‘ए ए हेर हेर, लौ न नि धन्न गाडीले कुल्चेको… अहो! बिचरा आँखा नदेख्ने पो रै’छ। हैन घरका मान्छे पनि कस्ता हुन्, यस्तो
मान्छेलाई पनि एक्लै छाडिदिने? अनि आफू पनि आँखा नदेख्ने भएपछि खुरूक्क घरमा बस्नु नि…!’
मलाई भने झनक्क रिस उठ्यो।
आफ्नो भने गाडीको चक्कामुनि परेर झन्नै ज्यान गएको। भएको ह्वाइटकेन पनि पुरै बाङ्गो पारिदिएछ। अब बाटो पो कसरी काट्ने। सामान पनि सबै भुइँमा खसे। यीनीहरुलाई अरुको कुरा काट्नुभन्दा बरू खसेको सामान उठाएर दिनु नि। यस्तो सोच्दै सडकबीच ठिङ्ग उभिएँ।
अचानक कसैले मेरो हातमा झरेको पर्स, पैसा, कार्ड चक्लेट लिपिस्टिक र गाजल दिँदै थियो।
‘अनि मेरो फोन?’
हातमा फोन पनि पर्यो। ला.. तर यो त बिग्रिएछ। कस्तो फसाद। फोन पनि छैन। ह्वाइटकेन पनि बाङ्गियो। अब कसरी जाने होला? बाटो मलाई थाहा नभएको होइन। बाटोको सम्पूर्ण नक्सा मेरो दिमागमै हुन्छ। तर ह्वाइटकेनले बाटोमा भएका पोल, खाल्डा खुल्डी, कुकुर, गाडी र मान्छेसँग जोगिएर हिँड्न सजिलो हुन्थ्यो।
आरएनएसीबाट शहिदगेट जान अलिक गाह्रो लाग्छ मलाई। कति भीड हुन्छ त्यो काठमाडौं मल अगाडि। यात्रु, बाटो पसले के के हो, के के। मन नलागी नलागी बाटो काट्न थालेँ। कोही एक जनाले च्याप्प मेरो हात समाएर मसँगै हिँड्यो।
भन्न त मन थियो- ‘सुन्नुस् न मेरो स्टिक नि बाङ्गियो। मलाई शहिद गेटसम्म पुर्याइदिनुहुन्छ?'
तर ऊ मसँग केही बोलेकै थिएन। त्यसैले जान्ने भएर मलाई केही बोल्नै मन लागेन।
जेहोस् बाटो काटेर मलाई अगाडि बढ्नु थियो। डर त थियो कसरी जाने तै पनि हिँड्न खोज्दै थिएँ तर उसले मेरो हात छाडेन। अब भने मलाई पक्का भयो सायद उसले मलाई केही परसम्म पुर्याइदिन्छ होला। तर ऊ किन बोलिरहेको थिएन त्यसमा भने मेरो खासै ध्यान गएन। किन भने योभन्दा पहिले पनि धेरै व्यक्तिले मलाई चुपचाप सहयोग गर्थे र जान्थे। सहयोगको लागि धन्यवाद दिँदा पनि उनीहरुको कुनै जवाफ नआएको अनुभव छ। जेहोस् उसको हात समाएर खुरुखुरु हिँडेँ म। सुन्धाराको आकाशेपुल चढेँ र झर्नासाथ बल्खु कीर्तिपुरको गाडी चढेँ। त्यसपछि भनेँ, ‘थ्याङ्क्यू।’
ऊ बाट पनि कुनै प्रतिक्रिया आएन। ह्या होस् गाडी चढिहालेँ अब त घर पुगिहाल्छु नि।
घरमा आएर खाना बनाइवरी एकछिन ल्यापटमा फेसबुक खोलेँ। लगातार नोटिफिकेसनको घण्टीले म दङ्ग परेँ। हैन भरखरै मैले त कुनै फोटो या स्ट्याटस केही राखेकी छैन यति धेरै नोटिफिकेसन!
