उसले पटक-पटक कोसिस गरिरह्यो त्यो काठको फ्ल्याकले टम्म मिलाएर ठडिएको घरको पछाडिपट्टिको केही अग्लो बेरा पार गरी घरभित्र आउन।
उसले हातमाथि उठाउँदा बल्लतल्ल बेराको टुप्पो भेट्दथ्यो। अनि पूरा शरीरलाई माथि उचालेर बेराको टुप्पामा शरीर झण्डै झण्डै बिसाएर पुर्लुक्क पार गरेर घरभित्र पस्ने कोसिस गर्थ्यो। तर ऊ सफल हुँदैनथ्यो र उसको शरीरलाई लाचार भई बाहिरै तल झार्न बाध्य हुन्थ्यो।
उसले बेरा पार गरेर घरभित्रको ब्याकयार्डमा पस्ने असफल प्रयास निकै पटक गरी नै रह्यो।
मैले के भएको? के भएको? भनेर मेलोमेसो पाउन सकिरहेको थिइनँ। त्यसपछि म झल्यास्स बिउँझिएँ। यो त सपना पो रहेछ!
मैले छक्क परेर कोठाको चारैतिर नजर दौडाएँ। झ्यालको पर्दा पन्छाएर घर पछाडिको काठको बेरा हेरेँ। त्यहाँ कोही थिएन। घडी हेरेँ छ बजिसकेछ।
मेरो मनले भन्यो ‘किरण किन यसरी म भएको ठाउँमा पटक-पटक आउन कोसिस गरिरहेको छ? मैले किन यस्तो सपना देखेँ?’
यत्तिखेर त नेपालमा बिहानको ७:४५ बजिसक्यो। किरणको ड्युटीमा जाने बेला भयो होला। किरणसँग कुरा गर्नुपर्यो भनेर फोन लगाएँ।
'हेलो... हेलो... हेलो... किरण!... किरण!... किरण!'
उतापट्टिबाट ठूलो हावाको झोंका पहाडमा ठोक्किए जस्तो 'स्वाँआआ... स्वाँआआ... स्वाँआआआ...' आवाज मात्र आइरह्यो।
अनि धेरै बेरपछि 'तपाईंले डायल गर्नुभएको नम्बर सम्पर्क हुन सकेन। पुन: कोसिस गर्नुहोला।' भन्ने मेसेज रिटर्न भयो।
म किंकर्तव्यविमूढ भएर सोचिरहेँ।
धेरै बेरसम्म टोलाइरहेँ। मेरो सोचाइ त कता कता मलाई नै छोडेर निकैबेर हराएछ।
***
त्यतिखेर त्यो पल्लो हाँस्य कलाकारको घरको भुइँतल्ला कोठामा नयाँ डेरावाल बस्न थालेका थिए।
दुई जना दाजुभाइ दुइटा कोठा लिएर बसेका थिए। छिमेकी भएकोले ती हाँस्य कलाकारसँग मेरो बोलचाल भेटघाट भइनै रहन्थ्यो। ती हाँस्य कलाकार एक्लै थिए र चाँडै नै बिहे गर्ने सुरमा थिए। त्यो बखत पूरै टोलमा केबल टिभी जडान गर्ने प्रविधि भर्खर भर्खर आएकोले म पनि त्यसबारे केही सरसल्लाह गर्न हाँस्य कलाकारको घर गएको थिएँ। उनी त धमाधम तात् तातो भात, रायोको साग र घिउ मुछेर खाँदै रहेछन्।
‘के गर्नु एक्लो भएपछि दाल पकाउन अल्छी लाग्छ। मेरो त खानगी यस्तै हो है यो जाडोमा।’ भन्दै खाँदै मसँग कुराकानी गरेका थिए।
मलाई एउटा घटना याद आयो। जब उनको त्यो घर निर्माण गर्दा ढलान हुँदै थियो त्यतिखेर ढलान गर्ने दिन त्यतिधेरै ज्यामी काम गर्दा पनि ढलान सकिने सकिने बेलामा पूरै छत कुनि के नमिलेर गर्लाम् गुर्लुम खसेको थियो। तर हाँस्य कलाकार रत्ति पनि निराश भएका थिएनन्।
‘अरूले रूवाएर बनाएको घरलाई केही नहुने, तर मैले त सारालाई हँसाएर बनाएको घर हो। किन ढलानको छत खस्यो त!’ भनेर उनले सबैलाई गललल हँसाएका थिए।
