हिजो आकाश शान्त थियो
त्यो निलो रङले आत्मीयता बढाएको थियो
सगरले प्रकृतिलाई उस्तै सजाएको थियो
सौर्यमण्डलमा छुट्टै अनुपमता छाएको थियो
साँच्चै शान्ति उस्तै जगमगाएको थियो
त्यसैले यही धरतीमा
बुद्धजस्तो अहिंसात्मक पूजारी जन्माएको थियो।
खुल्ला आकाशमुनि खुल्ला दिल बन्दो रहेछ
यही धर्तीमा
आदिम वैज्ञानिक ऋषिमुनि जन्मिँदो रैछ
चराचर जगतदेखि मानव जगतमा
आकाशजस्तै स्वच्छता भेटिँदो रहेछ
गाउँघरका डाँडापाखा हराभरामा
तन्नारूपी धर्ती हिमाल भएर उभिँदो रहेछ
सुनौलो घामको पारिलो किरणले
सत्यवादीहरू जन्माउँदो रहेछ
असल सन्तति दिने आमा समेत
यही धर्तिमा पाइँदो रहेछ।
आज समय बदलिँदा
निलो आकाश तुँवालोले छोपिएको छ
शीतलताका ती चौतारी
आज खण्डहर भएको छ
हिजोका शान्त र सफा वातावरण
आकाशको गड्याङ गुडुङजस्तै
कोलाहाल नै कोलाहाल थपिएको छ।
हराभरा देखिने सांस्कृतिक पर्व
एकादेशको कथा भएको छ
शान्तिका पूजारी जन्माउने धरती
धुन्धुकारी जन्माउने कारखाना भएको छ
विस्तारवाद र सम्राज्यवादको
जति खोइरो खने पनि
ती त हात्तीको देखाउने दाह्रा पो भएको छ
राजनीतिक छलाङमा
यसले राम्रै गुणस्तरीयता पाएको छ।
असत्यले पनि सत्यलाई धकेल्दो रहेछ
त्यसैले पो
निर्मला पन्तहरूको देह जलिरहँदो रहेछ
हिमाललाई पनि ताप बढेपछि
बैँस उजाडिएको आभाष हुँदो रहेछ
वसन्त मुर्झुाएपछि
पालुवा त्यसै ओइलाउँदो रहेछ
नैतिकताको अनावृष्टिमा
धरती त्यसै उजाड हुँदो रहेछ।
हिजोका ती अँध्यारा दिनमा पनि
औँसीमा समेत जूनको चहक देखिन्थ्यो
आजको जुरमुराएको दिनमा
सूर्यमा न त सधैँ झैँ चहकिलो बिम्ब देखिन्छ
न त रातमा पूर्ण चन्द्रमामा प्रकाश नै भेटिन्छ
यहाँ त पूर्णेको चन्द्रमा पनि औँसीजस्तै देखिन्छ
एउटा शिकारी बाजको निशानामा लागेको
निरीह प्राणीले आँखा चिम्ले झैँ
सूर्य र चन्द्रमाले पनि आफ्नो धर्म
चटक्कै बिर्सिदिन्छ
प्रकाश हराएको दीपजस्तै
किन हो अँधेरीमा पनि तारा
पराई नै भइदिन्छ।