हतार हतार नोटिफिकेस हेर्न थालेँ। अचम्म! सबै नोटिफिकेशन एउटै व्यक्तिको नामबाट।
स्वप्नील लाइक्स योर फोटो
स्वप्नील लाइक्स योर भिडियो
स्वप्नील लाइक्स योर पोष्ट
होइन यो मान्छे को हो?
सायद कतै अनलाइन् पोर्टलमा प्रकाशित मेरो फिचर देखेर पो मलाई फेसबुकमा खोजेको हो कि भन्दै फ्रेण्ड रिक्वेस्टमा पुगेँ।
स्वप्नील। उसको नामसँगै पुगेँ उसको प्रोफाइलमा। र एउटा भनार्इ जुन उसले लेखेको थियो। त्यसले मलाई मीठोसँग छोयो।
लेखिएको थियो,
‘If you love someone without any selfishness, if you don't expect anything for this person this is called unconditional love.’
एक्जाट्ली हिजो आज म पनि यस्तै माया खोजिरहेकी थिएँ। त्यसैले यताउता केही नसोची उसको फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गरिदएँ। तुरून्तै मेसेज आयो,
‘तपाइँ राम्रोसँग घर पुग्नुभयो?’
लौ म घर पुगेको कुरा उसलाई कसरी थाहा भो? होइन उसले मलाई बाटोमा देखेको छ कि के हो?
‘हजुर पुगेँ,’ मैले जवाफ दिएँ।
तपाईँको फोन पनि बिग्रियो र स्टीक पनि बाङ्गियो कसरी जानुभयो होला मलाई त खुब चिन्ता लागिरहेको थियो। साँच्ची तपाइँ कहाँ बस्नु हुन्छ?
‘म यतै बस्छु, कुमारी क्लव।’
मलाई भने अचम्म लाग्यो। के त्यो त्यही व्यक्ति थियो जसले मलाई गाडीसम्म पुराइ नबोली गएको। उसको हात समात्ने क्रममा छोइएका घडी र औंठी निकै ब्राण्डेड प्रतित हुन्थे। र जीवनमा पहिलो पटक कुनै पुरूषले लगाएको पर्फ्यूमबाट म आकर्षित भएकी थिएँ।
‘उसोभए तपाईँले नै हो मलाई शहिदगेटसम्म पुर्याउनु भएको?’
‘हजुर हो।’
‘धन्यवाद है। मैले खुशी हुँदै भने।’
‘त्यसो नभन्नुस् न है बरू मलाई तपाइँसँग भेट्दा खुब खुशी लाग्यो’
‘अनि साँच्ची तपाईँले मलाई फेसबुकमा कसरी भेट्नु भो?’ सोधिहालेँ। बोलक्कड जो छु।
‘तपाईँको सामान दिने बेला तपाईँको कार्डमा नाम देखेँ इमेल सबै देखे नि त्यसैबाट सर्च गरेँ नरिसाउनुस् है मलाई तपाइँ धेरै राम्रो लाग्यो'
कुनै केटाले एउटी आँखा नदेख्ने केटीलाई सहयोग गर्यो र उसलाई म राम्री पनि लाग्यो रे। यो त मेरो लागि खुशीकै कुरा हो नि।
'थ्याङ्क्यू सो मच' भन्दै लजाएको इमोजी पनि पठाएँ।
दिनहरू बित्दै गए। हाम्रो संवाद पनि बाक्लिदै गयो। कुनै दिन उसबाट गुड मर्निङ् र गुड नाइटको म्यासेज नआउँदा खल्लो लाग्न थाल्यो। कहिले नराम्रो कुरा गर्दैनथ्यो। मलाई अचम्म लाग्थ्यो ऊ कस्तो होला। उसको आवाज एकपटक सुन्न पाए पनि हुन्थ्यो नि।
भेट्ने मन नभएको पनि हैन। तर आफैंले भने कहिल्यै प्रस्ताव गरिनँ। एकदिन बिहानै उसले मलाई मेसेज गर्यो, ‘तपाईँसँग समय छ?’
