल्न सक्थे।
तिमीले मेरो केश सुम्सुमाउँदै दुई हत्केलाका बीचमा, मेरो शिर सजाउँदा,
म समग्र सुखको अनुभूति गर्न सक्थे,
जहाँ तिम्रो र मेरो मिलनको गोरेटोलाई म अँगाल्न सक्थें,
चरम खुसीको भागलाई संगालेर, दुःखका सितकाराहरू पोख्थें!
मलाई थाहा छ, केश सुम्सुमाउँदाको त्यो स्पर्श मात्र स्पर्श थिएन,
नितान्त एक भाव थियो,
जुन भावमा प्रत्यक्ष मेरा लागि मायाका फोहोराहरू फहरिन्थे।
तिमीले अंगालेर मलाई, आफ्नो छातीमा टाँस्दा,
अप्रत्यक्ष गाँसिएका हरेक डोरहरू प्रत्यक्ष साक्षी हुन्थे,
कहीँकतै छटपटिएका अलग भावनाहरू पनि मजबुत एक साइनो बुन्थे!
अनुभूतिको त्यो आनन्दको स्पर्श गाँसिएको त्यो सम्झना,
मात्र सम्झना थिएन,
नितान्त एक प्रेम थियो,
जुन प्रेम म तिमीसँगै हुर्काउन, बढाउन र सजाउन चाहन्छु।