टेलिफोनको घण्टी बज्यो। मनले फोन उठाइन्।
फोनमा सीमाले भनिरहेकी थिई। 'मन, मेरो साथी रूस्तमले यो पटकको प्रेम दिवसमा तिमीलाई भेटेर रातो गुलाब उपहार दिन्छु भन्दैथ्यो। के स्वीकार गर्छ्यौ?'
मनले सहजै अस्वीकार गर्दै भनी। 'अहँ मलाई कसैको उपहार चाहिन्नँ। म यत्तिकै ठीक छु।'
सीमाले फेरि कुरा कोट्ट्याउँदै भनी।
'कस्तो कुरा गर्छ्यौ मन? के भो र? ऊ पनि राम्रो, पढेलेखेको केटो छ। उसमा के कमी छ र?'
मनले फेरि जवाफ दिई।
'प्रेम दिवसकै दिन गुलाब दिएर र प्रेम प्रस्ताव राखेर मात्र प्रेम सफल अनि दीर्घकालीन हुन्छ र? अनि केटो राम्रो र पढे लेखेको भनेर मात्र कहाँ हुन्छ र? मान्छेको मन सफा र सोच निष्कलंक हुनुपर्छ।'
'लौ! तिमीले किन यस्तो कुरा गर्दैछौ मन? मैले केही बुझ्न सकिरा'छैन। मैले त दुई जनाको जोडी र व्यवहारिकता सब मिल्छ भनेर पो भनेकी त! तिम्रो इच्छाको कुरा हो। तर तिमीले अब भने आफ्नो वैवाहिक जीवन र आफ्नो आधारको बारेमा सोच्ने बेला पनि आएको जस्तो लागेर मैले यो प्रस्ताव सुनाएकी हुँ।'
मनले जवाफमा भनी।
'सीमा मलाई प्रेम दिवस र यस्तो उपहारको विश्वास नै लाग्दैन।'
सीमाले प्रश्न गरी।
'किन? यो आधुनिक जमाना हो साथी। यो समयमा पनि तिमी उही पुरानो समयकै सोच पालेर बस्छौ भने त मेरो के लाग्छ र?'
सीमाको वाक्यलाई व्यंग्यात्मक तरिकाले जवाफ दिँदै मनले भनी।
'सीमा, म आधुनिक जमानाकै भए पनि कतिपय कुराहरू पौराणिकलाई नै मान्यता दिन्छु। यदि मैले पहिला नै पुराना कुरामाथि विश्वास गरेकी भए यतिखेर म विवाहित भएर पनि आमा बनिसकेकी हुन्थें सायद, तर म पनि आधुनिक जमानाकी युवती बन्ने हुँदा यसरी नै प्रेम दिवसको बहानामा गुलाबको फूल दिनेको सिकार बन्ने थिइनँ हुँला।'
मनको कुराले विह्वल बन्दै सीमाले प्रश्न गरी।
'मन कसले तिमीलाई त्यस्तो धोका दियो? मलाई थाहा थिएन। माफ गर मन। तर मलाई भन त त्यो धोकेबाजको नाम?'
मनले जवाफमा भनी।
'म त्यो नाम लिन सक्षम छैन सीमा। तिमी अचम्मित र निरश बन्नेछौ। यदि मैले त्यो नाम लिएँ भने।'
सीमाको मनमा चिसो पस्यो र सीमाले मनको मुखबाट त्यो नाम खुस्काउने प्रयत्न गर्दै थिई। ठ्याक्कै उसको अघि आफ्नो श्रीमान कौशल आइपुगे। सीमाले हत्तपत्त फोन राखेर असमन्जसमा पर्दै सोच्न थाली। 'आखिर को होला त्यो मान्छे? जसले मनलाई यस्तो निष्ठुरी बनायो?'भनेर।
सीमाको श्रीमानले प्रश्न गरे, 'कोसँग कुरा गरेकी उदास मुहार लाएर?'
'ए मेरी नयाँ साथी मनसँग कुरा गरेकी नि! उसलाई रूस्तमले प्रेम दिवसको दिन भेटेर प्रेम प्रस्ताव राख्ने कुरा गर्दैथियो। त्यही खबर भनेकी त! मनले सहजै अस्वीकार गर्दै भनिन्। 'मलाई प्रेम दिवस र गुलाब भनेपछि त्यसै घृणा लाग्छ। मसँग त्यस्तो कुरा नगर' भनी। खै! कसले उसलाई यही दिनमा प्रेम प्रस्ताव राखेर धोका दियो रे।'
सीमाको कुरा सुनेर श्रीमानको मुहारमा अन्धकार छायो। ऊ हत्तारमा अर्को कोठातिर लाग्यो।