'मैले त सिमेन्टीको भाग कम हालेर आफ्नै घरमा कमिसन खाएको छैन है!' भनेर फेरि सबैलाई हँसाएका थिए।
उनको त्यो ढलान अर्कोपल्ट फेरि गर्नु परेको थियो।
हाँस्य कलाकारको घरमा डेरा गरिबस्ने एउटा केटा चाहिँको उमेर मेरैजस्तो थियो।
उसको दाजु चाहिँ प्राय: गितार बजाएर गीत गाइरहेको सुनिन्थ्यो। सायद ऊ पनि कलेजमै पढ्ने हो कि जस्तो लाग्थ्यो। मेरो उमेरको केटो चाहिँ आफ्नै उमेरको लागेर होला मलाई देख्नासाथ मुसुक्क हाँसेर बोलुँ बोलुँ गर्थ्यो। यही क्रममा देख्दा बोल्दा हामीबीच दोस्ती हुन थाल्यो। उसको नाम किरण रहेछ। किरणको पनि त्रि-चन्द्र कलेजमा आइएस्सी पढ्नका लागि मेरो जस्तै नाम निस्केर भर्ना भइसकेको रहेछ। त्यसपछि त हामीसँगै पढ्न जाने, सँगै होमवर्कहरू गर्ने, सँगै घुमफिर गर्ने गर्न थाल्यौं।
साइन्स पढ्न सजिलो त कहाँ हुन्थ्यो र! कस्सेर मेहनत गरेर पढ्नै पर्थ्यो। किरण र म मिलिजुली हात बटाउँदै आफ्नो लक्ष्यतिर अघि बढ्दै थियौं। मेरो एउटा चाइनिज साइकल थियो। धेरैजसो ऊ मेरो साइकल पछाडि क्यारियरमा बस्थ्यो र हामीसँगै कलेज आउने जाने गर्थ्यौं।
बुवाआमा गाउँमै बस्नुहुने भएकोले म काठमाडौंमा एक्लै पढ्न बसेको थिएँ। एकचोटि मलाई लगातार धेरै दिन निस्लोट ज्वरो आएको थियो। त्यसबखत किरणले मलाई खानपिन औषधी पानीमा निकै सहयोग गरेको थियो।
आखिर बिरामी निको नहुँदा तुरून्त वीर अस्पताल लानुपर्ने भयो। भनेको बेला ट्याक्सी पनि पाइएन। फेरि यस्तो दु:ख परेको बेला ट्याक्सीले पनि मनपरी भाडा भन्ने। विद्यार्थी मान्छे काठमाडौंको महंगीमा हामीलाई गाह्रै थियो। त्यस्तो सहयोग आवश्यक भएको बेलामा किरणका दाजुभाइले मलाई पालैपालो पिठ्यूँमा बोकेर मैतीदेवी घरदेखि वीर अस्पतालसम्म पुर्याएर उपचार गराएका थिए। उपचारको क्रममा मलाई दुई हप्ता त अस्पतालमै बस्नुपरेको थियो। डिस्चार्ज नहुन्जेलसम्म हरेक दिन किरण र दाजुले मेरो हेरविचार गर्नुभएको थियो। त्यो नि:स्वार्थ सहयोगले म किरणसँग झन् आभारी र ऋणी भएँ। अनि हरेक दु:ख सुखमा हामी एकअर्काका परिपूरक हुन थाल्यौं।
पढाइसकेपछि किरणले कोलम्बो प्लान अन्तर्गत शिक्षा मन्त्रालयबाट मेडिकल पढ्ने छात्रवृति पायो। तर मैले पाइनँ। मैले यहीँ बिएससी पढ्नुपर्ने भयो। मैले प्लान नपाउँदा किरणले साह्रै चिन्ता प्रकट गर्यो। तर जे हुनु भइसकेको थियो। उसले पनि पाएको सुनौलो मौका गुमाउनु हुँदैनथ्यो। ऊ पढ्न भारत गयो। म पनि ऊ जाने बेलामा सिअफ गर्न एयरपोर्ट गएको थिएँ। छुट्टिने बेलामा मन गह्रौ हुने नै भयो।
'किरण, सन्चोबिसन्चो खबर पत्रमा पठाउँदै गर्नू। आफ्नो स्वास्थ्यको सधैं ख्याल गर्नु। छुट्टीमा नेपाल आउँदा सधैं मसँग भेट गर्नू। मजाले घुमफिर गरौंला।'
