पुस महिनाको समय। आँखा झमक्क पार्दा नपार्दै दिन ढल्किहाल्ने। आज पनि त्यस्तै भयो। म आफ्नो कार्यालय समय सकेर डेरामा पुगें। एउटा बिहे भोजमा सामेल हुन जानुपर्ने भएकोले फटाफट तयार हुनतिर लागें।
अलि पुरानो मोडेलको काठको दराजमा झुन्डिएको कोट पाइन्ट झिकेर मज्जाले टकटक्याएँ। दुई वर्षअघि किनेर, काठमाडौंको सडकमा घिसार्दै आएको कालो रङ्गको छालाको जुत्तालाई पोलिस दलेर टलक्क टल्काएँ।
दराजमा जडिएको पूर्णकदको ऐना अगाडि उभिएर कोट, टाई–सुट पहिरिएँ।
विदेशबाट नेपाल आउँदा एक मित्रले कोसेली ल्याइदिएको अत्तर, जीउमा छर्किएर आफूलाई मगमग बसाउने बनाएँ। अनि निस्किएँ बिहे भोजमा सामेल हुन। लगभग बीस मिनेट जति ट्याक्सीको यात्रा गरेपछि बिहे भोज स्थलमा पुगें।
निम्तालुहरूको जमघट सुरू भइसकेको थियो। स्वागतको लागि किरण ढोकामै उभिएको थियो। किरण मेरो मित्र हो। आठ वर्ष अगाडि जुन टोलमा म डेरा गरी बस्थें। त्यही टोलको रैथाने थियो किरण। उही किरणको छोराले विदेशमा उतैकी विदेशी
महिलासँग विवाह गरेको थियो। उही छोरा-बुहारी नेपाल आएको मौकामा किरणले विवाह भोजको आयोजना गरेको हो।
किरण र उसका छोरा-बुहारीसँगको भेटघाटपछि म खानपिनतिर लागें। वाइन गिलास लिएँ। विभिन्न स्न्याक्सको साथमा वाइनको चुस्क लिन थालें। यसरी पहिलो, दोस्रो, तेस्रो वाइन गिलास लिएपछि मेरो नजर अलिपर उभिएकी महिलामा पर्यो। जो आधुनिक पहिरनमा वाइनको चुस्की लिँदै मीठो मुस्कानका साथ कुराकानी गर्दै थिइनँ। मेरो नजर उनीलाई नियाल्नमा व्यस्त भयो। उस्तै रूप । उस्तै रङ। उस्तै मनमोहक मुस्कान। उनको हातको गिलास पनि रित्तिँदै भरिँदै गयो। म उनको मुस्कानमा आकर्षित हुँदै गएँ। उनको मुस्कानले बिस्तारै-बिस्तारै अतीतको गहिराइमा मलाई डुबाउँदै लग्यो।
कुरा त्यतिबेलाको हो। जतिबेला म उच्च शिक्षा अध्ययनको लागि गाउँबाट राजधानीतिर झरेको थिएँ। बिहे भोजमा मेरो नजरले जसलाई नियालिरहेको थियो। त्यतिबेला उनै अन्जनाको घरमा डेरा गरी बस्ने मौका मिलेको थियो मलाई।
हो! अन्जना हो उनको नाम। आमाबावुका चार सन्तानमध्येकी जेठी छोरी। उनी पछिका एक बहिनी र दुई भाइ थिए। उमेरको हिसाब-किताब मिलाउँदा मभन्दा एक वर्षले जेठी थिइन् उनी। बाबु सरकारी जागिरे। आमा गृहिणी। दुई वर्षअघि एसएलसीमा ब्याक लागेपछि उनी पढाइ छोडेर घर बस्न थालेकी थिइन्।
मेरो कलेज बिहानको भएकोले दिउँस अक्सर घरमै हुन्थें। त्यसकारण अन्जनासँग मेरो मिलजुल हुन थालेको थियो। त्यही क्रममा एकदिन बेलुकाको समयमा ब्याडमिन्टन खेल्ने निर्णय भयो। ब्याडमिन्टन र्याकेट त अन्जनाहरूसँग पहिले नै थियो। कर्क किन्ने जिम्मेवारी ममाथि आयो। मैले आफ्नो जिम्मेवारी पूरा पनि गरें। त्यसपछि नियमित रूपमा ब्याडमिन्टन खेल सुरू भयो। यही बीचमा मैले काठमाडौंको खर्चवर्च चलाउन एउटा निजी कम्पनीमा नोकरी सुरू गरेको थिएँ।
त्यसदिन म आफ्नो ड्युटी सकेर डेरामा पुगें। कपडा चेन्ज गरेर खेल्न तयार हुँदै थिएँ। त्यति नै बेला बाहिरबाट अन्जनाले बोलाएको आवाज आयो। म बाहिर निस्किएँ। अन्जना हातमा र्याकेट र कर्क बोकेर उभिएकी थिइन्। उनका भाइबहिनी थिएनन्।
'खै त अरू?'
