काव्य विधाको लघुत्तम रूप हो मुक्तक। अण्डमा ब्रह्माण्ड अटाउनुपर्ने कठिन लेखन हो ‘मुक्तक लेखन’। नेपाली मुक्तक लेखनको इतिहास खोतल्दा संस्कृतका चतुष्पदी, नेपाली लोक पद्य, स्वतन्त्र गद्य र भीमदर्शन रोक्कासँगै भित्रिएको रुबाई शैलीका विभिन्न पदचाप पछ्याउँदै नेपाली मुक्तक लेखन अगाडि बढ्दै आएको पाइन्छ।
वर्तमानमा भने रुबाई शैलीलाई केन्द्रमा राखेर नेपाली मुक्तक लेखन अगाडि बढ्दै आएको पाइन्छ। लघुत्तम प्रस्तुति हुने हुँदा मुक्तक पाठकमाझ लोकप्रिय पनि बन्दै गएको छ।
हालै पोखरेली स्रष्टा दीपक समीप नयाँ मुक्तक सङ्ग्रह ‘अक्षर अक्षरमा देश’ लिएर आएका छन्। बी.एन. पुस्तक संसारले प्रकाशन गरेको सङ्ग्रहमा १०१ मुक्तक समेटिएका छन्। राजनीतिक विकृति, सामाजिक विसङ्गति, प्रेम, मानवता, मानवीय अस्तित्व एवम् विद्रोह यसका मुख्य विषय हुन्। यसका अलावा वैदेशिक रोजगार, न्यायिक भ्रष्टाचार र शान्तिलाई पनि विषयगत रूपमा कृतिमा अटाइएको छ।
देश र देशको राजनीतिक स्थितिबाट निकै निराश बनेका जनताको आवाज मुक्तककारले मुक्तकमा बुलन्द पारेका छन्। विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भएर जनताले देश परिवर्तन हुने अपेक्षा गरेको तर अपेक्षित परिवर्तन नआएको, जनताको जीवनस्तर थप कष्टकर बन्दै जाँदा जनतामा निराशा छाएको विषयलाई कुशल मुक्तकीय कालिगढीसहित मुक्तककारले सङ्ग्रहमा प्रस्तुत गरेका छन्। देशप्रेम पखालिएको मुटु र स्वाभिमान भत्किएको शिर लिएर सत्ताको सिंहासनमा आसन जमाउनेहरूले देशमा चटक मात्रै देखाएको भन्दै उनी यसरी व्यङ्ग्य प्रहार गर्छन्ः
इतिहास रगतले पोतियो वर्तमानमा झन् तारे भिर छ
देश बिग्रियो भन्ने पक्कै तपाईँको मनमा पनि पिर छ
चटकेहरू यो देशमा बारम्बार चटक देखाउन मस्त छन्
हेर्र्नुस् देश चलाउने नेताको न मुटु छ न त शिर छ। (पृ. ३४)
सत्ता र सडक दुवै कब्जा गर्दै अतिराजनीतिकरणको नाङ्गो नाच नाचेर बाह्रमासे गाईजात्रा प्रदर्शन गर्ने नेतृत्वप्रति तीव्र आक्रोश प्रकट गर्छन् लेखक। नेतृत्वले खेलेको फोहोरी खेलको मतियार बनेर राजनीतिक दलका कार्यकर्ताको हैसियतबाट माथि उठ्न नसकेको भन्दै आम जनतालाई सचेत रहन यसरी आग्रह गरेका छन्ः
हामीले आफन्तबाहेक अरूलाई गन्न सकेनौँ
कालोलाई कालो सेतोलाई सेतो भन्न सकेनौँ
आºनो कमजोरी आफैँलाई थाहा नहुने हामी
पार्टीका कार्यकर्ता बन्यौँ नागरिक बन्न सकेनौँ। (पृ.७९)
देशमा मौलाएको दण्डहीनताका कारण समाजमा बढ्दै गएको आपराधिक मनोवृत्तिले छोरीहरूको जीवन असुरक्षित हुँदा अभिभावकहरू छोरीको सहज जन्मका लागि तयार रहन नसकेको त्रसित मनोविज्ञान मुक्तकमा प्रस्तुत गरेका छन्।
सरकारको न विश्वास छ न कुनै आश छ
लाग्छ यहाँ बस्तीभरि अपराधीको बास छ
सुरक्षा भगवान् भरोसा भएको यो देशमा
अब त छोरी जन्माउन पनि बडो त्रास छ। (पृ. १८)