मैले उदास लागे पनि प्रत्येक छुट्टीमा भेट्ने आशमा खुसी हुन खोज्दै भनेको थिएँ।
'हुन्छ। म तिमीलाई पत्र लेखिरहन्छु। छुट्टीमा काठमाडौं आउँदा तिमीसँगै बस्नेछु।' त्यसोभन्दा उसले चाहिँ अँध्यारो मुहार लगाएको थियो।
उसको फ्लाइट उड्ने बेला भयो भनेर एनाउन्स गर्यो। किरण आँसु झारूला झैं गरी बिदा भएर उडेको थियो। उडेको प्लेनलाई आँखाले भ्याएसम्म मैले हेरिरहेको थिएँ। मलाई किरणलाई बिदा गरी फर्किंदा शून्य शून्य भएर नरमाइलो लागेको थियो। म एक्लै लुरूलुरू के/के सोच्दै फर्किएको थिएँ।
किरणको दाइ पनि हिन्दी सिनेमाको संगीतकार हुने मौका पाएर बम्बई जानुभयो।
एकचोटि एउटा हिन्दी सिनेमाको सुटिङ गर्न आएको प्रसिद्ध कलाकारकहाँ उहाँले अप्वाइमेन्ट लिएर भेट गर्नुभयो। कलाकार उहाँको गितारको मीठा मीठा धुन सुनेर मस्त हुँदै मुग्ध भए। जस्तो म्युजिक पनि कम्पोज गर्न सिपालु देखेर उनी चकित भए। फेरि लिड, ब्यास र रिदमजस्तो पनि गितारमा बजाउन सक्ने भएकोले ती कलाकारले आफूसँगै बम्बई लिएर गए। तिनै कलाकारको सिफारिसमा किरणको दाइले तुरून्त हिन्दी सिनेमामा मौका पाउनु भएको थियो।
तीन वर्ष पछि म पनि बायोलोजीमा पिएचडी गर्न मेरो परिवारसहित अमेरिका जाने भएँ। अमेरिका पुगेर पनि किरण र मेरो चिठी आदान-प्रदान भई नै रहेको थियो।
केही वर्षपछि किरण डाक्टर भएर नेपाल फर्किसकेको थियो। म छुट्टीमा नेपाल गएको बेला उसको जुम्ला सरूवा भएको थियो। हाम्रो भेट हुन सकेन।
दुर्गम जिल्ला भएकोले मेरो छोटो छुट्टीमा जुम्लामा आउजाउ गर्न सजिलो थिएन।
त्यतिखेर यसो टहलिएर हिँडदा खेरी मैतिदेवीका प्राय: सबैजसो औषधी पसलहरूमा डाक्टरको नाम प्लेटमा डा. किरण भनेर लेखिएको देख्थें। औषधी पसलहरू ग्राहक तान्न कहिलेकाहीँ भिजिट गर्न लगाएर विशेषज्ञ डाक्टरको नामको प्लेट आफ्नो फार्मेसीमा राख्ने गर्दा रहेछन्। जता जता उसको नाम पढ्दथेँ मेरो हृदय खुसीले फुरूङ्ग हुन्थ्यो। किरण ठूलै डाक्टर भइसकेको मैले थाहा पाएँ।
मैले एउटा औषधी पसलमा 'डा. किरण कहिले आउनुहुन्छ?' भनेर सोधेको थिएँ।
त्यो फार्मेसीको मान्छेले 'उहाँ अहिले जुम्ला जानु भएको छ। तीन महिनापछि आउनु हुन्छ।' भनेर भनेको थियो।
किरणको सफलतामा मलाई अति नै खुसी लागेको थियो। म जता जता जान्थेँ उसँग त्यहाँ बिताएका रमाइला क्षणहरूको मलाई याद आउने गर्थ्यो। छुट्टी सकिएपछि म पनि पढाइलाई निरन्तरता दिन अमेरिकाको युनिभर्सिटी फर्किएँ।
पिएचडी सकेर मैले त्यहीँ युनिभर्सिटीमा पोष्टडक सुरू गरेको थिएँ। रिसर्च गर्नुपर्ने त्यसमाथि फेरि टिए (टिचिङ एसिस्टेन्ट) र जिए (ग्राजुएट एसिस्टेन्ट) स्वरूप मेडिकल क्लासमा विद्यार्थीलाई पढाउनु पनि पर्ने भएकोले साह्रै व्यस्त हुनुपर्थ्यो।
