म कुनामा घोप्टो परेर बसेको थिएँ। हिजोको कुटाइले शरीर पूरै गलेको थियो। आउने बित्तिकै राम्रो सत्कार गरे। सुरुमै 'तँ मुला दमैले ठुकुरीकी छोरी ताक्ने!' भन्दै हानेको हल्दारको लात्तीले छाती झन्-झन् पोलेको थियो।
तीन भाइ जवानले आफ्नो जवानी ममाथि राम्रै देखाएका थिए। बाहिरबाट 'त्यस बलात्कारीलाई ठोक-ठोक' भन्दै असई आदेश दिइरहन्थ्यो। मेरो गल्ती भनेको ज्ञानेन्द्र बमकी छोरीसँग प्रेम गर्नु थियो। उसलाई भगाएर बिहे गर्नु थियो।
शुष्मा र म एकै उमेरका थियौँ। सँगै पढ्थ्यौँ, घाँस दाउरा मेलापात सँगसँगै जान्थ्यौँ। हामी एक थियौँ। म लड्दा सधैँ ऊ उठाइदिन्थी। मेरा घाउले उसलाई अक्सर दुख्थ्यो। अस्ति निगालोले मेरो हात काटिँदा ऊ बेस्सरी रोएकी थिई। घरको मिठोमसिनो लुकाएर मलाई सुटुक्कै खुवाउँथी।
शुष्मा मलाई साह्रै माया गर्थी। सधैँ ऊ भन्थी, 'हामी बिहे गरौँ, भागौँ।'
सुन्दा म झसङ्ग हुन्थेँ। उसका बाको अनुहार मस्तिष्कमा आउँथ्यो। शुष्माको अनुहार हेर्थें। म हुन्न कसरी भनुँ? यति माया गर्ने प्रेमिकालाई कसरी धोका दिउँ? उसका प्रेमिल आँखामा कसरी आँसु थपौँ? ऊबाट टाढा कसरी हुनु? वास्तवमा म एक धारमा थिए। जसरी हुन्छ उसलाई आफ्नो बनाउने। भलै म हिँड्ने धार धारिलो थियो। शुष्माको प्रेमको खातिर म हाँसीहाँसी रेटिन तयार थिएँ।
अर्कोतिर उसका बा ज्ञानेन्द्र बम मलाई कदापि ज्वाइँ मान्ने थिएनन्। उनको मुखबाट दमाइ, कामी, सार्कीलाई निको वचन कहिल्यै सुनिएन। अक्सर उनको मुखबाट कर्कश आवाज 'झल्ला डुम' सुनिन्थ्यो। उनमा आफू कथित ठूलो जातको हुँ भन्ने घमण्ड र भ्रम थियो।
छोरी शुष्मा भने म भनेपछि हुरुक्कै हुन्थी। उसलाई जातको कहिले मतलब थिएन। सँगै बाँच्ने सँगसँगै मर्ने भन्थी। घरजमका सुनौला सपना सुनाउँथी। एउटा छोरो एउटी छोरी पाउने भन्थी, अझ नाम सुनाउँदै लजाउँथी। त्यो पलबाट म कसरी भाग्न सक्थेँ र! उसको न्यानो अङ्गालोबाट पर कसरी बस्न सक्थे र! बरु म मर्थेँ, उसलाई जरुर आफ्नो बनाउन कसम खाएको थिएँ। यी तमाम डरत्रास बेमेललाई किनारमा राखेर, उसलाई आफ्नो बनाएँ, घर भित्र्याएँ पनि। तर पापीले छोडेनन्।
