बुवा पहिला पो हजुर मेरो हिरो होइसिन्थ्यो, हजुर राम्रो देखिनुहुन्थ्यो अनि मलाई मन पर्नु हुन्थ्यो। तर अहिले बुवा म तपाईंलाई रुचाउदिनँ।
छि! ती तपाईंका चाउरी परेका हात अनि पटपटी फुटेका पैताला, हेर्दा पनि हिजो आज लाज लाग्छ, भलै ती हात चाउरी पर्नुको कारण, पैतालाहरू फुट्नुका कारण,
मेरै भविष्यको बाटो कोर्नु हो, मलाई थाहा छ बुवा तर म बाध्य छु बुवा यो सहरमा ती फुटेका पैताला अनि चाउरिएका हातहरू बिक्दैनन्, तिनको मूल्य छैन। बुवा मलाई अब हजुरसँग बोल्न पनि मन लाउन्न। हो बुवा, अब म ठूलो भएछु, अनि आधुनिक समाजमा बस्न थालेछु। यहाँ सुकिला मुकिला मात्र चल्छ, आत्मीयता चल्दैन!
यहाँ निस्वार्थ प्रेम पनि चल्दैन। अनि हजुर आफैं भन्नुस् म हजुरलाई कसरी बुवा भनूँ?
यो समाजले मलाई स्वीकार्दैन बुवा अनि अब त म पनि सक्दिनँ स्वीकार्न!
सानोमा पो हजुर नभई बस्न सकस लाग्थो आफ्नै वरिपरि हजुर भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो। अब त म ठूलो भएँ, सहर छिरिसकें। ठूला-ठूला मान्छेहरूसँग उठबस छ बुवा फुर्सद छैन नि मेरो!
है बुवा अब हजुर आइराख्न नि पर्दैन सुरूमा पो सब्बै तपाईंले बन्दोबस्त गरिदिनुभयो अहँ अब बिन्ती छ नआइदिनुस् है नत्र त मेरो बेइज्जत हुन्छ!
बेला बखतमा मात्र पैसा पठाइदिनुस् है बुवा नत्र म हजुरलाई सम्झने पनि छैन।
बुवा बुझ्नुसे मेरा साथीहरू छन् अब त सहरमा तिनका बुवाहरू कार चढ्छन्,केही कसो गरी तपाईंलाई देखिहाले भने?
म के भनी जवाफ दिऊँ? म सक्दिनँ तिनलाई तपाईं मेरो बुवा हो भन्न किनकि अब त्यो हजुरको पहिरन देख्दा पनि मलाई हाँसो लाग्छ, अनि सायद पसिनाको गन्ध होला! डुङ डुङ गनाउँछ बुबा !!
भलै ती पसिनाका गन्धहरूमा मेरो भविष्य निर्माण गर्ने, जगहरू मिसिएका छन्। सक्दिन भन्न यी मेरा बुवा हुनुन्छ, जसले मलाई हुर्काउनुभो, पढाउनु भो, अनि आज यहाँसम्म पुर्याउनु भो!
अहँ सक्दिनँ बुवा म तपाईंका ती काला हातहरू समातेर मेरो बुवाको परिश्रमी हात हेर यिनै हुन् जसको सहायताले म ता ते ता ते गर्दै हिँड्न सिकें भन्न!
कहाँ सक्छु र बुवा, तपाईंलाइ समय दिन! अब त सहरको हावा दौडिन्छ मेरो शरीरमा।
बुवा माफ गरिदिनुस् मलाई।
अनि बाटोमा आउँदा पनि मेरा साथी भेट भए भने नभन्नुस् है फेरि म फलानोको बाउ हो भनेर।
गाउँमा पो म सानोमा फलानो को छोरा भन्दै सबैलाई सुनाउँदै हिँड्थें। यहा त मलाई खिसी गर्छन् बुवा।
बुवा, आजकल त हजुरलाई देख्दा पनि आफैंलाई हाँसो अनि लाज लाग्छ नि मलाई। त्यो पहिरन, त्यो टुक्रिएको हात अनि फुटेका खुट्टा! मलाई कम्ता लाज लाग्छ, यित्ती बाटोसँगै हिँड्दा पनि बाटोमा चिनेको कोही साथी पो आउँछन् कि?
म के भनेर जवाफ दिम्ला?
सायद म आफैं लाजले रातो पिरो हुन्छु होला अनि मलिनो स्वरमा भन्न त करै लाग्छ यी मेरा बुवा थिए। अनि सायद त्यसपछि वाक्य नि नफुट्ला कि मेरो भनूँ त के भनूँ?
बुवा पहिला हजुर विदेशबाट छुट्टीमा आउँदा नगए हुन्थ्यो सधैं सँगै बसे हुन्थ्यो जस्तो लाउथ्यो।
तर अहिले थाहा छ बुबा हजुर सहर आउँदा मत हजुर घर फर्किने दिन गन्दै बस्छु। खै छिटो गए हुन्थ्यो जस्तो लाग्छ घर।
नरिसाउनु है बुवा बाध्यता हो मेरो नत्र म हजुरलाई धेरै माया गर्छु। के गर्नु सहर हो अनि म पनि हिजो आज सहरिया हुन सिक्दैछु।
सानोमा पो तपाईं हिरो मेरो लागि तर अब त मेरा लागि फिल्मकै हिरो पो छन् त!
बुवा तपाईंको याद नआउने पनि हैन आउँछ। जब जब घरबेटीले भाडा माग्छ, जब जब कलेजको सूचना आउँछ, जब जब हारेको महसुस गर्छु, म हजुरलाई सारै सम्झन्छु सारै अत्यास लाग्छ, बुवा।
म समय मिलाएर सम्झन्छु नि हजुरलाई, बुबा बिन्ती छ हजुरलाई यो छोराको अब कसैलाई पनि सहरमा आउँदा म फलानोको बाबु हुँ भनेर नभनिदिनुस है!