एकपल्ट फेसबुकमा किरणको छोरीको पोष्ट देखेँ। त्यसमा किरणको छोरीको ग्राजुएसनमा परिवारको साथमा उसका खिचिएका फोटोहरू पोष्ट गरिएका थिए। किरण छोरीको ग्राजुएसनमा अमेरिकाको वेष्टकोष्ट आएको खबर थाहा भयो। म इष्टकोष्टमा थिएँ। तुरून्त किरणलाई छोरीको ग्राजुएसनको शुभकामना दिँदै मेसेज पठाएँ।
'किरण, तिम्रो फोन नम्बर पठाउन।'
उसले अमेरिकाकै अस्थायी फोन नम्बर पठायो।
'किरण, तिमी अमेरिका आएका रहेछौ। मलाई धेरै खुसी लाग्यो। म इष्टकोष्टमा छु। तिमीहरू सपरिवार मकहाँ आऊ। हामी दुबैको पारिवारिक भेटघाट हुन्छ। अनि तिम्रो र मेरो परिवार सँगसँगै मजाले घुमघाम गरौंला।'
'ओहो, तिमीसँग भेट नभएको पनि धेरै भयो। फोनमा कुराकानी हुँदा सधैं मलाई पनि तिमीकहाँ जान पाए हुन्थ्यो भन्ने तीव्र इच्छा भई नै रहन्छ। हामी दुबैको परिवार चाँडै भेटघाट गर्न त मलाई पनि असाध्यै मन छ।'
'किरण, त्यसो भए मिलाएर मकहाँ आइहाल। म एयरपोर्टमा लिन आउँछु। मलाई त यतिधेरै खुसी लागेको छ कि त्यो त म यो फोनबाट व्यक्त गर्नै सक्दिनँ।'
'किरण, मेरो त पर्सी नै नेपाल फर्किने टिकट छ। अर्को हप्ता एउटा मेजर अपरेसन भएकोले म जानैपर्ने भयो। हिजो भर्खर खबर आयो। बिरामीको अवस्था क्रिटिकल छ रे। छोरी यहीँ माष्टर्स गर्छु भन्दै छे। तुरून्त अर्को महिना आउँदै छु। त्यतिखेर म मेरो परिवारसहित तिमीकहाँ आउनेछु। अनि तिमीकहाँ लामै समय बिताउने छु।'
'किरण, जसरी पनि फेरि आऊ नि।'
'म फेरि आउँछु। म फेरि आउँछु।' भनेर उसले दोहोर्याइ दोहोर्याइ भनेको थियो।
'ठीक छ किरण। अर्को चोटि चाहिँ लामै बिदा लिएर आऊ। अनि त धेरै रमाइलो हुनेछ। तिमीसँग पहिलेजस्तो धेरै धेरै गफ गर्न मन छ। सँगसँगै घुमफिर गर्न मन छ। बाँकी जीवनमा पनि हाम्रो मित्रता अझ गाढा र अमर बनाउन मन छ।'
त्यसपछि मैले किरणसँगका रमाइला क्षण सम्झें। मलाई दु:खको समयमा उसले गरेको सहयोग सम्झिएँ। उसलाई दु:ख परेको बेला मैले गरेको सहयोग सम्झिएँ। त्यतिखेरै ‘सुखके सब साथी, दु:ख में ना कोई’ भन्ने मोहम्मद रफीले गाएको गीत रेडियोमा बजिरहेको थियो। तर मेरो त सुखदु:ख दुबै बेला साथमा किरण थियो। किरणको सुखदु:ख दुबै बेला म थिएँ। यो मित्रताले हाम्रो जीवनको हरेक सफलतको सिँढीमा एउटा दरिलो आडभरोस दिएको थियो। भनुँ न यो मित्रताले हामीलाई जिन्दगीको खुसीयाली दिएको थियो।
किरण फर्केको अर्को हप्ता बिहान उठेर यसो फेसबुक खोलेँ।
एकैचोटि म छाँगाबाट खसेकोजस्तो भएँ। किरणको हाँसिरहेको फोटोमा माला लगाइएको थियो। फोटोमाथि समवेदना डा. किरण भनेर जन्म र मृत्युको मिति लेखिएको थियो। त्यो फोटोमुनि कमेन्ट बक्समा भावविह्वल र भावविभोर भएर हजारौं हजार जनाले समवेदनाका मर्मस्पर्शी र हृदयविदारक भाव अर्पण गरेका थिए। दु:ख र आँसु झरेका इमोजीहरू पोष्ट गरेका थिए।