मेरो अपराध, पाप भनेको शुष्मासँग प्रेम गरेर विवाह गर्नु थियो। उसलाई दमाई खलकको बुहारी बनाउनु थियो। शुष्मालाई थाहा थियो, हामी उसकै घरमा बालीघरे थियौं। तर उसको नजरमा म केवल प्रेमी थिएँ। गाउँमा भगाएर बिहे गर्ने म एक्लो थिइनँ।
अस्ति मात्रै पल्लाघरे बिर्खे भण्डारीले मैले झैं थापापुरबाट थापाकी छोरी भगाएको थियो। मेरै मित देवेन्द्रराज पाण्डेले पनि केटी भगाएकै हो। ऊ र उसकी श्रीमती म र शुष्मा सँगैका हुन्। उनीहरूलाई कसैले केही भनेनन्। दुई/चार दिन लुके हामीजस्तै। सुन्छु हिजोआज बिर्खे ससुराली मज्जाले जान्छ रे। उसका सासू ससुराले छोरीज्वाँइको गोडा पनि धोए रे! जेठानपट्टि पनि मान्छन् रे।
मलाई भने मेरा ससुरालीले जेलको बास दिए। प्रहरीको लात्ती मुक्का उपहार दिए। बालाई रुवाए, आमालाई पीडा थपे। मेरी श्रीमती मबाट खोसे। दुनियाँका अगाडि तमासा देखाए। रमिता बनाइ छाडे।
मनमा यस्तै कुरा खेलाउँदै थिएँ। शुष्मा, उसको बा, मेरा बा, आमा आँखा वरिपरि घुमिरहेका थिए। एक्कासी झ्यालखानाको ढोका खुलेको आवाज आयो। आँखा उघारिन। शरीर बेस्सरी जो दुखेको थियो।
दुई जनालाई 'जा उता बस्, लजमा मस्ति गर्यौ अब यता आराम गर्' भन्दै प्रहरीले धकेल्यो।
उनीहरू मध्ये एक मसँग ठोकिन पुगे, केटी रहिछ। विस्तारै आँखा खोलेँ। केटो भने सम्हालियो। उनीहरूले केही नभन्दै यिनीहरूलाई प्रहरीले के कारणले ल्याएको थियो, मैले अनुमान गरिसकेको थिएँ। केटो र केटीसँगै पल्लो कुनामा बसेका थिए। केही बोलेनन्। उनीहरूको अनुहार हेर्दा केटी अलि पाकी केटो अलि अल्लारे थियो। मलाई केही सोध्न मन थिएन। खालि अनुहार मात्र हेरेँ।
बेलाबेलामा म चौकीको फलामे बारबाट कोही आउँछन् कि, मलाई छुटाउँछन् कि भन्दै आशा साँचेर ढोकातिर चिहाइ रहन्थेँ। हिजो थानामा कोही आएनन्, बामात्र आए। दाइ कतारमा थियो, आमा दमको बिमारी, उनी हिँड्न सक्दिनन्। रोएर झन् सकस भएको होला। शुष्मा पनि आइनन्। रुँदै जसरी पनि म आउँछु, तिमीलाई न्याय दिलाउँछु भनेकी थिइन। उनी पनि आइनन्। सायद घरकाले थुनेर राखेका होलान्।
बा क-कस्का घरमा पुगेनन् होला! पक्कै सबैलाई हारगुहार गरे होलान्। सायद मार्क्सवादी काका आउँदैछन् होला। कम्युनिष्ट दाइले किन थाहा नपाएका होलान्! आज त यी पक्कै आउनुपर्ने हो। सबैका दुःख समस्यामा जसरी पुगेका हुन्थे, बोलिदिन्थे। मेरोमा पनि पक्कै आउँछन्, मलाई छुटाउँछन्, आशा थियो।
