हो म एउटा पुरूष,
तर, पुरूष हुनुमा गर्व गर्दिनँ म,
र खुसी पनि छैन।
किनकी,
केही पुरूषले पुरूषको इज्जत,
अनि अस्तित्व नै माटोमा मिसाएका छन्।
कहिल्यै नमेटिने कालो दाग लाएका छन्।
र सोच्न बाध्य पारेका छन्।
कि म किन पुरूष भएर जन्मे!
मलाई लाग्छ हुन त यहाँ,
यस्तो सोच आउने म मात्रै होइन होला,
म जस्तै, थुप्रै पुरूषको आउँछ होला,
यस्तै सोच,
नआओस् पनि त कसरी?
जो बिना कारण,
अरूकै कारणले घृणित हुनु परेको छ।
अपराधीको उपमा भिर्नु परेको छ।
र स्वार्थी पुरूषको नामले चिनिनु परेको छ।
भने यस्तो सोच त आउँछ नै, होइन र?
तर यो सोचलाई परिवर्तन गरेर,
पुरूष शत्रु होइन सहयात्री हो।
पुरूष अपराधी होइन सज्जन हो।
पुरूषलाई घृणा होइन सम्मान दिनुपर्छ,
भनेर सोच्ने दिन,
जब सम्म आउँदैन,
तब सम्म म गर्व गर्दैन पुरूष हुनुमा,
र म खुसी पनि हुँदैन।
कामना गरूँ त्यो दिन छिट्टै आओस्।
ताकी म आफूलाई पुरूष हुनुमा गर्व गर्न सकूँ,
खुसी हुन सकूँ,
समाजमा ठाडो शिर पारेर हिँड्न सकूँ।