कविता
दिऊँ के दिऊँ, लेखूँ के लेखूँ
दिनलाई तिमी नजिक छैनौ
लेख्नलाई तिमी मात्र
तिमी छौ मन मस्तिष्कमा
निकालेर मन भित्रको
तिम्रो चित्र लेख्न
मनै छैन
किनकि
तिमीलाई मन मै
सजाउँदा मेरो मनलाई
आनन्द मिल्छ।
त्यसैले
शब्दहरूकै यी हारहरूलाई
प्रेममय बहार सम्झेर
स्वीकार गर ल
प्रणय दिवसको शुभकामना।
तिम्रा हातहरू समाएर
पाइलाहरूको ताल मिलाएर
स्वच्छन्दताको आकाशमा
कावा खाँदै
एक अर्कामा विलिन
भएको कल्पना नै
यति मीठो हुन्छ भने
म कल्पना मा नै रमाउँछु
सपनामा नै हराउँछु
के थाहा
बिउँझिँदा तिमी हुन्छौ
या हुन्नौ
बरू यसो गरौं
विपनामा हामी
सँगै नहुँदा सम्मलाई
सपनाकै संसारलाई
सु सज्जित पार्दै
प्रणय दिवस मनाउने
प्रण गरौं
प्रणय दिवसको शुभकामना।
भेट्दा छुटिने त्रास भन्दा
नभेट्दा भेटिने आश
नै मीठो
मोबाइल कै स्क्रिनबाट
निस्किएर
तिमीले गर्ने स्पर्शको
आभास
अझै मीठो
त्यसैले
तिमी सधैं आउनु
त्यही जहाँ
आउँदा तिमीलाई
कुनै पर्खाल नाघ्न
पर्दैन
हामी प्रणय दिवस
त्यहीँ मनाउला
सपनामा
फेरि पनि प्रणय दिवसको शुभकामना
तिमीलाई।