मैले आश्चर्य मान्दै प्रश्न गरें।
'आज त कोही पनि छैनन्। सबै हजुरआमालाई भेट्न गएका छन्।'
अन्जनाले भनिन्। त्यसपछि हामीले खेल सुरू गर्यौं। खेल चलिरहेकै थियो। यतिमै अन्जनाले हानेको सटले कर्क उडेर घरको भित्तामा चढेको अंगुरको लहरामा अल्झियो। तन्किएर हातले झिक्न मिल्ने स्थानमा कर्क थिएन। म कर्क झिक्ने उपाय सोच्दै थिएँ।
'तिमी मलाई बोक। म कर्क झिक्छु।' अन्जनाले भनिन्।
मलाई पनि त्यही उपाय सही लाग्यो। मैले उनलाई बोकें। उनले मेरो गर्दन पछाडिबाट जोडले अँगालो हालिन्। उनले त्यसरी अँगाल्दा मेरो अनुहार अन्जनाको छातीमा टाँस्सियो। मेरो आँखा बन्द भयो। उनको छातीको कोमल अङ्गलाई मेरो अनुहारले स्पर्श गर्यो। म झसङ्ग भएँ। डरले मुटु थर्र काम्यो। मैले साहस गरेर आफ्नो अनुहार माथि उठाएँ। अब मेरो चिउँडो उनको छातीमा टाँस्सियो। मैले आँखा खोलेर हेंरें। उनी कर्क नझिकी निहुँरिएर मलाई हेरिरहेकी थिइन्।
मैले आँखा खोलेर हेर्नासाथ उनी मुसुक्क मुस्काइन्। मेरो अनुहार र उनको छातीबीच भएको स्पर्शको अनुभूति अन्जनालाई भयो भन्ने संकेत थियो उनको त्यो मुस्कान। म अलि डराएँ। म उनीलाई ओराल्न चाहन्थेँ। तर अझै पनि उनको अँगालो बेस्सरी कस्सिएकै थियो। हाम्रो नजर एकअर्कासँग जुधेकै थियो। उनको मुस्कान यथावत नै थियो। मैले उनीलाई बोकेको हात थोरै खुकुलो बनाएँ। अन्जनाको अँगालो पनि खुकुलो भयो। मैले बिस्तारै उनलाई ओराल्न थालें। उनको शरीर मेरो शरीरबाट तल सर्दै गयो। अन्जनाको ओठ, मेरो निधार हुँदै मेरो ओठसम्म आइपुग्यो। उनको स्पर्शले मेरो पूरै शरीर सिरिङ भयो। म एक कदम पछाडि सरेर उनीबाट थोरै दूरी बनाएँ।
'लौ ! किन ओरालेको ? मैले कर्क झिकेकै छैन।'
अन्जनाले हाँस्दै भनिन्। म मौन नै भइरहें।
'फेरि बोक म कर्क झिक्छु।'
भन्दै उनी एक कदम अगाडि आइन्। हामी बीचको दूरी हरायो। मैले उनलाई उसैगरी बोकें। जसरी अघि बोकेको थिएँ। उनले पनि उसैगरी अंगालिन्। जसरी अघि अंगालकी थिइन्। अर्को हात बढाएर कर्क झिकिन्। निहुरिएर उसैगरी मलाई हेरिन्, जसरी अघि हेरेकी थिइन्। हाम्रो नजर जुध्यो। उनी मुसुक्क मुस्काइन्।
यस पटक अन्जनाको मुस्कानमा मीठो आकर्षण थियो। नवयौवना गुलाबको फूलझैं। मैले बिस्तारै उनलाई तल ओरालें। यस पटक अन्जनाको मुख मेरो कानमा पुग्यो।
'आई लभ यू।'
अन्जनाको मधुरो आवाज मेरो कानमा गुञ्जियो। मैले आश्चर्य मान्दै उनलाई हेरें।
उनी लाजले मुस्काउँदै एउटा र्याकेट मेरो हातमा थमाएर खेल्न तयार भइन्। त्यसपछि आँखाले कर्क देखिन्जेल हामी खेल्यौं। खेल सकेर म आएर बरन्डामा बसें। उनी पनि स्वाँ–स्वाँ गर्दै मसँगै बसिन्। यतिमै कम्पाउण्डको आइरन गेट खुलेको आवाज आयो। त्यो आवाजले अन्जना झस्कँदै उठेर थोरै पर गइन् र गेटतिर हेरिन्। उनका आमाबाबु र भाइबहिनी फर्किएका रहेछन्। उनको कान्छो भाइ कुदेर भित्र आयो।
