कविता
रछ्यान बाट उठ्न सुत्नु पर्छ
ओछ्यान बाट उठ्न सुत्नु पर्छ
सुर पानले लठ्ठिएका गफिँदै छन् निन्द्रामै
कलावती लाई ओस्कार दिन पर्छ
तर्क गजब छ जस्को जीवनमा अभिनय मात्रै छ
सुतेदेखि सुत्नु अनि सुतिदिनु सम्मै अभिनय छ
उनको कला ले घर सुतेको छ,परिवार सुतेको छ
हो समाज सुतेको छ, बजार सुतेको छ
लरखरिँदै थिङ्राउँदै शरीर,यताउता घुमाउँदै आँखा
हिक्क हिक्क गर्दै बडो पीडामा ऊ भन्छ
पर्दामा घन्टा को अभिनय लाई होइन
आफ्नो जीवन नै अभिनय बनाएकी
कलावती लाई ओस्कार दिलाउन, फेरि हिक्क
अब सुत्नु पर्छ
भर्खरै उदाउन लागेको को घाम लाई घुर्क्याउन सुत्नु पर्छ
लामै लाइन छ लिने हरूको तिनलाई मनाउन सुत्नु पर्छ
अहो उदाइसक्यो घाम अब सुत्नु पर्छ!
अब सुत्न पर्छ
दिनभर संसारको
लन्दोफन्दोमा अल्मलिएँ
लिने लिने हरूको कुचक्र मा अल्झिएँ
दिने दिने नशा अनायास बल्झिएपछि
झल्यास्स तिम्रो याद आउँदा
छाती ढक्क फुल्छ
बाँकी नै छ हर स्वासको मोल तिर्न तिमीलाई
सापटी नै लिएर भए पनि हावा हेर्न तिमीलाई
हो अब सुत्नु पर्छ
सुत्नै नै त छ यो धर्ती मा जगाउँदा नजागे पछि
कोही माटोमा सुत्छन् कोही पानीमा
कोही हावामा सुत्छन् कोही आगोमा
सुत्नु अघिको निद्रा आउँछ होला याद त्यति बेला पनि
निदाउँदा निदाउँदा सुत्न जागेको म भन्छु
अब सुत्नु पर्छ!
अब सुत्नु पर्छ
तिम्रो पर्खाइमा हेर्दाहेर्दै थाकेका
आँखा लोलाउन
तिम्रो कल्पनामा कता कता हराएको
मनलाई भुलाउन
तिम्रो आगमनमा शरीरमा उम्रेको काडा
त्यो नशा नै काफी छ संसार भुलाउन
कहिले हँसाउन कहिले रूवाउन
तिम्रो नै चरणमा अब सधैं हराउन
अब सुत्नु पर्छ
निदाउनु अघि आउँदैनौ तिमी
निदाए पछि आउँदैनौ तिमी
बीचको ढोका मा कुर्नु पर्छ मैले तिमीलाई
सुन्दैछु आवाज बोलाएको तिमीले गफिन तिमीसँग
अब सुत्नु पर्छ
अब सुत्नु पर्छ
दिनभरका कर्मलाई
स्मरण गरी हिसाब लेखाउन तयार म
यसो तिमीतिर फर्कन्छु
तिमी औलो ठड्याउँछौ म तिर
थाहा छ हिसाब गडबड छ
गुनगुनाउँदै कोल्टे फेर्छु म, तिमी छौ नि
मेरो खातामा बरू एकै पटक तिमी नै लेखन
हो त्यही लेखन तिमी आऊ लेखेर जाऊ
बरू सपनी मै आऊ
अब सुत्नपर्छ
भोलि सुत्न आज सुत्नु पर्छ
नसुती हुन्छ को जागा
त्यो चोट दिएर जगाएको तिमीले
चोट नै खान फेरि सुत्नु पर्छ
अब सुत्नु पर्छ