मानवीय प्रेमका अनुभूतिलाई निकै बिम्बात्मक तरिकाले अनुभवका स्तरमा पुर्याएर प्रस्तुत गर्न सक्नु मुक्तककारको अर्को सशक्त पक्ष हो। उनले प्रेमको सुरुआती चरणका काउकुती, प्रेममा चुर्लुम्म डुब्दाको समर्पण भाव, बिछोडिँदाका याद र बिछोडपश्चात् पनि बाँकी रहने प्रेमको शाश्वत पक्ष समेटेर मुक्तकलाई सशक्त प्रेम पढाउन मिल्ने पाठ्यसामग्रीका स्तरमा पु¥याएका छन्। प्रेमिल मुक्तकमै मुक्तककार प्रेममा प्राप्तिको चाहना स्वाभाविक हुने तर समर्पण र त्यागमा मात्र प्रेमको वास्तविक सुगन्ध प्राप्त हुने निष्कर्ष प्रस्तुत गर्छन्।
गरिरहन्छौ घरी सर्माएजस्तो घरी नजर जुधाएजस्तो
दौडिरहेको छ यो मन पनि बेतोडले घोडा कुदाएजस्तो
स्वयं चाँदनी ओर्लिएर मेरासामु मुसुक्क के मुस्कुराइन्
त्यो बेला मेरो हाल भयो अचानोमा मुटु टुक्र्याएजस्तो। (पृ.५९)
बैँस त यस्तो होस् फूलले तिमीसँग सापट मागोस्
पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्
छौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्
सोचेँ मैले पनि सोच्न हुने नहुने लागे बरु पापै लागोस्। (पृ.७)
समग्रमा मुक्तककारका रूपमा दीपक समीप मुक्तकमा हुनुपर्ने लघुतम काव्यिक धर्म पूराका पूरा बुझेका एक सचेत मुक्तककार हुन्। मुक्तकका विभिन्न स्वरूप र शैलीमध्ये मानक स्वरूप मानिएको तथा अत्यधिक लेखिँदै आएको रुबाई शैलीका सफल प्रयोक्ताका रूपमा मुक्तककार उपस्थित छन्।
समीपले रुबाई शैलीका पङ्क्तिबीचको समन्वय र भावसघनता प्रस्तुत गर्ने कौशल सङ्ग्रहभित्रका मुक्तकमा प्रस्तुत गरेका छन्। विशेषतः तेस्रो र चौथो पङ्क्तिका बीचमा अर्थपूर्ण समन्वय गर्दैै चौथो पङ्क्तिद्वारा मारक प्रहार गर्ने कलामा उनको मुक्तककारिता अब्बल दर्जाको छ। यस सङ्ग्रहका मुक्तकमा अनुप्रासयोजना अर्थात् तुकको सचेततापूर्वक स्वाभाविक प्रयोग गरिएको छ। मुक्तककारले प्रत्येक पङ्क्तिमा अक्षरसङ्ख्या संयोजन एवम् त्यसको उच्चारण्मा ध्यान दिएका छन्। मानवीय अस्तित्वको निरन्तर खोजी गर्ने अस्तित्ववादी जीवनदृष्टि उनका मुक्तकहरूमा प्रकट भएको छ। व्यङ्ग्यचेत यस सङ्ग्रहभित्रका मुक्तकको अर्को सशक्त पक्ष हो। समग्र विकृतिमाथि व्यङ्ग्य प्रहार गर्न उनी कत्ति पनि हिच्किचाएका छैनन्।
समग्र सङ्ग्रहमा मुक्तककार समग्रमा कर्मवादी देखिन्छन् तर ईश्वरको पुकारा गर्न पनि चुक्दैनन् र आफूभित्रको आस्तिक चिन्तन प्रस्तुत गर्छन्। मानवताभन्दा ठुलो अर्को ईश्वरीय तŒव छैन भन्नेमा मुक्तककार दृढ छन्। उनको मानवतावादी दृष्टिकोण मुक्तकमा यसरी प्रकटीकरण भएको छः
झण्डै मुर्छित भइनँ म राहतको लामो लाम देखेर
निकै अत्यास लागेको छ अस्ताउँदो घाम देखेर
मन्दिरमा प्रवेश निषेध छ हामी भोका नाङ्गालाई
भक्कानो छुट्छ मूर्तिलाई चढाएको सर्दाम देखेर। (पृ.५२)