'आम्मै ! अझै ब्याडमिन्टन खेली राको?' भन्दै र्याकेट र कर्क टिप्यो। अनि माथितिर उक्लियो। अरू पनि सरासर माथि उक्लिए। अन्जना सबभन्दा पछि पछि लागिन्। म पनि उठेर आफ्नो कोठातिर बढ्दै थिएँ। अचानक अन्जना आँधीझैं हुत्तिएर आइन्।
झ्याप्प पछाडिबाट अँगालिन्। गालामा किस गरिन् र जुन गतिमा उनी आएकी थिइन्, उही गतिमा फर्किइन्। एकक्षणको लागि मेरो होसहवास उड्यो। पछाडि फर्किएर हेरें। उनी गइसकेकी थिइन्। सपनाझैं लाग्यो। तर घटना यथार्थ थियो। म चुपचाप फर्किएर आफ्नो कोठामा पुगें। ढोका ढप्काएँ। बेडमा पल्टिएँ। टिभी अन गरे। तर आँखा अगाडि उही दृश्य। मेरो अनुहार र उनको छाती बीचको त्यो स्पर्शको दृश्य।
कर्क झिक्न छोडेर मुस्काउँदै मलाई हेरेको त्यो दृश्य।
मेरो कानमा मधुरो स्वरमा उनले आई लभ यू भनेको त्यो दृश्य।
अचानक आँधीझैं आएर मेरो गालामा उनले किस गरेको त्यो दृश्य।
ती सबै दृश्यको सम्झनाले मलाई रोमाञ्चित गरायो। आखिर पुरूष मन न हो। विपरीत लिंगीको स्पर्शले रोमाञ्चित हुनु स्वाभाविक नै हो। म पनि भएँ।
एकदिन खेल सकेर म कोठामा बसिरहेको थिएँ। अचानक ढोका उघारियो। उठेर ढोकातिर हेरें। ढोकामा अन्जना उभिएकी थिइन्। उनको हातमा एउटा थाल थियो। थाललाई माथिबाट पत्रिकाले ढाकिएको थियो।
'के ल्याएको?'मैले आश्चर्य मान्दै प्रश्न गरें।
'खाना।' भन्दै भित्र आइन् र खानाको थाल छेउको कुर्सीमा राखिन्।
'किन? आज केही विशेष थियो कि क्या हो?' भन्दै मैले सोधेँ।
'विशेष यही हो कि, खाना मैले आफैंले बनाएकी हुँ। ल, अब छिटोछिटो खाइहाल। नत्र सेलाउँछ।'भनेर उनी कोठाबाट निस्किएर गइन्।
यसरी बेला–बेलामा अन्जनाले खाना खाजा ल्याएर खुवाउन थालिन्। अन्जनाको यस्तो व्यवहारले मलाई डर लाग्न थाल्यो। किनकि यो कुरा अन्जनाका आमाबावुले थाहा पाए भने मलाई नराम्रो हुनसक्छ। नराम्रोभन्दा पनि मैले यहाँबाट डेरा सर्नुपर्ने अवस्था सिर्जना हुन्छ। फेरि काठमाडौंमा भन्नासाथ सजिलै डेरा कहाँ पाइन्छ र? समय बित्दै गयो। अन्जनाको त्यो व्यवहार निरन्तर चलिनै रहेको थियो। एकदिन म बेलुका टेलिभिजन हेरेर बसिरहेको थिएँ। मैले सानो ब्ल्याङकेटले खुट्टा छोपेर बसेको थिएँ। अन्जना कोठामा आइन्। उनी पनि मसँगै ब्ल्याङकेटभित्र खुट्टा छिराएर बसिन्। मैले उनलाई आफ्नो डरको कारण बताएँ। तर अन्जनाको जवाफ मेरो लागि आठौ आश्चर्यझैं भयो।
'ममीलाई सबै कुरा थाहा छ।' भन्दै अन्जनाले जवाफ दिएकी थिइन्।
मैले आश्चर्य मान्दै उनलाई हेरेँ।
