‘ल है के छ खबर? अब कहिल्यै तिमी भन्छौ कि भन्दैनौ।’ ‘के छ केटी फिल्म हेर्न कहिले जाने?’ नसुनेको पनि कयौ वर्ष भयो।
थाहा छैन यी हरफ तिम्रा लागि कोरिएका अन्तिम हरफ बन्ने छन् वा छैनन्।
तिमी छैनौ भन्दा छौ, छौ भन्दा छैनौको भ्रममा मैले तिमीलाई यतिका वर्ष लिएँ। यदाकदा लाग्छ मैले भेटेका अधिकांश असल पुरूष तिम्रै केही अंश हुन्। दुखेसो नभएको त होइन दुखेसोभन्दा पर केही तिम्रा लागि बाँकी छ भने अब स्नेह मात्र बाँकी छ।
तिमी किरण नभएर कीरा जस्ता छौ भनेर मैले नभनेको पनि होइन।
तिमीले हाँसीहाँसी स्वीकारेका पनि हौ। रिसाएको बेला तिमीलाई अंहमवादी पुरूष हौ भनेको पनि हो। तिमीलाई नकार्न नसकी अलिअलि हुँला भनेका पनि हौं। यदाकदा गाली पनि गरेँ होला। रिसाएझैं गरी मन चोर्न खोजेकै हो। तर तिम्रो मन चोर्न नसकेको पनि हो। तिमीले साथीले पनि मन चोर्ने हो त? मन पो मिलाइदिने हो भनेका पनि हौ।
तिमी साथी हौ कि प्रेमी हौ भनेर बुझ्न गुगलमा प्रेमीले देखाउने व्यवहारबारे खोजेको अवश्य हो। त्यसपछि तिमीले पनि मलाई प्रेम गर्ने रैछौ ठानेर मनमनै गदगद भएकी पनि हुँ।
तिमीले यदाकदा पठाएका म्यासेजलाई पटकपटक पढेकी पनि हुँ। तिमीले कहिलेकाहीँ केही भन्दै छु भन्दा खुसीमा आफैं एक्लै रमाउँदै हिँडेकी पनि हुँ। साथीहरूले तिम्रो नाम लिँदा आफ्नै नाम लिएझैं एकाग्र भएर सुनेकी पनि हुँ। यी सबसब गरेकी हुँ।
‘तिमी किरण र म कविता’ एक अर्काको नामलाई जोडेर हेरेकी पनि हुँ।
यी सब गर्दा जे महसुस गरेँ त्यो तिम्रो कारणले गरें।
वर्षौवर्षको प्रेमको भ्रम सुन्दर नै थियो। त्यो प्रेम थियो वा थिएन त्यो म जान्दिनँ तर प्रेमको भ्रम अवश्य थियो।
तिम्रो लागि म को थिएँ मैले कहिल्यै बुझिनँ। कहिलेकाहीँ सबै खोतल्थ्यौं आफ्नो भडास र एकाएक पर पुग्थ्यौं। परको क्षितिजले झैं वरको संसारलाई फेरि फर्केर हेर्थ्यौं वा हेर्दैनथ्यौं मलाई थाहा छैन।
कहिलेकाहीँ साँझपख आउने पाहुनाझैं मेरा जीवनका अनेकौं मोडहरूमा तिमी फर्केका पनि हौ। तर तिमीले मलाई देखाउने स्नेहलाई प्रेमको ढोका ठानेर मभित्र पसेकीे पनि हुँ। र अन्त्यमा तिम्रो साथित्वलाई साथित्व नै ठान्नुपर्छ भनेर आफ्नै बाटो फर्केकी पनि हुँ।
साथित्वले कस्तो स्नेहको माग गर्छ मैले नबुझेकी पनि हुँ। एक साथी गुमाउने डरले तिम्रो अस्वीकारोक्तिलाई ठिकै हो भनेकी पनि हुँ र भित्रभित्रै दुखी भएकी पनि हुँ। दुखी हुँदाहुँदै नभएझैं देखाएकी पनि हुँ र तिमीले त्यसलाई एक साथित्वको स्नेहको रूप ठानेर सदाझैं ‘के छ केटी ?’ भनेका पनि हौ।
मेरो लागि तिमी त्यो खुला बाटो थियौ तिम्रो उपस्थितिले मेरो आफ्नो यात्रा कहिल्यै साँघुरो लागेन। तिमीले साथीमात्र ठान्यौ मैले साथीभन्दा माथि बुझेँ। बुझाइका दूरीहरूले साँच्चिकै दूरीहरू बनाए। यी यात्राका दूरी थिए। तिमी तिम्रै यात्राको मालिक थियौ म आफ्नै यात्राको। र हामीले आफ्नै यात्रा गर्यौं।
कहिलेकाहीँ लाग्छ तिमीलाई साथीमात्र हौं भन्दिऊँ। यदाकदा प्रयास गरेकी पनि हुँ। नसकेकी पनि हुँ। साथीमात्र बुझ्दा सजिलो थियो। मसँग आशाहरू कम थिए। तिमीलाई बोलाउन सजिलो थियो। तिमीले मलाई ‘के छ केटी’ भन्न पनि सजिलो, सम्बन्धको रफ्तार आफ्नै लयमा थियो।
