मनले देखेर कि मष्तिस्क निस्कृय बनाएर
कतै लुकेर कि टाढाको कौसीमा उभिएर
मलाई सुन्दै छौ नि
फुङ्वा चाङ्वा गरेर आएको छु
माङ्गेना गरेर तिमि तिरै धाएको छु
तिमी रमाउँदा
यता मुरिङ्ला थेरिङ्ला गाउँमा
भर्भराउदो हुँदैछ सेक्मुरीहरू
मुर्झाउदै छन् बाबरीहरु
मलाई सुन्दै छौ नि
फुङ्वा चाङ्वा गरेर आएको छु
माङ्गेना गरेर तिमि तिरै धाएको छु
लाग्छ तिमि यतै कतै
तमोर काभेलीको दोभानमा
पालाम गाउदै पर्खिरहेछौ
अरूलाई होइन मलाई नै
मलाई सुन्दै छौ नि
फुङ्वा चाङ्वा गरेर आएको छु
माङ्गेना गरेर तिमि तिरै धाएको छु
लजाएर कि पच्छ्यौरीले आधा मुहार छोपेर
मलाई नियाल्दै छौ नि
पक्कै पनि
मेरो लागि बनेर सेप्माङ सुन्दरी
विसाएर ज्यान ढुङ्गे चौतारीमा
औलाले दुवो कोट्याउदै छौ
नचाउदै परेली
मलाई सुन्दै छौ नि
फुङ्वा चाङ्वा गरेर आएको छु
माङ्गेना गरेर तिमि तिरै धाएको छु
छुटिएको आठबाटो मध्ये
एउटा प्रेमको बाटो समाएर
तिमी म तिरै आउदै छौ नि
जुन बाटोमा तिम्रा पाइलाहरु नविजाओस भनेर
औच्छ्याएर सेक्मुरी र अम्लारीका फूलपातीले
स्वागतमार्ग बनाएको थिएँ
मलाई सुन्दै छौ नि
फुङ्वा चाङ्वा गरेर आएको छु
माङ्गेना गरेर तिमी तिरै धाएको छु
ए मिम्जीमाए
लाली ओंठ चुम्न दिन्छौ होला
ए चुल्ठो भित्र लुक्न दिन्छौ होला
ए मिम्जीमाए
चोलीको तुना खुस्काए छौ
ए तानैको गुन्यू फुस्काए छौ
ए मिम्जीमाए
माङ्गेना शिरै उठ्यो है
ए सेक्मुरी फुलै जाग्यो है
ए मिम्जीमाए
मिम्जिनु मिम्जी मिसाऔं पो
ए जिन्दगी सेसे विताऔं पो
...........................
०७८ माघ
धरान–१५, फुलबारीमार्ग
केही शव्दका भावानुवाद
मिम्जिमाए– मायालु
मुरिङ्ला थेरिङ्ला– ताप्लेजुङमा पर्ने मुन्धुमी स्थल/गाउं
फुङ्वा चाङ्मा÷ माङ्गेना– शिर उठाउनी
सेप्माङ– स्वप्न
सेक्मुरी– मुन्धुमअनुसार जिवनको प्रतिक फूल
अम्लारी– मुन्धुमअनुसार प्रेमको प्रतिक सुनाखरी फूल