अचानक 'सर, मेरो छोरो यस आइमाईले बिगारी। यसको भविष्य बर्बाद बनाई। यो के आइलाग्यो प्रभु' भन्दै एक वृद्ध पुर्पुरोमा हान्दै, रुँदै प्रहरी छेउ आए।
'को हो तपाईं/ किन रोएको? नाम के हो?' प्रहरीले सोध्यो।
'देविकान्त हो सर, अघि मलाई थानाबाट कल आएको थियो' भने।
'ए ए, तपाईं भित्र रोशन र मनमायाको आफन्त हो?' भनी जवानले सोध्यो।
'हो हजुर, रोशन मेरो छोरो हो।'
भित्र थानाको बन्द कोठामा रोशन र उसकी प्रेमिका मनमाया बसेका थिए। रोशन बा देखेर आत्तिएको थियो। मनमाया भने निराश थिइन्। प्रहरीले मनमाया र रोशनलाई लजबाट आपत्तिजनक अवस्थामा समातेको थियो। केरकारपछि उनीहरूका आफन्तलाई बोलाएर, सोधपुछ सुरु गरेको थियो।
पछाडि एक महिला मनमया बारे सुनाउँदै थिइन्, 'यसले के गरेकी? हुँदाखाँदाको घरबार बिगारी। यसको बुद्धि, ३९ वर्षकी, तीन बालबच्चाकी आमाको यो हर्कत! घर व्यवहार राम्रै देखिन्थ्यो। श्रीमान्, कलम कादरी भने म्यानपावरमा एजेन्टको काम गर्थें। कलम र मनमायाको जोडी राम्रै थियो। झैझगडा कहिल्यै सुनिएको थिएन।'
त्यस दिन चौकीले सबै उल्टो बनाइदियो। यता रोशन घरको कान्छो छोरो रहेछ। भर्खरै सत्र काटेर अठार वर्षमा पाइला टेकेको। घरमा सबैले माया गर्थे। चिन्नेहरू रोशनको बुबालाई छोरोलाई यति धेरै नपुल्पुल्याउनु बिग्रेला भन्थे। तर देविकान्त कसैको कुरा नसुनी रोशनलाई असाध्यै माया गर्थे।
पछाडिको गाइँगुइँले यत्ति जानकारी दियो मलाई।
त्यस दिनको घटनाले घरपरिवारका सबै छक्क परेका थिए। सबैले यो के गरेको यो केटाले भन्थे! देविकान्त मुर्छा मरेका थिए। एकछिनपछि हँस्याङफस्याङ गर्दै अर्को कुनाबाट अर्को व्यक्ति प्रहरी चौकीभित्र छिर्यो।
'किन बोलाउनु भयो सर?' भनी इन्स्पेक्टरलाई सोधे।
'तपाईं मनमायाको…' प्रश्न नटुङ्गिँदै 'मेरी श्रीमती हुन् हजुर,' जवाफ दिए।
'ए ए, बस्नुस्! केटा भित्रबाट बोला त' भनेर जवानलाई आदेश दिए इनस्पेक्टरले।
'हस्, सर' भनेर भित्रबाट मनमायालाई जवानले ल्यायो।
'उहाँलाई चिन्नुहुन्छ?' भनी मनमायाले प्रहरीले सोध्यो।
'मेरो श्रीमान हुन्,' भनिन्।
'अनि भित्रको को हो त?'