यो के भयो। कसरी भयो। मैले केहीदिन अघि मात्र हाँस्दै खुसी हुँदै कुरा गरेको किरणलाई किन यति चाँडो यस्तो भवितव्य पर्यो। मैले बुझ्नै सकिनँ। मलाई धेरै छटपटी भयो। ओठमुख सुकेर मुटुसम्म खङग्रंङ भयो। धेरै बेरसम्म म नि:शब्द भएर ट्वाल्ल परिरहेँ। त्यसपछि म भक्कानिएर रून थालेँ। रोक्न सक्दै सकिनँ अविरल बगिरहेका आँसुलाई। धेरै बेरपछि आफूलाई आफैंले सम्हाल्दै फेसबुकको उसको अहिले बोल्लाजस्तो फोटोतिर नजर पुर्याएँ। फोटो उसको छोरोले हालेको रहेछ। मैले मेसेन्जरमा किरणको छोरोको फोन मागेँ। उसले पठायो।
'बाबु, मलाई धेरै दु:ख लागेको छ। यो के भयो बाबु।'
उसले सुँक्क सुँक्क रोएको आवाज फोनमा आइरहेको थियो।
'अंकल! बुवा बिहान जगिङ गरेर मुख धुन बाथरूम जानु भएको थियो। पछि त त्यहीँ बाथरूममा लडिरहनु भएको थियो। हर्टएट्याक भयो रे भनेर भन्छन्।' त्यसपछि किरणको छोरो बोल्न सकेन घ्वाँ घ्वाँ रून थाल्यो।
'बाबु, आफूलाई सम्हाल बाबु। दु:ख त लाग्छ नै। जन्मेपछि मर्नै पर्छ।' भनेर सान्त्वना दिँदै फोन राखें।
त्यसपछि मेरो दुबै आँखा धमिलो भएर जता हेर्यो उतै सन्नाटा छाएझैं भयो। त्यो दिन म कोठाबाट कहीँ निस्किन। साह्रै नै दु:ख लाग्यो। मलाई एउटा सच्चा मित्रको निधनले हृदयमा निकै गहिरो चोट लागेको थियो। मैले छक्क परेर कोठाको चारैतिर नजर दौडाएँ।
फेरि झ्यालको पर्दा पन्छाएर घर पछाडिको काठको बेरा हेरेँ। त्यहाँ कोही थिएन।
त्यसैले पो किरण पटक पटक कोसिस गरेर त्यो काठको फ्ल्याकले टम्म मिलाएर ठडिएको घरको पछाडिपट्टिको केही अग्लो बेरा पारगरी घरभित्र आउन खोजिरहेको रहेछ। त्यसैले पो उसको पूरा शरीरलाई माथि उचालेर बेराको टुप्पामा शरीर झण्डै झण्डै बिसाएर पुर्लुक्क पार गरेर घरभित्र पस्ने कोसिस गर्दो रहेछ। उसले बेरा पार गरेर घरभित्रको ब्याकयार्डमा पस्ने असफल प्रयास निकै पटक गरेको मलाई फेरि याद आइ नै रह्यो। यस्तो लाग्यो उसको आत्मा ऊ मरेकै दिन मलाई भेट्न मेरो सपनामा आएछ।
'म फेरि आउँछु। म फेरि आउँछु।' भनेर त्यसैले पो उसले दोहोर्याइ दोहोर्याइ भनेको रहेछ।
मेरो साथी किरण ‘म फेरि आउँछु’ भनेकोले बाचा पूरा गर्न मकहाँ आउन त आयो तर ऊ केवल सपना बनेर आयो।
ऊ कहिले नबिर्सने दु:खसुखका सम्झना मात्र बनेर आयो।
'किरण, तिम्रो आत्माको चिरशान्तिको कामना गर्दछु। हाम्रो मित्रतालाई कहिल्यै नबिर्स ल!' मैले आँखा चिम्लेर उसलाई सम्झदै मनमनै भनेँ।
मैले फेरि त्यो झ्यालको पर्दा पन्छाएर घर पछाडिको काठको बेरा धेरै बेरसम्म हेरिरहेँ।