कविता
छन् तर छैनन् पनि
छ त बा-आमाका निम्ति छोरा
हुर्काउने रहर छ
छैन त केवल सन्तान बिर्सी आफ्नो
स्वार्थ पूरा गर्ने रहर,
थिए र थिएनन् पनि
आफ्ना गनिएकाहरू वचनको
धार बोकेका।
छ र औधी छ
आमाको ममता
बुवाको त्याग
समाजको आलोचना
र यसरी नै हुर्किंदै छ
कतै अलिक डगमगाउँदा पाइलाहरू
त कतै अलिक सम्हालिँदै छ
एक नाबालक छोरा
आमाको काखदेखि बुवाको काँधसम्मको
आकाश हेर्दै रमाउँदै।
छन् छन् त तर लुकेका छन्
केही चप्पलको मुनि
केही आँखाभित्र पानी बनि
केही हलो, कोदालीसँगै
बा'का फाटेका पैताला,
आमाका नबुझिएका पीडाहरू।
केही खास छ र पो आश छ
जिन्दगी जिउनुको,
र छुट्टै मज्जा छ त्यो त्यागसँगै
एक सर्को दु:ख पिउनुको।
अडिएको छ एक मसिनो धागोमा
झुन्डिएको तरबारझैं
र पो प्रयास चलिरहेछ हरेक दिन
हरेक रात आजभन्दा अलिक थोरै बाँच्ने,
खेल्दै छन् बा-आमा एक-आपसमा
गज्जबको खेल
गन्दैनन् सन्तानका निम्ति कसले कति त्याग्ने।