आऊ तिमी र म मिली एउटा कागजकाे घर बनाऔं।
इँटकाे धुलाे कुटी राताे दाल बनाऔं।
झारपात फाडी साग, अनि बालुवाकाे भात पकाऔं।
पथ्थरकाे थालहरूमा लहरै पस्किऊँ,
मुख मिठ्याउँदै खाऔं।
झूटकै भए पनि म खेत जाेत्न भनी हिँड्छु।
तिमी मकै भटास भुटी खाजा लिई आउनु।
पिराे गुन्द्रुककाे अचार पनि ल्याउनु।
पछ्याैराकाे छेउमा पसिना पुछ्दै।
अम्खराबाट झरिरहेकाे काल्पनिक पानीले हात धाेए जस्ताे गरी।
भिजेकाे हत्केला त्यही पछ्याैरीमा पुछी।
मीठाे मान्दै,
म काल्पनिक मकै भटास अनि गुन्द्रुककाे अचार खान्छु।
तिमी छेउमा बसी म तिर फर्की हावा हम्कनु।
आऊ तिमी र म मिली काठका झिक्राहरू जडित एउटा सुन्दर गाेठ बनाऔं।
परालको छाना छाऔं।
थरि थरिका ढुङ्गाहरूलाई थरि थरिका नाम दिई,
तारे, माले, झाले गाई वस्तु पालाैं।
त्यहाँ केही गाईले भर्खर पाएकाे बाछा-बाछी पनि हुनेछन्।
म आँखा मिचे जस्तै गरी झूटकाे सबेरै उठ्नेछु।
झूटकाे बाल्टीमा गाईकाे दूध दुन बस्नेछु।
तिमी छेउमै बसी मलाई सहयाेग गरे जस्ताे गर्नु।
म बाल्टीकाे दूध केही आफैंलाई राखेजस्ताे गरी बाँकी बजार लाने छु।
तिमी खाना पकाई मलाई कुरी बस्नु।
आऊ तिमी र म मिली एउटा संसार बनाऔं।
झूटकै भए पनि एउटा परिवार बनाऔं।