एकछिन चौकी मौन रह्यो। मनमायाले शिर झुकाई। कलम छक्क पर्यो। 'के हो सर? मैले केही बुझिनँ नि' भनी इन्स्पेक्टरलाई प्रश्न गर्यो।
'म्याडम, के हो सत्य कुरा? आफ्नो श्रीमानलाई बताउनुस्' भनी प्रतिप्रश्न गरे।
उसले केही बोलिन। टाउको उधो थियो। कलम मनमायातिर हेर्न थाल्यो।
इन्स्पेक्टरले 'तपाईंकी श्रीमती र भित्रको केटो आपत्तिजनक अवस्थामा होटलबाट हामीले रङ्गे हात पक्राउ गरेका थियौं' भने।
'उहाँहरू गलफ्रेन्ड ब्याइफ्रेड हुनुहँदो रहेछ। कथा यहीँ हो सर,' कलमलाई प्रहरीले बतायो।
कलम रन्थनिएर थचक्क भुँइमा बस्यो। रुन थाल्यो। यो के गरेकी? तँलाई मैले के कमी गरेको थिएँ र नाठो खेलाउँदै बसिस्!' भन्दै झम्टिन खोज्यो। प्रहरीले रोके।
प्रहरीले रोशनको बुबा र मनमायाको श्रीमानलाई सँगै बोलाए। 'अब के गर्नुहुन्छ भन्नुस्?' प्रश्न गरे।
दुवै चुपचाप थिए। एकछिनपछि कलम बोल्यो, 'सर म उसलाई छोड्छु। ऊसँग म बस्न सक्दिनँ।'
कलमले अरु थप्न नपाउँदै प्रहरीले भन्यो, 'अनि ती बालबच्चालाई कसले रेखदेख गर्छ? आवेगमा नआनुस्, बाबुनानीको भविष्य छ। गल्ती सबैबाट हुन्छ, एकपटक सबै बिर्सेर माफ गर्नुस्।'
कलम केही बोलेन। 'अनि सर, तपाईं के गर्नुहुन्छ नि?' भनी रोशनको बुबालाई सोधे।
देविकान्त केही बोलेनन्। 'ल तपाईंहरू बाहिर जानुस्, हामी पछि बोलाउँछौँ,' इन्स्पेक्टरले भन्यो।
इन्स्पेक्टरले 'केटा, यी दुईलाई बाहिर ल्या त।'
'हस् साब!' भन्यो जवानले।
'अब के गर्छौँ तिमीहरू?,' इन्स्पेक्टरले सोध्यो, 'आ-आफ्ना घर जान्छौं कि सँगै बस्छौ?'
दुवै केही बोलेनन्।
'ल यहाँ सही गर।'
दुवैले हस्ताक्षर गरे।
'आज उप्रान्त सँगै भेट्यौं भने १० वर्ष जेल चलान हुन्छौ' भनी इन्स्पेक्टरले हप्कायो।
'जा केटा, उनीहरूका आफन्त बोला त।'
कलम गैसकेका थियो, देविकान्त आए।
'ल छोरो लिएर जानुस्, सम्झाएका छौँ। ल म्याडम तपाईं पनि जानुस्,' इन्स्पेक्टर प्रहरीले भन्यो।
त्यो कालकोठरीमा म एक्लै थिएँ। अघिसम्म हामी तीन थियौं। हामी तीनकै मुख्य कारण माया थियो। उनीहरूका मान्छे भए, सायद शक्ति थियो र सजिलै गए। म कति दिन यहीँ बस्नुपर्ने हो? कति लात्ती मुक्का खानुपर्ने हो? सोच्दै भक्कानिन्थेँ, रुन्थेँ। मेरो आँसुले यी कठोरलाई के दुख्ला! एकछिनपछि आफै सम्हालिन्थेँ। शुष्मा झलझली आँखा वरिपरि आउँथिन्।
बेलुकीपख बा भेट्न आए। अनुहार एकदम निराश थियो। थकित देखिनुहुन्थ्यो। मलाई देख्नेबित्तिकै रोए।
'छोरा, हाम्रा मान्छे कोही रहेनछन्। सबै शत्रु रहेछन्। कोही बोल्न आएनन्। जमानी बस्न कोही आए मात्र हुन्थ्यो। सबैलाई थाहा थियो। शुष्मा र तँ प्रेमी थियौं। विवाह भयो। सबैले देखेका थिए, आज एक शब्द बोल्न कोही आएनन्।'
बालाई झिनो आशामा सोधेँ, 'ती कम्युनिष्ट दाइ र मार्क्सवादी काका आएनन्?'