दीपक समीप शब्दलालित्यमा निकै सजग मुक्तककार हुन्। उनको कुशल शब्दशिल्पी कतिपय मुक्तकमा शब्दका जादूगरका रूपमा उपस्थित छ। मुक्तकमा उच्च लयचेत प्रस्तुत भएको छ। उखानटुक्काको सफल र बेजोड प्रयोग गरिएको छ। प्रतीकको प्रयोगबाट बिम्बात्मक भाषाको निर्माण गर्नसक्ने सामथ्र्य मुक्तककारमा छ। उनको यही सामथ्र्यले काव्यको लघुत्तम विधाको जटिल बुनोटलाई समेत उनी सहज र सरल तरिकाबाट सम्पन्न गर्छन्। यही क्षमताका जगमा टेकेर उनी वैचिœय निर्माण गर्छन्। उनको यो कलात्मक विशिष्टताले उनलाई सफल मुक्तककारका रूपमा दह्रोसँग स्थापित गराएको छ।
यात्रा निकै दूरदेखि थियो तर खुट्टाहरू थाकेनन्
मनका रहरहरू मनमै बसे मनबाट कतै भागेनन्
मसँग माग्नेहरूलाई मैले सधैँ निस्फिक्री दिइरहेँ
माग्नेले पनि परिचयभन्दा अरू केही मागेनन्। (पृ.३०)
विषयलाई भावका केन्द्रमा राख्ने मुक्तककार हुन् समीप। भावका जगमा संरचनाको स्तम्भ खडा गर्दै मुक्तकको बनोटभन्दा बुनोटमा केन्द्रित हुन्छन्। रुबाई शैलीको चारतले मुक्तकीय घरमा सुन्दर शैली पस्केर सौन्दर्य निर्माण गर्छन्। भाव र संरचनाको गठजोडमा मुक्तककारले प्रस्तुत गरेको कुशल कालिगढी वास्तवमै तारिफयोग्य छ। निकै कम मुक्तककारले मात्रै आफूलाई यो तहको मुक्तककारिता प्रदर्शन गर्न सफल तुल्याउँछन्।
मुक्तककार तेस्रो पङ्क्तिको कुतूहलता र चौथो पङ्क्तिको मारक क्षमतामा बढी ध्यान दिँदा यदाकदा मुक्तकीय खँदिलोपनमा चिप्लिन पुगेका पनि छन्। एउटा गोजीमा मकै र अर्को गोजीमा मट्याङ्ग्रा हालेर सिकार गर्न हिँडेको सिकारी मट्याङ्ग्रा सम्झेर मकैका फुला गुलेलीमा हालेर निशाना सोझ्याउँदा जसरी रित्तै फर्कनुपर्छ केही मुक्तकमा मुक्तककारको हालत पनि त्यस्तै भएको छ। चौथो पङ्क्तिको सशक्तताले उनको यस प्रकारको कमजोरी सामान्य पाठकले मेसो नपाउने गरी ढाकेको चाहिँ छ। काव्यिक बुनोटमा चौथो पङ्क्तिको सशक्ततातिर केन्द्रित हुँदा मुक्तकको समग्रता कमजोर हुन गई मुक्तककारको सशक्त मुक्तककारिता केही मात्रामा धर्मराउन पुगेको छ।
अर्को कुरा सङ्ग्रहका अधिकांश मुक्तक समता, समानता एवम् समावेशी आवाजका पक्षमा लेख्ने मुक्तककारले केही मुक्तकमा संघीयताका कारण पिछडिएका वर्गका मानिस संसद्भवन प्रवेश गरेकोप्रति उपहास गर्छन्। यो स्तरको उपहास गरिएका एकादुई मुक्तक सशक्त हुँदाहुँदै पनि यस सङ्ग्रहमा सुन्दर युवतीको कोमल अनुहारमा डन्डीफोर आएझैँ प्रतीत हुन्छ। यस्ता मुक्तकलाई यस सङ्ग्रहमा स्थान नदिएका भए सङ्ग्रह साँच्चिकै छापावाला सुन बन्नेमा दुई मत छैन।
म हलो जोतिरहेको थिएँ हलो जुवा खोलेर गोरु धपाए
अर्को दिन आमसभा छ भनी यो हातको कोदालो समाए
यसले बोल्न जानेन केही गर्न सकेन भन्छन् मेरो के दोष
म घाँस काटिरहेको थिएँ लगे अनि एक्कासि सांसद बनाए। (पृ.१०५)