म अलि जिस्कने मुडमा थिएँ।
भनेँ, ‘अहँ त्यो त अस्ति न हराइसक्यो बरू तपाइँसँग छ भने अलिकति सापटी दिनुहोस् न,’ मैले जिब्रो टोकेको इमोजीसहित सेण्ड गरेँ।
उसले मज्जा सँग 'LOL' पठायो र भन्यो,
‘सापटी त दिन्छु तर मेरो ब्याज भने अलि महङ्गो पर्छ।’
'ए भइहाल्छ नि बरू भन्नुस् मेरो समय किन सोध्नुभएको?'
'यदि मिल्छ भने …'
'अँ मिल्छ भने के त?'
'मलाई…' ऊ अकमकियो
'भन्नु न…किन रोकिनुभएको?'
'मलाई तपाइँसँग कफी पिउन मन छ…'
'कफी नै पिउनुपर्ने? खरू खान अलाउड छैन?' म फेरि जिस्किएँ।
'यू आर सो स्वीट' उताबाट मेसज आयो। प्रतिक्रियामा एउटा स्माइली सेण्ड गरिदिएँ।
'आज ठिक एघार बजे रेडि भएर बस्नुस् है म लिन आउँछु'
'हस्'
'अँ साँच्ची लोकेशन पठाइदिनुहोस् है' दङ्ग परेँ म। अब बल्ल उसँग बोल्न पाइने भो।
म एघार बज्नासाथ कुमारी क्लव आएकी थिएँ। ऊ भने अगाडि नै आइसकेको रहेछ। मेरो हात समात्यो र गाडीभित्र लग्यो। गाडी ऊ आफै हाँक्दै थियो। खुशी थिएँ म। तर निर्णय गरेकी थिएँ उसले केही नबोल्दासम्म म पनि केही बोल्दिनँ। पन्ध्र बीस मिनटको ड्राइभपछि दरवारमार्गको कुनै स्तरीय क्याफेमा पुग्यौँ। यतिबेलासम्म पनि ऊ केही बोलिरहेको थिएन।
'एक्सक्यूज मी म्याडम तपाईँको तातोपानी' भन्दै वेटर आइपुग्यो। त्यसको केही बेरमै बिना अर्डर मलाई मनपर्ने हट एण्ड सावर भेज सुप, ग्रीन सलाद, पनीर चिल्ली मःमः र क्यापीचिनो उही वेटरले टेबुलमा राखिदियो। म आश्चर्यमा परेँ, उसले कसरी थाहा पायो मेरो च्वाइसको कुरा। एकाएक ऊप्रति माया जाग्यो। त्यति नै बेला मेरो फोनमा एउटा म्यासेज आयो, 'आर यू इन्ज्वइङ?’ कस्तो रीस उठ्दो म सँगै हुँदा पनि मेसेज लेख्ने?
त्यसैले उसलाई देखाउँदै मेसेज लेखेँ- 'नो आइ एम नट…बोल्दा पनि पैसा पर्छ कि के हो' अनुहार बिगारेँ।
फेरि उसको अर्को मेसेज आयो। जसले मलाई तलदेखि माथिसम्म हल्लायो।
एक मनले त सोचेँ यी सब खानेकुरा छाडेर हिँडिदिउँ। फेरि अर्को मनले उसको मायालाई स्वीकार गरिसकेको थियो। आज आएर बुझेँ शर्त बिनाको मायाको परिभाषा जहाँ माया गर्न मन भए मात्र पुग्छ। एकाएक मेरो टाउको उसको छाँतिमा अडाएँ र बरर्र आँसु खस्यो।
उसको त्यो मेसेज थियो,
‘सरी डियर आइ एम डेफ आइ कान्ट टक बट आइ लभ यू अ लट’