कविता
हामीलाई लाग्छ,
फूल कति सजिलै फुल्ने गर्दछ !
बिना कुनै आवाज, चुपचाप।
के हामी एक पल बाँच्न सक्छौं?
हामी लाई लाग्छ,
दुबो लाई मौलाउन कति सजिलो छ!
के हामी पैताला अनि बुटले बारम्बार कुल्चिइन सक्छौं?
हामी लाई लाग्छ,
चराहरूलाई चिरबिर गर्न कति सजिलो छ?
तिर गुलेलीको कुनै डर बिना।
के हामी भित्र को आवाज त्यस्तै निर्धक्क बोल्न सक्छौं?
हामी लाई लाग्छ,
झरनाको बहाव कति सहज छ!
न लड्ने डर छ, न भुइँमा छताछुल्ल हुने त्रास !
के हामी त्यसैगरी बहन सक्छौं?
हामी लाई लाग्छ,
साँझ पर्नु कति सहज छ!
न ढल्ने डर, न अन्धकारको डर।
के हामी मृत्यु देखि निर्भय छौं?
हामी लाई लाग्छ,
हावा चल्न कति सजिलो छ!
न कुनै थकाइ छ, न त कहिल्यै रोकावट।
के हाम्रो धैर्यता र लगन त्यस लायक छ?
प्रत्येक क्षण,
प्रकृतिले हामीलाई सहज हुन सिकाउँछ।
प्रकृतिको अनुसरण गरौं!
जीवन सुखै सुख छ!!!