कविता
वसन्तको बतासमा, दुर्गन्ध छ सुवासमा
प्रभातकाे प्रतापमा, रोष छ प्रकाशमा
वर्षातमा बलेंसीमा, बग्दछ आँसु प्रलापमा
बाँझो छन् खेत स्वदेशमा, मन अमिलो प्रवासमा ।।
भोकको आलोकमा, विलोप छ सम्वेदना
शोकको सन्तापमा, कठोर छन् विवेचना
रातमा मसानमा पो, झंकार छ आकाशमा
श्वास छ यहाँ लासमा, जीवन पो अभिशाप छ।।
प्रभावको प्रबन्धमा, जित लज्जित छन् स्याबासमा
उन्मादको प्रहसनमा, मन खण्डित छन् उल्लासमा
प्रेमका प्रतिज्ञामा, प्रतारणा छ विश्वासमा
चित्कार छ चारैतिर, विक्षिप्तता नि:श्वासमा।।
ज्वार छ जो हृदयमा, विद्रोह ब्रह्माण्डमा
दारुणय स्वयं देवता छन्, मनुष्यको चपेटामा
अवस्था यो व्यवस्था यो, बद्लिन्छ कि कसैगरी
तेज मिल्छ क्षितिजमा, उदाउने शर्त सहित।।
रातमा मसानमा, झंकार छ आकाशमा
श्वास छ यहाँ लासमा, जीवन पो अभिशाप छ
प्रभातका बतासमा, दुर्गन्ध छन् विश्वासमा
चित्कार छन् चारैतिर, विक्षिप्तता नि:श्वासमा।।