कविता
प्रिय युवा साथी,
अथाह सम्भावनाको
अनगिन्ती खानीहरूमाथि बसेर
कति लाग्ने परदेशिने
एकोहोरो सुँगा रटानमा
आफ्नै पौरखी पूर्खा
र मौलिकताको गौरवपूर्ण इतिहास बिर्सेर
आफ्नै आँखाले
दिउँसै देखेको
आफ्नै भूमिको
समृद्धिको सपना कुल्चेर
कति सुन्ने कति सुनाउने
हरेक दिन
विरानो देशमा
नभोगिएका
रंगीन भविष्यमा कल्पनाहरू
प्रकृतिले सिर्जिएको रसिलो
वीरताको पौरखी मूल खाबोले अड्याएको
अर्गानिक क्यानभासमा
र प्रविधि मिश्रित सिर्जनाका
सम्भावित सुन्दर चित्र कोर्न ठिक्क पारिएका
रङ र कुचीहरूलाई लत्याएर
कति भौंतारिने
गिदी नै हल्लिने गरी
हरिया पासपोर्ट बोकेर
भोलिको
झिलीमिली खुसी सजाउने अभिलाशामा
बेरसिला, स्वादहीन मरूभूमितिर
आफ्नोपन
आफ्नो मन
आफ्नो धन
आफ्ना जन
सबै छोडेर
कहाँ जाने हामी?
जबरजस्ती अर्काको दासता स्वीकारेर
कहाँ पुग्छौं हामी?
भो, भयो
छाडिदिऊँ अब
लहैलहैमा
पिछलग्गु भएर बरालिन
ऊर्जाशील स्वर्णीम समयका
प्रत्येक पलहरूले
हामीलाई गिज्याइरहेका छन्।
कलकल बगेका बेवारिसे खोल्साहरूले
लहलह मौलाएका छरपस्ट घाँसका बुट्यानहरूले
ब्वा ब्वा कराइरहेका भोका गोपी गाईका बथानहरूले
चरचरी चिरिएका टारी खेतका बाँझा गराहरूले
हामीलाई नै बोलाइरहेको छ।
जन्मिएका, नजन्मिएका भावी पुस्ताहरूले
नलेखिएका पछिका सुनौला समृद्धिका इतिहासहरूले
तीव्र गतिमा दौडिएका विकासका कथाहरूले
र भोग्न बाँकी आउँदा सुन्दर क्षणहरूले
हामीलाई नै सम्झिरहेको छ,
कतै कल्पनामा आज
र भोलिका हजारौं वर्षहरूसम्म
सम्झिएको हुनेछ।
त्यसैले,
प्रिय युवा साथी
लौन अब त
जागौं–उठौं–लागौं
सुन्दरताको हाम्रो आफ्नै परिभाषा बनाऊँ
साना–साना असल कर्मका रैथाने दृष्टान्तहरू संगालेर
समृद्धिको हाम्रो आफ्नै अनुपम किताबहरू लेखाऊँ
जहाँ,
हाम्रा करेसाबारीहरूमा लहलह परिश्रमको पाठ होस्
र विस्तारै विस्तारै
फिरंगीको त्यो दूर देशका
कलिला नानीहरूको ओठमा पनि
फैलिएको हाम्रै ढुंग्राको स्वाद होस्
प्रिय युवा साथी,
हाम्रो पाखुरीमा दम छ
हामीमा के कम छ?
धन्यवाद !