वर्षिरहेछन् लगातार कानुनको छातीमा
फूलका बारुदहरू
यतिबेला फूलहरूको मरुभूमिमा
टिङ्ग्रिङ्ङ उभिएको छ नेपाल।
विस्तारै विस्तारै छोड्दैछन् हिमालहरू मुस्कुराउन
भिरपाखाहरूले गीत गाउन
छोड्दैछन् विस्तारै विस्तारै
खेतहरूले तरकारी फलाउन
तमतयार छन् बजारहरू
बिना पीडा मान्छे मार्ने मेसिन किन्न।
सुकिसके हजुरबाका अनुहारका आशाहरू
एउटै कुरा छ बाआमाको मनमा
सकभर छोरो युरोप जाओस्
नभए छोराले लोकसेवामा नाम निकालोस्
यी सबै कुराहरू हेरेर
आज एक्लै उभिएको छ नेपाल
फूलहरूको मरुभूमिमा।
उत्पादन गरेकै छ देशले लक्का जवानहरू
हवाइजहाजको बासमा राखेर
लगातार उडाइरहेछ देशले
युवालाई मरुभूमि तर्फ
के सम्झेर पो हुन्
उता मरुभूमिमा बाख्रा चराइरहेका नेपालीहरू
धुरूधुरू खसालीरहेछन् आँसु
नेपालीका आँखाबाट खसेका आँसुले
बालुवामा लेखेको छ
मरुभूमिमा नेपाल।
यता घरमा घरको बार्दलीबाट हेरिरहेछिन् बुढीआमा
आकाशमा उडिरहेका हवाईजहाजहरू
ठूलै आशा छ आमालाई
भर्खरै आएको हवाईजहाजमा छोरो आयो सोचिन्
तर आमालाई थाहा छैन यो कुरा
बालुवामा आँसुले 'मरुभूमिमा नेपाल' लेखेबापत
अरबको इजलाशले भर्खरै सुनाएको छ
छोरालाई फाँसीको सजाय।