तिमीसँग पहिलेझैं नबोलेको वर्षौं भएछ।
यदाकदा लाग्छ मन खोलेर बोलिदिऊँ। मन खोलेर प्रेम गर्छु भनिदिऊँ। मन खोलेर प्रेम गर्नेसँग पर जानु हुँदैन भनिदिऊँ। किरण अब सबै बिर्सिएर साथीमात्र भैदिऊँ भनिदिऊँ। हुन त तिम्रा लागि म साथीमात्र थिएँ। मेरा लागि तिमी केही अरू बन्यौ। दुई केटाकेटी साथीमात्र हुनसक्छन् नबुझेको होइन तर किनकिन तिमीलाई साथीमात्र मान्न नसकेको अवश्य हो।
आज मसँग तिमीजस्तै लाग्ने लोग्ने जातिका साथीहरू प्रशस्तै छन् र पनि तिनलाई प्रेम गर्छु भन्न सक्दिनँ साथीमात्र मानी दिन तयार छु। तर तिम्रा लागि साथीमात्र हौं भन्न सकिनँ र सक्दिनँ पनि।
तिमीले ‘साथीमात्र हौं’ भन्दा हुन्छ भनिरहन पनि सकिनँ।
कहिलेकाहीँ लाग्छ म स्वार्थी भएँ, आफ्नै अनुकूलको प्रेम स्नेह खोजेँ, दु:ख मानेँ,पर भागेँ।
तिम्रा लागि म स्वार्थी भएँ हुँला, मेरा लागि तिमी कठोर भयौ होला। तर दुबैले साथी हुनुको स्नेहलाई छोड्न पर्दैनथ्यो, त्यो हामी दुबैले गर्यौं। म पर भागेँ, तिमी वर कहिल्यै आएनौ।
कहिलेकाहीँ , ‘के छ केटी’ भन्छौ कि भन्ने आश आवश्य थियो तर अब बिस्तारै कम हुँदै छ।
‘तिमी ठिकै त छौ नि किरु’ भनेर बोलाउन मन नलागेको पनि होइन तर नसकेको पक्कै हो।
पहिले तिमीसँग दुखेसो थियो। अचेल आफैंसँग छ। यदाकदा लाग्छ प्रेमको फराकिलो क्यानभासलाई मैले साँघुराएर सम्बन्धको कसिलो बन्धनले बाँध्न खोजेँ। बन्धनमा प्रेम खोज्नु कति सही, कति गलत मैले बुझ्न सकिनँ। सायद कहिल्यै सक्दिनँ पनि। तर तिमीसँग फेरि भेट्ने चाहना नभएको अवश्य होइन।
तिमीलाई पहिलेझैं ‘ए किरु’ भन्न आज पनि चाहन्छु।
आजकल लाग्छ नदीको किनाराझैं तिमी एक किनारा थियौ, म अर्को किनारा। दुई किनाराको यात्रा मिलनको यात्रा होइन सहअस्तित्वको यात्रा मात्र हो। तर अब सम्बन्धको त्यो किनारा पनि फेरिएको छ। चाहेर पनि अब तिमीलाई भेट्ने छैन र भेटेर पनि पहिलेझैं बोलाउन सक्ने छैन।
वर्षौंवर्ष दोबाटोमा हिँडेँ लाग्यो तिमी हिँडेको बाटो पनि मेरो आफ्नै हो। आजकल गारेटोमा हिँड्दै छु तर कहिलेकाहीँ दोबाटोले पनि झक्झक्याउँदो रहेछ। तिम्रो लागि त्यो फराकिलो साथित्वको यात्रा थियो मेरो लागि प्रेमको एक कठिन यात्रा।
रोज्नुपर्ने मूलबाटो छोडेर अँध्यारो गोरेटो रोज्नु साथित्वलाई प्रेम मान्नु रहेछ आजकल बुझ्दैछु।
तिमीबाट टाढा भएपछि जीवनमा कोही नभेटिएका कोही नआएका पनि होइनन्। साथीहरू पनि आए प्रेम गर्छु भन्नेहरू र नभनिकन स्नेह देखाउनेहरू पनि आए। तर तिमीजस्तो, ‘ए केटी के छ खबर’ भन्नेहरू, तिमी कीरा हौ भन्दा नरिसाउनेहरू, प्रेम गर्छु भन्दा साथीमात्र मान भन्नेहरू कहिल्यै आएनन्।
प्रेमको सप्ताह चल्दैछ। प्रेमको नाममा, सम्बन्धको नाममा बोल्नेहरू धेरै छन्। जे पर्ला, पर्ला ठानेर मैले पनि आज बोलिदिएँ।
यो तिम्रो र मेरो कथा भए पनि यो मेरो भर्सनको हाम्रो कथा हो। यो प्रेम कथा होइन।
यो साथित्वभन्दा माथि उठ्न नसकेको एक अड्मिल्दो अकथा हो र यो प्रेमजस्तो लाग्ने तर प्रेमको भूगोललाई न छुन सकेको न पर भाग्न सकेको एक अमूर्त अकथा हो।