उनी लजाउँदै मुसुक्क मुस्काएर नजर झुकाइन्। आफ्नो खुट्टाको बुढी औंला मेरो खुट्टामा दल्न थालिन्। त्यो घर्षणले तनमनमा तरंगीत भयो। मीठो न्यानोपनको आभास भयो। अन्जनाले एक हातले पछाडिबाट अंगालिन्। हामीबीचको सानो दूरी पनि हरायो। दुबैको शरीर एकअर्कासँग जोडियो। उनको कोमल ओठले मेरो गालाको स्पर्श गर्यो। गालाबाट उनको ओठ बिस्तारै सर्दै मेरो ओठमा पुग्यो। दुबैको ओठमा चुम्बकीय शक्ति थियो। एकअर्कासँग कहिल्यै नछुट्टिनेगरी जोडिएको थियो। त्यसले क्षणभरको लागि संसार भुलायो। सीमा नाघ्न बाध्य गरायो। वासनाको भूमरीले चुर्लुम्म डुबायो। मायापिरतीको मीठो अनुभूति गरायो। जब हामी होसमा आयौं। झसंग भयौं।
एकअर्काको अँगालोबाट छुट्टियौं। उनी बिस्तारै कोठाबाट निस्किएर माथि उक्लिइन्। म चुपचाप बेडमा पल्टिरहें।
भोलिपल्ट अन्जनाको कान्छो भाइ कुद्दै आयो र माथि उसको ममीले बोलाउनु भएको छ छिटो आउनु भनेर हिँड्यो। मेरो मनमा डर बस्यो। म बिस्तारै माथि उक्लिएँ। बैठक कोठामा अन्जना पहिले नै बसिरहेकी थिइन्। उनकी आमा बैठकको ढोकामा उभिएकी थिइन्।
'बस्नुुस्। तपाईंसँग एउटा सल्लाह गर्नुछ।' भन्दै उनकी आमाले बस्ने आदेश दिइन्।
मैले आदेशको पालना गरें। उनकी आमा पनि मेरो सामुन्ने अन्जानसँगै बसिन्।
'एकपटक तपाईंको चिना मगाउनुस् है?'
अचानक अन्जनाकी आमाले भनिन्। म अलमल्लमा परें।
'चिना किन?' मैले आश्चर्य मान्दै प्रश्न गरें।
'खासमा हामी अन्जनाको विवाहको लागि केटाको खाजीमा थियौं। तर, तपाईंहरू एकअर्कालाई मन पराउनुहुन्छ भन्ने कुरा हिजोमात्र अन्जनाले मलाई भनि। त्यसैले हामी अन्जना र तपाईंको जोडी बाँधिदिन चाहन्छौं। त्यसको लागि तपाईंहरू दुबैकोे चिना जुराउन त पर्यो नि।' उनकी आमाले भनिन्।
मैले बिस्तारै आफ्नो नजर अन्जनामा पुर्याएँ। उनी मुस्काउँदै थोरै नजर झुकाइन्। त्यसपछि म चिना मगाउने वाचा गरेर त्यहाँबाट निस्किएँ र गाउँबाट चिना मगाएँ। अन्जनाहरूको पुरेत बाजेले चिना हेरे। तर हाम्रो चिना मेल खाएन। हाम्रो वैवाहिक जीवन निकै कष्टकर हुने, हामी दुबैको सम्बन्ध लामो समय नटिक्ने कुरा चिनामा पुरेत बाजेले देखे। हाम्रो विवाह नहुने निर्णय भयो। त्यसै दिनदेखि म डेरामा भएको समयमा अन्जना तल आउन छोडिन्। उनी मबाट टाढिँदै गइन्।
हाम्रो ब्याण्डमिन्टन खेल पनि बन्द भयो। म पनि त्यो टोलबाटै डेरा सरेर टाढा पुगें। त्यसपछि हाम्रो भेट कहिल्यै भएन। त्यहाँबाट डेरा सरेपछि मैले उनलाई देखेको आजै मात्र हो। अचानक बजेको म्युजिकको आवाजले मलाई झस्कायो।
म अतितबाट वर्तमानमा फर्किएँ। यताउता नजर घुमाएँ। अलिपर अन्जना उनको चिनाले जुराएको श्रीमानको साथमा त्यहाँबाट फर्कंदै थिइन्। म भने आफ्नो नजुरेको चिनालाई सम्झँदै उनीलाई हेरिरहें।