'आएनन् बाबु, दुईपटक भेटेँ, बिन्ती बिलौना धेरै गरेँ। यस्ता जातवादी मुद्दामा बोल्दा समाज भाडिन्छ भनी पन्छिए। म हारेँ छोरो' भन्दै बेस्सरी रोए बा।
मैले बालाई रुवाएँ। हँसाउने उमेरमा रुवाएँ। थुक्क! मेरो जिन्दगी।
बा फेरि बोले, 'ज्ञानेन्द्र बम सारा दलितलाई थर्काउँदै छ रे। आज उप्रान्त कसैले माथिल्ला जातकी छोरी चेली ताक्यौ भने तेरो उदाहरण दिन्छ रे। सबैलाई मार्छु भन्छ रे! एकएकलाई खाल्डामा पुर्छु भन्दै हिँडेको छ रे।'
बाको कुरा नसकिँदै 'दाइ, भेटघाटको समय सकियो, जानुस् बाहिर' भनिन् प्रहरी जवानले।
अस्ति लात्ती हान्ने हवल्दार हाँस्दै आयो। 'ल केटा बधाई छ, अब १० वर्ष ससुरालीमा बस्ने भइस्। अब सरकारको भात खाने, बस्ने। के गर्छस्? आफ्नो जातभन्दा माथि जान खोजिस्। खा मज्जाले खा' भन्दै गयो।
हवल्दारका कुराले म झसङ्ग भएँ। मैले त्यस्तो के अपराध गरेँ र? शुष्मा र मेरो कुराबाट प्रहरी प्रशासनले थाहा पाउनुपर्ने हो हामी कसैको करकापमा नभइ मन, उमेर, सबै मिलेर घरजम गरेका थियौं। बुझेर पनि नबुझेझैं किन गर्छ कानुन? किन बमको कुरा सुन्छ, मेरो सुन्दैन? आखिर न्यायको नजरमा हामी बराबर रहेनछौँ। न्यायको पनि जात रहेछ। उसले जात हेर्दो रहेछ।
त्यस रात ज्ञानेन्द्र बम चौकीमा देखिएको थियो। रक्सीले मात्तिएको थियो। चौकीमा होहल्ला धेरै थियो। सबै प्रहरी लठ्ठै देखिन्थे। मलाई कुट्ने हवल्दार, 'ज्वाइँ के छ खबर? भुजा खाइसियो' भन्दै सोध्न आयो।
म केही बोलिनँ। एकछिन सबै चुपचाप बसे। बाहिर कोही थिएनन्। मलाई हेर्ने जवान पनि घ्वाँर-घ्वाँर गर्दै कुर्सीमा सुतेको थियो। सायदै रक्सीले सुताएको थियो। मैले विस्तारै उसको गोजीबाट जेलको साँचो निकालेँ। दायाँबायाँ हेरेँ, कोही थिएनन्। ताल्चा खोलेँ, सुटुक्क चौकीबाट भागेँ।
बाहिर पुरै अन्धकार थियो। सायद औंसीको रात थियो। जताततै अन्धकार, जसोतसो बाटो पहिल्याउँदै म मेरो गाउँ प्रेमपुर पुगेँ। डाँडामा एकछिन बसेँ, लामो सास लिएँ, गाउँलाई हेरेँ, मेरो जातलाई हेरेँ। बाको आँसु झम्झिएँ, चौकीको चित्कार सम्झिएँ, शुष्माको आँसु सम्झिएँ। गाउँलेको स्वार्थ सम्झँदै डाको छाडेँ। फेरि सम्हालिएँ, माया जाल रहेछ, माया जालझेल रहेछ।
त्यस ताका गाउँभर धान काटेर पराल घरघरमा थुपारिएको थियो। सबैका घरघरमा परालको खात थियो। अचानक झल्ला डुम, हवलदारको लात र शुष्मालाई मबाट खोसिएको पलले बेस्सरी मस्तिष्क खल्बलायो। एकछिन केही देखिनँ। गाउँ पसेँ, एक-एक घरमा आगो लगाइदिएँ। परालका खातसम्म आगो सल्काइदिएँ। फेरि डाँडामा गएँ, हेरेँ। विस्तारै सबै घर जले, घरसँगै जात जल्यो, मन जल्यो। अलिक मन शान्त भयो।